स्वस्थ पत्रकारिता आजको आवश्यकता

0

पवन सुवेदी गैडाकोट नगरपालिका १, नवलपरासी

 

सुचना, विचार, धारणा,जानकारीहरु साटासाट गर्ने प्रकृयालाई सञ्चार भनि बुझ्न सक्छौं । संचार लिखित,मौखिक,श्रव्यदृश्य,सांकेतिक आदि प्रकारका हुन्छन । प्रेस स्वतन्त्रता भनेको छापामाध्यम वा प्रशारण माध्यममा सार्वजनिक चासोको रुपमा रहेका विषयहरुलाई कसैको अवरोध र बिना इजाजत छाप्न वा प्रशारण गर्न पाउनुपर्छ भन्ने बुझिन्छ । पत्रकारिता पवित्र,खोजी र पीत पत्रकारिता गरी तीन प्रकारका हुन्छन । अशल शासन,स्वस्थ र समुन्नत समाज र राष्ट्रको विकास र समृद्धि निर्माणमा स्वस्थ खोजी र पवित्र पत्रकारितामा केन्द्रित रही आवाज उठाउनु पर्दछ । पत्रकारिता क्षेत्रले सामाजिक,सांस्कृतिक पक्षमा जोड,भ्रष्टाचार विरुद्ध सचेतना, बौद्धिकता जस्ता क्षेत्रमा कलम चलाउन अपरिहार्य छ । अझ विशेषगरि भनसुन,नातावाद,कृपावाद,सोर्सफोर्स,अति राजनीतिकरणका विरुद्धमा जोड दिन आवश्यक छ । यो राष्ट्र सम्पूर्ण नेपालीहरुको साझा सम्पक्ति हो,यसको पहिचान र अस्तित्व बोध गराउन यो क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्दछ ।

इमान्दारी,अनुशासित,मर्यादित र कर्तव्यपूर्वक सत्यतथ्य रुपमा पत्रकारिता गर्नु भनेको पत्रकारहरुको लागि ठूलो आराधना नै हो । सामाजिक,सांस्कृतिक,राजनीतिक विकृति र विसंगतिका विरुद्ध शसक्त आवाज उठाउन पत्रकारले असल र स्वस्थ पत्रकारित ा गर्नुपर्दछ । सकारात्मक परिवर्तनका पक्षमा यो क्षेत्र खरो रुपमा उत्रनु आवश्यक छ । यो क्षेत्रले राजनीतिक रुपमा हरेक क्षेत्रमा जरा गाडेर बसेको व्याप्त भ्रष्टाचार निर्मुल पार्र्न प्र्रशासन र त्यस्ता राजनीतिक क्षेत्रको ढोका घच्घच्याउन आवश्यक छ । पत्रकारिता क्षेत्रले आजको समयमा एकदमै चासोको विषयको रुपमा रहेको मानवअधिकार बारेमा जनतालाई सुसूचित गराउने तर्फ कलम चलाउन आवश्यक छ । मानवअधिकार मानवलाई मर्यादामा बस्नको लागि आवश्यक न्युनतम अधिकारको प्रत्याभूति हो । यसका पक्षमा पत्रकारले ओकालत गर्नुपर्दछ । यस्तो अधिकार आमजनतामा दिलाउनु पत्रकारिता क्षेत्रको प्रमुख कर्तव्य हो । शासन र सत्तालाई असल शासन र जनमुखि बाटोमा डो¥याउने अभिभारा पनि पत्रकारिता क्षेत्रको काँधमा नै आईपर्दछ । राजनीतिक चिरफार गर्नुमात्रै स्वस्थ पत्रकारिता होइन यसमा देशका सबै पक्ष र क्षेत्रलाई समेट्नुपर्दछ । यो क्षेत्रमा संलग्न सबैले यो क्षेत्रलाई देशको सामाजिक,सांस्कृतिक,आर्थिक विकासमा कोसे ढुङ्गा सावित गर्नुपर्दछ । स्वस्थ पत्रकारिताले समाज र राष्ट्र परिवर्तनका सकारात्मक पाटोलाई खोदल्न सक्नुपर्दछ किनकि पत्रकारिता भनेको चेतना,विकास र समृद्धिको पहिलो खुड्किलो हो । प्रेस स्वतन्त्रता नियन्त्रण रहित भने कहिल्यै पनि हुदैन किनकि देशको कानुन,नीतिनियम,संचार नीति र पत्रकारहरुका लागि निर्मित आचार संहिताद्धारा निर्देशित हुन्छ । तोकिएको आफ्नो वैधानिक सीमा र क्षेत्रबाट बिमुख हुन कोही पाउँदैनन् । प्रेस स्वतन्त्रता प्रजातन्त्र वा गणतन्त्रलाई जीवन्तता दिने आधार हो । प्रेस स्वतन्त्रता हुँदैन भने त्यहाँ कुनै पनि व्यवस्थाको परिकल्पना हुन सक्दैन । प्रेसले जनतालाई परिचालन गर्न र राज्यको सरकारलाई सचेत र जागरुक राख्न उल्लेखनिय भूमिका निर्वाह गर्नुपर्दछ । त्यसैले त आज प्रेस क्षेत्रलाई राज्यको चौंथो अङ्गका रुपमा मान्यता दिइएको छ ।

त्यसैले स्वस्थ पत्रकारिता समाजको ऐना हो । व्यक्तिको सामाजिकीकरणको विकासमा सञ्चारले नै सम्भव तुल्याएको हुन्छ । समाज र देश रुपान्तरणमा स्वस्थ पत्रकारिता क्षेत्र शसक्त कडी हो । यसलाई स्वस्थ बनाउन हामी सबैको सोचमा परिवर्तन गरौं । पत्रकारिता क्षेत्रले यो यस्तो त्यस्तो भनेर आरोप प्रत्यारोप गर्नुभन्दा त्यसलाई कसरी सुधार गरी समाज र राष्ट्रको विकासमा सकारात्मक छाप छोड्न सकिन्छ त्यतातर्फ पत्रकारिता गर्नु आवश्यक छ । जनशक्ति र हतियारका बलमा राष्ट्रलाई आफ्नै पेवा ठान्नेका विरुद्धमा आवाज उठाउन र त्यसलाई सकारात्मक बाटोमा डो¥याउन स्वस्थ र निस्वार्थ पूर्वक कलमको धारलाई अघि बढाउन स्वस्थ पत्रकारिता गर्नु आवश्यक छ । राष्ट्रमा एक ढिको नून र अन्न नदेखेका जनता,भोका,नाङ्गा,टुहुरा,दिशा बिहिन भएका,रिक्सा र ठेलागाडी चलाई दैनिक मजदुरी गर्नेका पक्षमा समाज र राष्ट्रलाई सूसुचित गराउन सकारात्मक रुपमा स्वस्थ पत्रकारिता गर्नु आवश्यक छ तर आज राष्ट्रको चौंथो अङ्ग राजनीति र हिंसाको गोलचक्करमा रिँगेको छ । समाज परिवर्तनको संवाहकले आजको समयमा आफ्नो लक्ष्यमा अलि धुर्मुरायको जस्तो देखिन्छ । तर हामी नेपालीले विश्वास लिएका छौं कि यसले फेरि समाज र राष्ट्रलाई सूसुचित गराउन गति लिनेछ । स्वस्थ पत्रकारितालाई लुकाउनु,छारो हाल्नु,छल्नु भन्दा वास्तविक यथार्थ तथ्यलाई सञ्चारमाध्यममा ल्याउनु आजको मानवीय समाजमा बसोबास गर्नेहरुका लागि हितकर नै हुन्छ । समाज र राष्ट्रको सामाजिकीकरण,आधुनिकिकरण र प्रजातान्त्रिकरण वा गणतान्त्रिकरण गर्नमा स्वतन्त्र प्रेसमा स्वस्थ पत्रकारिता हुन आवश्यक छ ।

 

Share.

Leave A Reply