साहित्यिक हव बन्दै मौलाकालिका मन्दिर, भारत असमका आधि दर्जन स्रष्टा सम्मानित

0


गैँडाकोट । गैँडाकोट १ मा रहेको मौलाकालिका मन्दिर साहित्यिक हवको रुपमा विकसीत हुने देखिएको छ । साहित्यिक क्षेत्रका स्रस्टाहरुको नजर अब शान्त मनोरम र धार्मिक स्थल मौलाकालिका तर्फ आकर्षित बन्दै गएको छ । शनिबार साँझ असमबाट आधा दर्जन साहित्यिक तथा भाषिक संरक्षणका अभियन्ताहरु मौलाकालिका पुगे । मौलाकालिका पुगेका आकधा दर्जन स्रष्टा त्यहाँको मनोरम दृश्यबाट प्रभावित भएका थिए ।
धार्मिक सेवा समिति मौलाकालिका मन्दिर र ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालले साहित्यिक स्रस्टालाई सम्मान तथा स्वागत गरेको थियो । पूर्वोत्तर भारत असम नेपाली नाट्य सम्मेलनबाट साहित्यिक यात्रामा स्रष्टाहरु नेपाल आएका थिए । स्रस्टाहरुको सम्मानमा स्वागत एवं स्नेहमिलन कार्यक्रम राखिएको हो । स्नेहमिलन कार्यक्रमका प्रमुख अतिथि कविवर गोविन्द राज विनोदीले असमको संस्कृति र साहित्य र नेपाली संस्कृति र साहित्यबीचको स्नेह मिलन कार्यक्रमले सुखद् अनुभूति भएको बताउनुभयो । कविवर विनोदीले साहित्यिक क्षेत्रको विकासकालागि र स्रष्टाको सम्मानका लागि मौलाकालिका मन्दिरले गर्दै आएको सहयोग प्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । साहित्यिक स्रष्टाहरुकै समय अभावका कारण पछिल्लो समय कार्यक्रम कम भएकामा अब विस्तारै यस क्षेत्रलाई साहित्यिक केन्द्रको रुपमा अघि बढाउन सबैमा आग्रह समेत गर्नुभएको थियो । यस अघि त्रिवेणी साहित्यिक परिषद्ले वर्षेनी गर्दै आएको कार्यक्रमको स्मरण गर्दै निरन्तरताका लागि जुट्नुपर्ने बताउनुभयो ।
यसैगरी असमबाट आएका साहित्यिक स्रष्टाहरुको यात्राको संयोजन तथा नेतृत्व गर्दै आउनुभएका प्राध्यापक डाक्टर गोविन्द भट्राईले मौलाकालिकाको बसाईले शहरका सुविधा सम्पन्न गोष्ठी भवनहरु भन्दा बढी आनन्द दायक रहेको बताउनुभयो । मौलाकालिकाबाट देखिने मनोरम दृश्यहेर्दा तारापुञ्ज माथि आफू भएको महशुस भएको बताउनुभयो ।
असमबाट आउनुभएका साहित्यिक स्रष्टाहरुको सम्मान गरिएको थियो । सम्मानित हुने स्रष्टाहरुमा एकेडेमिक पुरस्कारबाट सम्मानित हुने चन्द्रमणि उपाध्याय, ज्ञानबहादुर क्षेत्री हुनुहुन्थ्यो  । यसैगरी सम्मानित हुने अन्य स्रष्टाहरुमा प्राध्यापक डा. गोविन्द भट्राई, छत्रमान सुब्बा, विष्णु शास्त्री, माधव भट्राई, प्राज्जवल प्रतिम बोटा, दिनानाथ निरौला, कृष्ण आचार्य, खेमलाल पोख्रेल, लगायतका स्रस्टाहरुलाई सम्मान गरिएको थियो ।
असममा नेपाली साहित्यको अवस्था, नेपाली भाषिक पत्रिकामा नेपाली साहित्यकारहरुको रचना प्रकाशन लागयतका विविध विषयमा अध्ययन गर्न जान लाग्नुभएका समालोचक डि आर पोखरेललाई बिदाई समेत गरिएको थियो ।
कार्यक्रममा असमबाट आउनुभएका साहित्यिक स्रष्टाहरु, केदारनाथ खनाल, सूर्यप्रसाद लकाजु, गणेश श्रमण, बालकृष्ण थपलिया, विश्वराज लम्साल, भूमि पौडेल भावुक, जमुना खनाल, गीता ढकाल लगायतका स्रष्टाहरुले रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका उपाध्यक्ष काशिनाथ कंडेलले राख्नुभएको थियो भने कार्यक्रमका बारेमा जेष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालका अध्यक्ष नारायणप्रसाद तिवारीले प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सहजीकरण मन्दिरका सदस्य भूमि पौडेल भावुक र मन्दिरका सचिव सुरेन्द्र रेग्मीले गर्नुभएको थियो ।

Share.

Leave A Reply