हरिवंशले किन छोडे ? मदनबहादुरलाई

0

 

कलाकार एवं लेखक हरिवंश आचार्यले पहिलो पुस्तक चिना हराएको मान्छे पछि हरिबहादुर नामक पुस्तक बजारमा ल्याएका छन् । हरिबहादुर महजोडीको चर्चित टेलिभिजन कार्यक्रम (हाँस्यशृंखला) मदनबहादुर हरिबहादुरु को एक पात्र हो । यस पात्रको भूमिकामा हरिवंशले अभिनय गरेका थिए । हरिबहादुरलाई टेलिभिजनमा हेर्नेहरुले अब पढ्न पाएका छन् । २६१ पृष्ठको यो उपन्यास फाइनप्रिन्टले प्रकाशन गरेको हो । हास्यकलाकार हरिवंश आचार्य उपन्यास हरिबहादुर लिएर देशव्यापी किताब यात्रामा निस्किएका छन् । किताब यात्रामार्फत पठनसंस्कृतिलाई व्यावसायिकतासँग जोड्ने प्रयास गरिएको छ । कलाकारिता र साहित्य लेखनलाई एकसाथ अघि बढाइरहेका हरिवंश आचार्यको उपन्यास हरिबहादुरको किताब यात्रा जारी छ । एउटा बस र एउटा ट्रक गरी १६ जनाको ठूलो टिमसहित शुरु गरिएको यात्रा २५ गते सिन्धुली पुगेर समापन हुनेछ । यसैसन्र्दभमा हामीले नारायणगढ आईपुगेको बेला कलाकार एवं लेखक हरिवंश आचार्यलाई भेटी कुराकानी गरेका छौं । प्रस्तुत छ लक्ष्मि पौडेलले गर्नुभएको कुराकानीको सम्पादित अंश ः 

 

हरिवंश आचार्यज्यु स्वागत छ विजय खबर पत्रिकामा ।

धन्यवाद छ तपाईलाई ।

हरिबहादुर खासमा कस्तो किताब हो ?
हरिबहादुरको कितावको कभर चाँही रातो छ । भित्र चाँही अक्षरहरु छ । फोटो छैन । कुरा धेरै छ । हा.. हा…हा…(हाँसो) । खासमा हरिबहादुर भनेको एउटा चरित्र हो । मैलेचाँही एउटा चरित्रलाई लिएर यो किताब लेखेको छु । जसरी हामीले पहिले पहिले हाम्रो हास्यव्यङ्ग्य क्षेत्रका हाम्रा अग्रज गुरु भनौ चार्ली चाप्लीन । उहाँको एउटा गेटअप (रुप) छ । उहाँको त्यो गेटअप यति लोकप्रिय छ की त्यस्ले नै अहिले पनि हामीलाई चिनाईरहेको छ । कुनै कुनै गेटअप यस्तो राम्रो हँदो रहेछ की, चरित्र यति राम्रो हुन्छ की, त्यसलाई निरन्तरता दिन पाए पनि हुन्थ्यो जस्तो हुन्छ । हो त्यस्तै हरिबहादुर भन्ने चरित्र पनि एउटा मदनबहादुर हरिबहादुर भन्ने टेलिचलचित्रबाट निकालिएको चरित्र हो । मैले चिना हराएको मान्छे लेखिसकेपछि अर्को पनि किताब पनि लेख्नुपर्छ भन्ने सुझाव आए । आफन्त, साथीभाई, छिमेकी, पाठकहरुले अर्को पनि किताब पनि लेख्नुपर्छ भन्ने दिएको सुझावका आधारमा नै लेखिएको पुस्तक हो यो । मैले आत्मवृतान्त लेखिसकेको थिए । फेरी त्यस्लाई नै रिपिट गर्नु त भएन । अब के विषयमा लेख्ने त भन्दा धेरै बेर सोँचे । अनि हरिबहादुर भन्ने एउटा चरित्रलाई लिएर उपन्यास लेखे भने त्यस्मा धेरै कुराहरु बाहिर निकाल्न सकिन्छ होला भन्ने लागेर लेखेको हो । हरिबहादुर स्वयम् हाँसोको पात्र छ । र किताब पढ्ने मान्छेहरुलाई सकेसम्म मनोरञ्जन कसरी प्रदान गर्ने र केही मनन कुराहरु कसरी दिने भन्ने नै ध्येय हो । हरिबहादुर चरित्रबाट धेरै नै कुराहरु रमाईलो पाराबाट, हाँसो उठ्दो पाराबाट र रिस उठ्दो पाराबाट पनि दिन सकिन्छ भनेर लेखेको हुँ ।

 

तपाईको टेलीचलचित्रमा त हरिबहादुर भन्ने नामसँगै जोडिन्छ मदनबहादुर तर लेखनीमा आउँदाखेरी मदनबहादुरलाई छोडिदिनुभएको की छोडिएको ?
त्यो त किताब पढेपछि थाहा हुन्छ । मदनबहादुर पनि हुनुहुन्छ ।

 

नाममा किन छुट्यो त ?
यस्तो हुन्छ मैंले पुस्तक लेखे । त्यो लेखीसकेपछि त्यस्मा मदनबहादुर पनि शिर्षक राखेर लेखे भने मैले कसैलाई शोषण गरेको जस्तो पनि हुन्छ भन्ने जस्तो लाग्यो ।

 

भन्नाले ?
यो हरिबहादुर भन्ने चरित्रमा यसको नायक हरिबहादुर हो । र सवै उपन्यासमा सुपात्रलाई नायक बनाएर लेख्ने चलन छ । तर मैले कुपात्रलाई पनि नायक बनाएर लेख्न सकिन्छ भनेर उदाहरण दिन खोजेके हुँ । हरिबहादुर एउटा विकृती अर्कै मनस्थितीको मान्छे हो । र त्यस्तो मनस्थिती भएको मान्छेलाई पनि एउटा नायक बनाएर उपन्यास लेख्न सकिन्छ भन्ने उदाहरण दिएर हरिबहादुर लेखेको हुँ । तर भित्रचाँही मदनबहादुर भन्ने चरित्रको पनि धेरै नै भुमीका छ । तपाईले पढ्नुभयो भने थाहा हुन्छ ।
हरिबहादुर भन्ने पात्रसँग हरिवंश आचार्यको जुन परिचय थियो कलाकार भनेर अब लेखक बनेर दुईवटा चरित्रमा आएको हो ?
एउटा कुरा म के भन्छु भने हामीले मदन दाई र मैंले आजभन्दा ३७ वर्ष अगाडीदेखी सहकार्य गरेका हौं । मदनदाईसँग मेरो सहकार्य हुनुभन्दा अगाडी पनि मैले ४–५ वर्ष पहिलेदेखी एक्लै पनि कार्यक्रमहरु पनि गरेको थिए । जुन दिन मैले रंगमञ्चमा पाईला टेके त्यहि दिनदेखी मैले लेख्न शुरु गरेको हो । किनभने पहिले स्कृप्ट लेखिन्छ । हाम्रो हरेक कार्यक्रमको चाहे त्यो टेलिभिजनको नाटक होस् चाहे रंगमञ्चको हाम्रो हास्यव्यङ्ग्यको कृतीहरु होउन् ति सवैलाई पहिले लेखिन्छ । अभिनय भन्दा पहिले लेख्ने कुरा जेठो हो । त्यसकारणले गर्दाखेरी पहिलेदेखी नै लेखेको हो तर लेख्दा लेख्दै पनि किताब ननिकालेपछि लेखक नभईदो रहेछ । तर किताब निकालेपछि लेखक भनेर पनि जोडियो । तर लेखनकार्य रंगमञ्चमा पाईला टेक्नु भन्दा अगाडीदेखी नै लेख्न थालेको हो ।

किताब निकालेपछि मात्रै लेखकको परिचय बन्यो ?
त्यस्तो हुँदो रहेछ ।

अब किताब लेखन कार्यले कलाकारितालाई असर गर्छ की ?

त्यस्लाई झन सहयोग गर्छ भन्ने लाग्छ मलाई । किनभने मेरो हास्यव्यङ्ग्यको विधालाई रंगमञ्चको विधालाई सबै बिर्सेर किताबमात्र लेख्छु भनेर लागेको होईन । यो किताब भनेको मेरो चिना हराएको मान्छे लेखेपछि ४ वर्षपछि लेखेको किताब हो । यो किताब लेख्नलाई मलाई २ वर्षजति लागेको छ । ति २ वर्ष पनि मैले हास्यव्यङ्ग्य टेलीचलचित्रहरुको लेखनबाट बचेको समयमा लेखेको हुँ । मैले कहिले दिनको २–३ पेज लेख्थे । कहिले एक महिनासम्म लेख्दैनथे । कहिले १५ दिनमा २–३ पेज लेख्थे । त्यसरी नै तयार गरेको हो । र पछि निकट भविस्यमा अर्को कुनै किताब निस्कीहालेछ भने पनि ३–४ वर्ष त लागिहाल्छ । मैले चिना हराएको मान्छे मेरो आत्मवृतान्त लेखेपछि झन मलाई रंगमञ्चलाई सजिलो भएको महशुस गरिरहेको छु । रंगमञ्चमा पनि एउटा किताबको अनुभव त्यहाँ लगेर राख्न पाईन्छ । झन परिपक्व आउँछ की भन्ने मैले आशा गरिरहेको छु ।
मजा चाँही किताब लेख्नुमा रहेछ की नाटक मञ्चन गर्नुमा रहेछ ?
नाटक लेखेर मञ्चन गर्दा तुरुन्तै प्रतिक्रिया पाईन्छ । उदाहरणका लागि प्रज्ञा भवनमा नाटक देखाईयो भने त्यहाँ अटाउने हजार देखी बाह्रसय मान्छेको हाँसो एकैपटक सुन्न पाईन्छ । त्यो तत्कालै प्राप्त हुन्छ तर किताबको प्रतिक्रिया एकदमै सुस्त तरिकाले आउँछ । हामी देश विदेश जाँहा गएपनि १० जना मान्छे भेटे भने तपाईको किताब पढे भनेर भन्ने ८ जनासम्म भेट्न सकिन्छ । त्यसकारणले रंगमञ्च जस्तै किताबको लेखनविधा पनि केही कमी रहेनछ भन्ने लाग्यो । यो अर्को शसक्त माध्यम रहेछ भन्ने लाग्यो र त्यही भएर पनि यसलाई छाड्नुहुन्न भनेर मैले फेरी कलम चलाउन थालेको हुँ ।
हरिबहादुर किताब यात्रा भनेर नै देशका विभिन्न ठाउँमा पुग्दै हुनुहुन्छ लेखकहरुले के किताब निकालेपछि यात्रा नै गर्नुपर्छ ?
यस्तो छ पहिले पनि चिना हराएको मान्छे निकाल्दा पनि यात्रा गरेका थियौ । विभिन्न शहरमा वुद्धिजिवी, नागरिक समाज, साहित्यप्रेमीहरुसँग बसेर छलफल गरेका थियौं । उहाँहरुले पनि किताब यात्रा नै गरौं न भन्ने सल्लाह दिनुभयो । त्यस्ले पठनसंस्कृतीको विकास हुँदोरहेछ । चिना हराएको मान्छे किताब नै नपढ्नेहरुले पनि त्यो पढेको पाए । हामीले एउटा के पनि महशुस ग¥यौ भने पठनसंस्कृतीको विकास भएको पायौं । त्यो कारणले पनि किताब यात्रा शुरु गरेका हौं । पहिले कोठामा बसेर छलफल गरेर गरिन्थ्यो । सानो हलमा सिमित हुन्थ्यो भने अहिले सडकमा बसेर छलफल गर्दैछौं । हामीसँग १६ जनाको टिम छ किताबयात्रामा । ठुला २ वटा गाडी छन् । किताबबाट आएको आम्दानीले मात्र त्यस्को खर्च नधान्ने भएकाले हामीले केही व्यापारिक संघसंस्थासँग पनि अनुरोध ग¥यौं । साहित्यलाई चाँही अनुत्पादक क्षेत्र भन्ने चलन छ । तर त्यहि साहित्यको उजागरका लागि साहित्यमा पनि व्यापारिक क्षेत्रबाट प्रायोजन गरेर यात्रा गरेको सायद यो पहिलो पनि होला । यसले गर्दा अरु लेखकलाई पनि सजिलो होला र एउटा किताबको यात्रा शुरु गर्ने परम्परा बसाल्ने छ भन्ने लागेको छ ।

हरिबहादुर भन्ने पात्रका दर्शक र हरिबहादुर भन्ने किताबका पठकलाई के भन्नुहुन्छ ?
किताब पढ्ने पाठकहरुलाई के भन्छु भने कति छायांकन गर्न सम्भव नभएका कुराहरुपनि किताबमा लेख्न सकिन्छ । जस्तो छायांकन गर्नका लागि त्यो ठाउँमा सिंगै टिम जानुपर्छ । क्यामेरा लानुप¥यो, विजुली बत्ती लानुप¥यो, सुटिङको युनिट नै जादाँ १०० जनासम्म लाग्न सक्छ । तर किताबमा चाँही एउटा कोठामा बसेर लेख्न सकिने भयो । कल्पना गर्न मिल्ने लेख्न सकिने भयो । यो किताबमा अलिकती छायांकन गर्न नसकिने मञ्चन गर्न नसकिने कुराहरुपनि अटाउने रहेछ । एउटा अलिकति सजिलो माध्यम हो जस्तो लाग्यो ।
हवस् कुराकानी र समयका लागि धन्यवाद छ ।
हवस् यहाँलाई पनि धेरै धेरै धन्यवाद छ ।

Share.

Leave A Reply