हर्दिमा विजुली, गाउँमा खुसीयाली

0

गैँडाकोट, ६ अषाढ । गैँडाकोट नगरपालिका वाड नं. ३ को हर्दिमा विजुली पुगेको छ । नगरकै सवैभन्दा विकट क्षेत्र मध्येको हर्दिका ६७ घरपरिवार विजुलीबाट लाभिन्वित हुनेछन् । शुक्रबार १९ घरधुरीमा विजुली बलेको छ । गैँडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारीको अथक प्रयास पछि हर्दिबासीले विजुलीको सेवा उपभोग गर्न पाउने भएका छन् । शुक्रबार नगरप्रमुख छत्रराज पौडेल र वडा अध्यक्ष शिवकान्त तिवारीले संयुक्त रुपमा विजुलीको उद्घाटन गर्नुभएको थियो ।

 


नगरप्रमुख छत्रराज पौडेलले गैँडाकोट नगरपालिकाका सबै क्षेत्रमा विद्युतीकरणको काम सक्ने बताउनुभएको छ । यसका लागि गैँडाकोटको आन्तरिक स्रोतबाट लगानी गर्नुपरेपनि आफू तयार रहेको बताउनुभयो ।


गैँडाकोट नगरपालिका वाड नं. ३ का वडा अध्यक्ष शिवकान्त तिवारीले नेपाल विद्युत प्राधिकरणको ठूलो सहयोग, स्थानीयको जनश्रमदान र नगर, प्रदेश र संघिय सांसदहरुको सयोगमा विद्युतीकरणको कामले सफलता पाएको बताउनुभयो । विजय एफएमको नमुना ग्राम सञ्चार अभियानले बेलाबखत झकझकाएको हुँदा पनि कामले चाँडै पूर्णता पाएको बताउनुभयो ।
हर्दिका सबै घरधुरीमा छिटोभन्दा छिटो विजुलीका लागि मिटर जडान हुने छन् । तनहुँबाट विजुलीको तार ल्याइ विद्युतीकरणलाई सहजता दिइएको छ । हर्दिको विद्युतीकरणको लागि करिब ७० पोल र १० किलोमिटर तारको प्रयोग भएको नेपाल विद्युत प्राधिकरण गैँडाकोट प्रशाखाका प्रमुख सुजन रिजालले बताउनुभयो । रिजालका अनुसार विद्युतीकरणका लागि करिब ३५ लाख जति प्राधिकरणको लगानी रहेको छ ।


विद्युतीकरणको कामले मौलादेवी आधारभूत विद्यालयका ५० भन्दा बढी विद्यार्थी, हर्दिमा कटेज सञ्चालनमा ल्याएका व्यवसायि बढी लाभान्वित हुने विजय एफएम १०१.६ का स्टेशन म्यानेजर श्रीधर उपाध्यायले बताउनुभयो । उपाध्यायले आफूहरुले १० महिना पहिलेबाट विद्युतिकरणको कामका लागि जनप्रतिनिधिलाई बेलाबखत झकझकाउने गरेको बताउनुभयो ।
हर्दिमा पुग्नुभएका गैँडाकोट ५ का वडा अध्यक्ष नवराज कंडेल, समाजसेवी धनप्रसाद सापकोटा, ललितचन्द्र सापकोटाले वडाबासीमा विकासको लहरले खुसी छाएको र अहिले शिवजीले खेल्नुभएको भूमिकामा प्रशंसा व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण वडा कार्यलयका सामाजिक परिचालक ईन्द्रज्योती पोखरेलले गर्नुभएको थियो ।

Share.

Leave A Reply