“७५० सिसिको बाइक चढ्ने रहरले तानेको थियो प्रहरी सेवामा”

0

सडक दुर्घटना, घरेलु हिंसा, लागुपदार्थ दुव्र्यसन गैँडकोटका समस्या – प्रमुख प्रहरी निरीक्षक दिवस जिसी

गैँडाकोट ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक दिवस जिसीले सुरक्षासेवामा प्रवेश गरेको १६ वर्ष पुगिसकेको छ । पाल्पा जिल्लामा जन्मिएर काठमाडाँैको आरआर क्याम्पसमा शिक्षादीक्षा लिनुभएका जिसीले १६ वर्षअघि भरतपुर तालिम केन्द्रबाट तालिम सकेर पहिलो २०५८ साल असार १ गतेबाट प्रहरी सेवाको कार्य सुरु गर्नुभयो । प्रहरी सहायक निरीक्षकमा नाम निकालेर यस क्षेत्रमा आउनुभएका जिसीको पहिलोपटक रुकुममा पोस्टिङ भएको थियो । रुकुमपछि डोल्पा, काठमाडौँ, त्यसपछि प्रतिस्पर्धाबाटै नाम निकालेर युएनको सेवामा बाहिर जानुभयो । फर्किएपछि काठमाडौँ नै आउनुभयो । वि.सं. २०७० सालमा खुल्ला प्रतिस्पर्धामा प्रहरी निरीक्षकमा नाम निकाल्नुभयो । यसपछि १५ महिनाको तालिमपछि उहाँ नेपालगन्जमा खटिनुभयो । यसपछि सरुवा हुनुभयो र हेडक्वार्टरमा पुग्नुभयो । यसपछि मात्रै रोजेर गैँडाकोट क्षेत्रको प्रहरी निरीक्षकका रुपमा जिसी आइपुग्नुभएको छ । उहाँ आएको पनि केही साढे २ महिना भइसकेको छ । धेरै ठाउँमा काम गरिसक्नुभएका जिसीलाई गैँडाकोट साह्रै राम्रो लाग्यो । उहाँलाई ईलाका प्रहरी कार्यालय गैँडाकोट छिर्दा, सोधपुछ नगर्ने चलन देखेर अचम्म लाग्यो । यहाँका मानिसहरूले जनतालाई रोक्नु आवश्यक छैन, यहाँ मानिसहरूको सौहार्द व्यवहारका कारण यस्तो नियम बनाइएकाले यसले प्रहरी र जनताबीच राम्रो सम्बन्धसमेत रहेको जिसीको भनाइ छ । आरआर क्याम्पसमा पढ्दै गर्दा जिसीलाई प्रहरीले ७५० सिसिको सुजुकी बाइक चढेको देख्दा चलाउने रहर जागेर प्रहरी सेवामा जाने इच्छासमेत पलाएको थियो । प्रहरी सेवामा लागेर कहिल्येै पछुतो नलागेको बताउने जिसीलाई यस क्षेत्रको जीवनबाट सन्तुष्ट लागेको छ । करिब साढे २ महिनायता ईलाका प्रहरी कार्यालय गैँडाकोटको प्रमुख प्रहरी निरीक्षक रहेर काम गर्नुभएका जिसीसँग गँैडाकोट कस्तो लाग्यो भनेर कुराकानी गरेका छौँ । प्रस्तुत छ जिसीसँग गरिएको कुराकानी ।

यहाँलाई गैँडाकोट कस्तो लाग्यो ?

पहिलो कुरा त मलाई के लाग्यो भने, यो नारायणगढबाट नजिक भएका कारण पनि धेरैले यसलाई चितवन नै भनेर चिन्दा रहेछन्, यसको पहिचान बढाउनुपर्ने देखेँ । यसका लागि कामहरू पनि भइरहेका छन् । गैँडाकोटको वातावरणका विषयमा कुरा गर्ने हो भने यो निकै राम्रो पनि लाग्यो, शान्त वातावरण निकै मनमोहक छ, यहाँ बसाइ सरेर आउनेहरू धेरै रहेछन् । यहाँका मानिस शिक्षित र सभ्य लाग्यो । गैँडाकोटवासी सहयोगी पनि लाग्यो ।

गैँडाकोट रोजेरै आउनुभएको हो ?
रोजेरै आएको हो, मागेरै आएको हो गैँडाकोट ।

सुरक्षा व्यवस्था कसरी मिलाइरहनुभएको छ अहिले ?

नारायणी पुलदेखि बेल्डीहासम्मको क्षेत्र पर्दछ । माथि चाँहि रतनपुर १८, बसेनी, कोटथरसम्म पनि ईलाका प्रहरी कार्यालय गैँडाकोटले हेर्दै आएको छ । बेल्डिहामा अस्थायी प्रहरी पोस्ट भर्खरै मात्र स्थापना गरिसकेका छौँ । रतनपुरमा थप एक प्रहरी चौकीका लागि स्थानीयले माग पनि गरिरहेको अवस्था छ । हामीले पनि सम्बन्धित निकायमा लिखित माग पनि गरिसकेका छौँ । सम्भवतः प्रदेशसभाको गठन भइसकेपछि प्रदेश प्रहरीले दरबन्दीका लागि पहल पनि गर्ला ।

गैँडाकोटका दुर्गम क्षेत्रमा कम जानुहुन्छ भन्ने गुनासो छ नि ?

होइन होइन, जानी गरेको छु । हामी बेलाबेलामा जाने गरेका छौँ । म आफै पनि जाने गरेको छु । गाडी नजाने भएकाले बेलाबेलामा मोटरसाइकलमा भएपनि पुग्ने गरेका छौँ ।

ईलाका प्रहरी कार्यालय गैँडाकोटमा कस्ता कस्ता घटनाहरू आउने गरेका छन् ?

अहिले पछिल्लो समयमा सवारी दुर्घटनाका केसहरू बढी मात्रामा आउने गरेका छन् । यसपछि लागूऔषधका घटना बढी छन् । सेवनकर्ताहरू बढी रहेको पाएको छु । यसैगरी घरेलु हिंसाका घटना बढी छन् यस क्षेत्रमा । यो सँगसँगै वैदेशिक रोजगारीमा जाने परिवारमा सम्बन्धमा विचलन आएका घटना दर्ताको संख्या बढिरहेको छ । श्रीमान् विदेशमा छ, श्रीमतीले यहाँ पैसा हिनामिना गरेको अर्कैसँग सम्बन्ध बढाएको घटनाले नकारात्मक असरका घटनाहरू आइरहेका छन् ।

यी सबै समस्या समाधानका लागि केकस्ता न्यूनीकरणका काम गरिरहनुभएको छ ?

भइरहेको छ, यस विषयमा जनचेतनका कार्यक्रमहरू गरिरहेका छाँै । सडक दुर्घटना न्यूनीकरणका लागि सडक सचेतना कार्यक्रम पनि गर्ने गरेका छौँ । केही दिनअघि जिल्ला प्रहरी कार्यालय नवलपरासी कावासोतीमा पनि केही जनचेतना कार्यक्रम ग¥याँै । हर्कपुरमा ट्याक्टर व्यवसायीसँग सडक दुर्घटना कसरी न्यूनीकरण गर्ने भन्ने सवालमा छलफल पनि ग¥यौँ । यसैगरी विषयगत संघसंस्थाहरूसँग छलफल भइरहेको छ । कसरी सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा कसरी अघि बढ्ने भनी छलफल भइरहेको छ । यसैगरी घरेलु हिंसा न्यूनीकरणका लागि बेलाबेलामा जनचेतनामूलक काम गरिरहेका छौँ । यसैगरी विद्यालयका विद्यार्थीबाटै जनचेतना सुरु गर्नुपर्दछ भनेर विद्यालयमा पनि छलफल गर्ने सोचमा पनि छौँ । केही काम पनि भइरहेको छ ।

सडक दुर्घटना किन बढिरहेको होला ?

सडक दुर्घटना बढ्नुका धेरै कारणहरू छन् । तर यहाँ सडक दुर्घटनाका कारणमध्ये सडक साँघुरो हुनु पनि एक हो । बाटो साँघुरो हुनु र प्रयोगकर्ता बढी हुनु प्रमुख कारण हो जस्तो लाग्छ । दुर्घटना न्यूनीकरण गर्ने हो निर्मूलीकरण गर्न त सकिँदैन होला । न्यूनीकरण गर्ने काम सबै स्टेकहोल्डरहरूको पनि हो तर प्रहरीले मात्रै गर्दियोस् भन्ने मानिसकताको परिवर्तनको खाँचो छ । कानुनले हामीलाई मात्र अधिकार दिएको पनि होइन । यसका लागि सबै पक्षहरू एक भएर समन्वय गरेर अघि बढ्नुपर्ने हुन्छ । घरेलु हिंसाको सन्दर्भमा सम्झाउने, बुझाउने र सकेसम्म मिलाउने काम गर्ने हो नभए मुद्दा चलाउने हो । लागू पदार्थका सवालमा पनि प्रयोगकर्तालाई सम्झाई बुझाई गर्ने परिवारमा बुझाउने कहिलेकाँही पुनःस्थापना केन्द्रमा पठाउने काम पनि हुन्छ ।

समय दिनुभयो यसका लागि यहाँहरूलाई धेरै धेरै धन्यवाद,

धन्यवाद, जीवनको १६ वर्षको इतिहासमा पहिलोपटक यसरी मिडियाभित्र आएर अन्तर्वार्ता दिँदैछु, फरक खालको अनुभव संगाल्न पाएँ, यसका लागि पनि धेरै धेरै धन्यवाद छ । अप्रत्यक्ष अन्तर्वार्तामा दुर्घटना अपराधका सवालमा धेरै कुरा हुने गर्दथे, आज जीवनका किस्साहरूमा अन्तरंग कुराकानी गर्ने अवसर पनि दिनुभयो । यसका लागि पनि धेरै धेरै धन्यवाद छ ।

Share.

Leave A Reply