सिण्डिकेट पक्षधर यातायात व्यवसायीको हड्तालले यात्रु मर्कामा

0


काठमाडौँ, २१ बैशाख । सिण्डिकेट पक्षधर यातायात व्यवसायीले सरकारको कदमको विरोध गर्दै हड्ताल गरेका छन् । उनीहरुको आह्वान गरेको बन्दका कारण देशभरको यातायात सेवामा असर परेको छ । सिण्डिकेट तोड्न सरकारले जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएका सबै यातायात समितिलाई कम्पनीमा जानुपर्ने समयसीमा सहितको निर्देशन दिएपछि सिण्डिकेट पक्षधारी व्यवसायीले आन्दोलन घोषणा गरेका थिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाईमा सिण्डिकेटधारी यातायात संघ तथा समितिहरुले गाडी बन्द गरेका हुन् । सरकारले गाडी नचलाउनेको रुट परिमिट तत्काल खारेज गर्ने चेतावनी दिएपनि हड्तालले यात्रुलाई समस्या परेको छ । काठमाण्डुबाट बाहिर जाने गाडीहरु पनि आज गएका छैनन । सरकार सिण्डिकेटविरुद्ध उभिएपछि यातायात व्यवसायी चरणवद्ध आन्दोलनमा छन् । गाडी नचलाएर सेवा नदिने सार्वजनिक सवारीको रुट परमिट नै खारेज गर्ने चेतावनी भने यातायात व्यवस्था विभागले दिएको छ । अत्यावश्यक सेवामा हड्ताल गर्ने सवारीको विवरण संकलन गर्ने गृह प्रशासनले जनाएको छ भने विभागले पनि टोली खटाइने जनाएको छ । सेवा रोक्ने सवारीको विवरण लिएर रुट परमिट खारेज गरिने विभागका महानिर्देशक रुपनारायण भट्टराईले चेतावनी दिएका हुन् । समितिका गाडी नचलेका स्थानमा कम्पनीका बस चलाइने व्यवस्था मिलाइएको जनाइएको छ । सरकारले हालैमात्र अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने गरी राजपत्रमा सूचना समेत निकालेको छ ।  आफ्ना माग सरकारले सुनवाई नगरे आगामी बैशाख २७ गतेबाट अनिश्चितकालिन यातायात ठप्प पार्ने व्यवसायीले चेतानवनी दिँदै आएका छन् । ग्यारेजमा थन्काउने गाडीको रुट परमिट खारेज गरिदिने सरकारी चेतावनीका बाबजुद समितिहरूले देशभर लामो दूरीमा यातायात बन्द गर्दा यात्रुहरूले सास्ती पाएका छन् ।

सडकमा आज क्यू फ्री, हडताल गर्नेको विवरण संकलन हुँदै

गाडी चालकले आज आफ्नो इच्छा अनुसारको रुटमा गाडी चलाउन पाउने यातायात व्यवस्था विभागले जनाएको छ । सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले गाडी चलाउन बन्द गरेपछि सरकारले आज क्यू फ्री गरेको हो । यात्रुको बढी चाप रहेको ठाउँमा यसरी गाडी चलाउन तथा तोकिएभन्दा बढी भाडा नलिन विभागले आग्रह गरेको छ ।  सिन्डिकेट कायमै राख्नुपर्ने पक्षमा रहेका यातायात व्यवसायीले गाडी नचलाएपछि सरकारले आज क्यू फ्रीको निर्णय गरेको हो । सिन्डिकेटको विपक्षमा रहेका व्यवसायीले सरकारलाई साथ दिएका छन् । काठमाडौंमा साझा, मयूर, महानगर लगायत कम्पनीका बस नियमित रुपमा सञ्चालनमा छन् । आज गाडी नचलाउने व्यवसायीलाई सरकारले कार्वाही गर्ने बताइसकेको छ । अत्यावश्यक सेवामा हडताल गर्ने वाडीको विवरण संकलन भैरहेको यातायात व्यवस्था विभागले जनाएको छ । विवरण संकलन भएपछि पहिलो दिनमै रुट खारेज गरिने विभागको तयारी छ । सरकारले केही दिनअघि अत्यावश्यक सेवामा हडताल गर्न नपाउने गरी राजपत्रमा सूचना निकालेको छ ।

Share.

Leave A Reply