हर्दिको ब्यथाः न डाक्टर न स्वास्थ्यचौकी

0

नवलपरासीको गैँडाकोट वडा नं ३ को हर्दीका स्थानीय आफ्नै नगरपालिकाको कार्यालय आउन तीनवटा जिल्ला पार गरेर आउनुपर्ने बाध्यतामा छन् । बाटोघाटो, बिजुली बत्ती शिक्षाजस्ता आधारभूत विकासका पूर्वाधारको अभाव झेलिरहेका त्यहाँका स्थानीय गाउँमै एउटा स्वास्थ्यचौकी र कम्तीमा एउटा चिकित्सक नहुँदा झनै सास्ती भोगिरहेका छन् ।

–लक्ष्मी पौडेल

“आफनो दुःख आफैसँग छ नानी के भनेर साध्य हुन्छ र नानी, आफ्नो दुःख कोही आएर गर्दिने होइन । समस्या त छ नि एउटा बिरामी भए नि डोली लाएर बोकेर कहाँ कहाँ पु¥याउनपर्ने हो । या बाटैमा मर्ने हो वा बाँचेर आउँछ थाहै हुन्न ।” गैँडाकोट ३ की देउरीमायाले पीडा सुनाउनुभयो ।
गाउँमा कोही नयाँ मान्छे पुगे भने गाउँको अवस्था देखेर गाउँलेहरुसँग कुराकानी गर्न र अवस्था बुझ्न खोज्छन् । धेरैलाई गाउँको व्यथा सुनाउँदा सुनाउँदा दिक्क पर्नुभएकी देउरीमाया गुरुङका आँखा विजय खबरको टोलीसँग कुरा गर्दा पनि टिलपिल भए । गाउँमा नजिकै कहीँ स्वास्थ्य चौकी छ कि छैन भनेर सोध्दा देउरीमाया गाउँमा महिनामा एकपटक आउने स्वयंसेविकालाई सम्झनुभयो –“खै नानी महिनाको कुन्नि कति गते ५ गते हो कि (आडैमा भएका छिमेकीलाई हेर्दै) कति गते आउँछ, एकछिन बसेर गैहाल्छ त्यै पनि यहाँ आउँदैन उ… परको चनौटे भन्ने गाउँमा राखेको छ सानो चौकी ।” उहाँले दुखेसो पोख्नुभयो–“ उनीहरु बस्दैन, गइहाल्छ, १÷२ घण्टा बसेर दिन्छ, औषधी पनि पुग्दैन, छैन केही छैन नानी ।”
देउरीमायाले भोट हालेर जनप्रतिनिधीलाई जिताउनु पनि भयो । तर गाउँको व्यथा घट्लाभन्दा झन् बढ्दो छ । उहाँलाई आशा नै छैन । चुनाव जितेकाको कुरा गर्दा निराश हुँदै उहाँले भन्नुभयो– “लौ न यस्तो गरम् न उस्तो भयो, भोट माग्दा मात्रै हो गर्छु भन्ने, म यस्तो गर्दिन्छु, उस्तो गर्दिन्छु भन्यो एकदिन आउँछ जान्छ, यहीँ बस्नेलाई पो थाहा हुन्छ ।”


हर्दीमा ७५ घरधुरी छन् । नजिकैको केलादीमा पनि २६ घरधुरी छन् । ती स्थानीयलाई स्वास्थ्य सेवा दिनका लागि स्थानीयले सामाजिक संस्थाको सहयोगमा निर्माण गरेको स्वास्थ्य चौकीमा महिनामा एक दिन मात्रै स्वयंसेविका पुग्छन् । स्वास्थ्य चौकीका लागि एककोठे भवन चनौटेमा निर्माण गरिएको छ । गाउँबाट हिँडेर १५÷२० मिनेटको दूरीमा छ । महिनामा ५ गते स्वास्थ्य स्वयंसेविका आउँछन् । त्यही एकदिन अलिअलि बिरामी भएका जँचाउन जान्छन् । तर पर्याप्त औषधी छैन । अरु दिन बिरामी भए भगवान् भरोसा । गाउँमा सानोतिनो बिरामी परे कसैको उपचार हुँदैन । जब अन्तिम अवस्थामा मान्छे पुग्छ तब देवघाट हुँदै भरतपुर लैजानुपर्ने बाध्यता छ त्यो पनि बोकेर । स्थानीय यतामाया गुरुङ भन्नुहुन्छ– “अन्तिम भयो भने बोकेर लैजाने हो यहाँबाट देवघाट, त्यहाँबाट भरतपुर नत्र त यहीँ जटिबुटि खान्छ, कति त अस्पतालै नपुगेर मर्छ, सन्चो हुन्छ भन्यो बस्यो, सिद्धिने बेलामा लगेर के हुन्थ्यो, कति मरे मरे त्यस्तो भएर, अस्ति भर्खर पनि यस्तै भयो गाउँमा ।”


गाउँ प्राकृतिक रुपमा जति सुन्दर र सफा छ त्यति नै समस्याबाट गुज्रिरहेको छ । गाउँमा बलियो मान्छे भएन भने, वृद्धवृद्धा र सुत्केरी महिलाले बिस्तारामै थलिएर बस्नुपर्ने जर्जरता छ । नगरपालिका नै भए पनि आधारभूत स्वास्थ्यसेवा जो सरकारले नै निःशुल्क दिन्छ, त्यो समेत यहाँका स्थानीयले पाउँदैनन् । स्थानीय उमा विकका अनुसार गाउँमा अहिलेसम्म निःशुल्क औषधी खोप शिविरजस्ता सेवा सुविधा पुगेकै छैनन् । उहाँ भन्नुहुन्छ– “न स्वास्थ्य चौकी न डाक्टर, उपचार गर्न नदी तरेर दुईवटा जिल्ला पार गरी जानुपर्छ, हिँडेर तन्नाको डोलीमा र डोकामा मान्छे बोकेर ।”
हर्दीका स्थानीयको आशा छ गाउँमा सबैभन्दा पहिला नियमित स्वास्थ्य जाँच हुने खालको स्वाथ्यचौकी निर्माण होस् । उमाले भन्नुभयो– “बाटो छैन, बिजुली छैन, त्यसमाथि बिरामी हुँदा अस्पताल र डाक्टर नदेखी मर्नुपर्छ, तत्काल एउटा डाक्टर औषधीहरु स्वास्थ्य चौकी भए हुन्थ्यो ।”
वर्षौंदेखि गाउँको समस्या भोगेका देखेका र बुझेका ७५ वर्षीय एकनाथ सुवेदीलाई गाउँमा अब विकास होला खि भनेर सोध्दा उहाँ आक्रोशित बन्नुभयो । सुवेदीले भन्नुभयो– “आजसम्म गाविसले के ग¥यो भने, हुन त अहिले नगरपालिका भयो तर यो गाउँका महिला दिदीबहिनीको प्रसव वेदनाको चित्कार एउटा संगीतमय स्वरमा सुन्यो के हेर्नुस्, बिरामीको एउटा क्रन्दन संगीतमय स्वरमा सुनेर नाच्यो, अझै पनि नाचेकै छ हाँसेकै छ । केही छैन यो गाउँमा । बीस वर्ष अघि नि यस्तै थियो । अहिले नि उस्तै छ ।”
धेरै सम्भावना भएर पनि विकासको मुख देख्न नपाएका हर्दीका स्थानीय निर्वाचित जनप्रतिनिधिले तत्काल काम थालिहालून् भन्ने सोचमा छन् ।


बाटो र बिजुली पुगेपछि स्वास्थ्यचौकी पनि पुग्छ ः उपमेयर


यसैबीच उपमेयर विष्णु कंडेल सापकोटाले हर्दीमा बाटो बिजुलीको पनि समस्या रहेकाले स्वास्थ्य चौकीको उचित व्यवस्था गर्न नसकिएको बताउनुभएको छ । विजय खबरसँग कुरा गर्दै कंडेलले एकवर्षभित्र नै बाटो र बिजुलीको सहज उपलब्ध गराएर एकजना चिकित्सक र नगरपालिकाको निःशुल्क स्वास्थ्य सेवासहितको स्वास्थ्य चौकी निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले हर्दीको समस्या बुझ्न आपूm हर्दीमै पुगेको भन्दै त्यहाँका बासिन्दालाई जनप्रतिनिधिलाई सहयोग गर्न र विश्वस्त हुन आग्रह गर्नुभएको छ ।

Share.

Leave A Reply