होलीमा DISCO Or DJ> NO ! फागुमा मौलिक नृत्य ‘कौरा’ (भिडियो सहित )

0

डोलराज रानाभाट ।

हा… वावाले होइन, आमाले होइन
 करिमैेले जोगी वनायो हा…..

यसरी कौरा भाकामा जव बुलिङ्गटार गाउँपालिका वडा नम्वर ४ अर्खलाका दिदीवहिनी समूह वाटोमा आए,  अनि सुरु भयो फागु अर्थात होली ।


ना ५४…. नम्वरको होण्डा वाइक वाटो केहि भिरालो, चौडा पार्न डोजरले खनेर थुपारेको माटो र ढुङ्गामा टुसुक्क वस्नु भएका दिदीवहिनीहरुलाई भीरको पीर थिएन । घामको पनि प्रवाह थिएन । थियो त चिन्ता केवल कौरा नृत्यबाट वटुवाहरुलाई कसरी खुशी पार्ने र होलीको रङ्ग लगाउने अनि त्यहि खुशीले वाटोमा हिँड्ने पाहुनाहरुले कति सहयोग गर्नुहुन्छ ? वस उहाँहरुको चिन्ता यो थियो ।

यति मात्र होइन । जान्न र वुझ्न खोज्नेहरुलाई उनीहरुले आफ्नो गाउँ अनि उनीहरुले गरेका सामाजिक कार्यहरुवारे पनि बताउँदथे । तर कतिपय वटुवाहरुले वाइक रोक्न नमान्ने र रोकेपछि पनि अलिक छुच्चो वनीदिँदा उनीहरुको मन दुखेको सोझै अनुभव गर्न सकिन्थ्यो । शहरको डिजे,डिस्कोमा रमाएर युवायुवतीहरुले खेलेका होलीलाई नजिकबाट नियालेर गाउँको यात्राका क्रममा भेटिएको यो मौका मलाई पनि गुमाउन मन लागेन ।

बाइक नजिक नजिक पुग्दा दिदीवहिनीहरुपनि नाच्दै र हातमा भएका खैँजडी चर्को चर्को बजाउँदै बाटोमै आउनुभयो । मज्जासँग छमछमी तीनजना नाच्दै हामीलाई रङ्ग लगाईदिनुभयो । बाइक त्यहि रोकियो र हेर्न थालियो । शहरको होली र गाउँको फागु बिचको फरकलाई प्रत्यक्ष अनुभव गर्न पाउनु ठूलो उपलब्धी मान्दै मैले केहि वुझ्ने प्रयास गरेँ ।

म सँग रहेका साथी विपिन रानाभाट स्थानीय भएकाले सो ठाउँको राम्रो जानकार उनलेपनि एकछिन बसेरै नृत्य हेर्ने  र वुझ्ने इच्छा देखाएपछि हामीले सोध्यौँ । यसरी वाटो छेक्नु त कानुन विपरित हो नी ? दिदीवहिनीहरु हाँस्दै भन्नुभयो, आफ्नो भाइहरुलाई रोक्न पनि कानुन १ हामी झस्कीयौँ। ‘भाइहरु’ कतिमीठा अनि आदर्श शब्द ‘भाइ’ले संवोधन गरेपछि मैले आफ्नो परिचय दिँदै भने  विजए एफम गैडाकोटमा काम गर्छु ।     उनीहरु खानेखुशी गर्न थाले । तर एकैछिनमा वातावरण हामीलेनै सहज वनायौँ र भन्यौँ, फेरि एक चरण नृत्य हेर्न मन लाग्यो ।

दलदलदेखि बुलिङ्गटार सम्मको यात्रामा जवरजस्त डोरी तेर्साएर रङ्ग दल्ने र पैसा असुल्ने झण्डै १५ वटा समूह पार गरेर हामी यति मनोमहक नृत्यबाट पाहुनालाई स्वागत गर्दै रङ्ग लगाउने दिदीवहिनीको समूह फेला पारेका थियौँ ।
हाम्रो आग्रहलाई स्वीकार्दै उहाँहरुको नृत्य सुरु भयो । नृत्य यहि गितमा अघि बढ्यो ।

हा…
बाबाले होइन
आमाले होइन………….

म भिडियो वनाउने सोचमा थिएँ । खैँजडीको आवाजले मन थाम्न सकिन र साथी विपिनलाई भिडियोको जिम्मा दिएर म पनि वजाउन थालैँ । हातमा खैँजडी र गीतको तालमा हँदा सम्झिएँ तिनै शहरका युवायुवती जो शैक्षिक हिसावले यहाँका दिदीवहिनीहरु भन्दा अघि छन् । धेरै कुरा इमेल, इन्टरनेट, सामाजिक संजालबाट अझै पोख्त छन् । सिकेका छन् । नेपालको मौलिक संस्कृति, परम्परा थाहा छ तर पनि उनीहरुलाई डीजे र डिस्कोमा ननाचेसम्म होली खेलेको जस्तै हुँदैन । मैले सम्झिएँ तिनै युवायुवती अनि गाउँमा घास दाउरा मेलापात गर्दै यसरी आउने चाडपर्वमा आफ्नै मौलिक नृत्य मार्फत होली खेल्ने दिदीवहिनी । तुला गरेँ र मनमनै भनेँ वाहा १ गाउँका दिदीवहिनीहरु सलाम छ हजुरहरुलाई । यहि भन्दै गर्दा नाच्दै गर्नुभएको दिदी आउनुभयो र हात तान्दै नाच्न आग्रह गर्नुभयो ।
आजभन्दा झण्डै १२ वर्ष पहिले म स्कुलको शिक्षामा हुँदा तनहुँको काहूशिवपुरतिर नाचिने कौरा हेरेको र केहि ठाउँमा नाचेको याद यहि एउटा सानो घटनाले सम्झाइदियो अनि त्यसैको तालमा नाच्न थालियो । क्या मज्जा १ यो पो हो त होली । यो पो हो संस्कृति । यो पो हो आत्मीयता अनि यो पो हो भाइचार अनि पो वल्ला फागु पर्व ।

नाच्दै गर्दा अर्को मोटरसाइकल पनि आइपुग्यो । केहि दिदीवहिनी त्यता लाग्नुभयो । हामी पनि कति सहयोग गर्ने भन्ने तर्फ लाग्यौँ र सहयोग गर्नुपूर्व केही सोध्न मन लाग्यो र सोधेँ ।

अर्खला दिदीवहिनी समूह बुलिङ्गटार ४ का सक्रिय महिलाहरु सामाजिक कार्यमा पनि सक्रिय रहेछन् । अध्यक्ष इनीमाया सारुले कोषको स्थापना गरेको र त्यसैमा केहि थप हुनेहुँदा यसरी फागु खेलेको भन्नुभयो ।  अझै महत्वपूर्ण पाटो चाहिँ हाम्रो मौलिक कौरा नृत्यको प्रवद्र्धन र संरक्षणको लागि होली खेलेको उहाँको भनाइ थियो । फागुको दुई दिननै आफूहरुले यसरी कौरा नृत्य मार्फ झण्डै ९ हजार रुपैया जति संकलन गरेको जानकारी दिनुभयो । हामी दोस्रो दिनमा त्यस ठाउँ पुगेका थियौँ । समूहको कोषमा हालसम्म २१ हजार रकम संकलन भएको र मासिक वैठक वसेर समाजमा आवश्यकता अनुसार ऋण परिचालन गरिदोरहेछ । कोषको रकम बृद्धिका लागि गाउँमा हुने विवाह, व्रतवन्ध, पूजा, वा कुनै लाहुरेको आगमन भए यसैगरी खँैजडी र मादल लिएर नृत्य प्रस्तुत गर्दै रकम बढाएको इनीमायाले वताउनुभयो ।

इनीमाया सारु, रममाया सिँजापति, नौमाया खाम्चा लगायतका दिदीवहिनीहरुको यो सामाजिक अभियान सुनेर फेरी शहरतर्फ मन फर्काएँ र विनम्र आग्रह गर्दै भनेँ, सयौँ रकम रङ्ग किन्न, फेस पेन्टीङ, लोला तथा टिसर्ट अनि होलीमा गरिने पाटीका लागि गरिने खर्च लाई बचाएर त्यो रकम यसरी वास्तविक रुपमै संस्कृति संरक्षणमा लाग्नु भएका ग्रामीण आमा समूहलाई सहयोग गर्नेगरि होली मनाउने प्रयास गरे कति राम्रो हुन्थ्यो । पर्व पनि मनाइने अनि तपाइको सानो सहयोगले कुनै अर्को समाजमा विकास हुने वाह ! फागु ।  वाह ! होली ।
यो पो तरिका हो फागु पर्व मनाउने । त्यसैले यस पटकको फागु त गइहाल्यो । अर्को पटक फागु मनाउने सोचमा परिवर्तन गर्नेकी ! हुन्नर ?
अनि गाउँछु र उहाँहरुलाई भन्छु–

हा………… जोगी नी  होइन
      कसैको दोष छैन
               संस्कृति जोगाउन
                   ढिला भाछैन ।

Share.

Leave A Reply