सामाजिक सुरक्षा खै ? रेखदेख गर्ने नभएपछि वृद्ध परिवारको बिचल्ली

0


प्रेम क्षेत्री
गैंडाकोट । चिटिक्क परेको घर छ तर घरमा राखिएका सरसामान भताभुङ्ग छन् । बाहिरबाट जति उज्यालो छ भित्री भने त्यति उज्यालो छैन । गैंडाकोट ७ गैरी को एक घरको व्यथा हो यो । ७८ वर्षीय पदमबहादुर रेस्मी मगर र ८० वर्षिया सन्तमाया रेस्मी मगरको यही घरमा बास छ तर उनीहरु दुवैको हातखुट्टा चल्दैन । उनीहरु डेढ वर्षदेखि ओछ्यानमै थला परिरहेका छन् ।
घरसँगै रहेको २ कठ्ठा खेत बाँझै छ । घरखेत स्याहार गर्ने कोही छैनन् । गर्न सक्ने अवस्थाका सहयोगी कोही छैनन् । स्थानीय तथा छिमेकीहरुको सहयोगमा खाद्यान्न जुटेपनि पकाइदिने कोही छैनन् ।
घरसँगै रहेको चापाकल (धारा) मा पानी थाप्न धौधौ छ । घिस्रिएर नै धारा पुगेपनि धारा चलाउन बलिया पाखुरा छैनन् । जेनतेन घिस्रिएर बिहानको छाक टार्न सन्तमायाले चुल्हो बाल्छिन् । चुल्हो बले पनि के पकाउने यही पिरलो छ सन्तमायालाई ।
श्रीमान् पदमबहादुरको ओछ्यानमा नै दिसापिसाब हुन्छ । पदमबहादुरले राम्रोसँग कान सुन्दैनन् । आँखाले राम्रोसँग ठम्याउँदैनन् । उनी बर्बराईमात्र रहन्छन् । उस्तै अवस्था छ श्रीमती सन्तमायाको पनि । जयश्री खोलको छेउमा नै उनीहरुको घर छ । घरसँगै जोडिएको बाटोमा ओहोरदोहोर गर्नेहरुको मनमा दया पलायो भने उनीहरूको छाक टर्छ । नत्र भने कैयौं रात भोकभोकै बित्ने गरेको छ ।
परिवारमा स्याहार गर्ने कोही नभएपछि यो जोडीको बिचल्ली भएको छ । जेनतेन जीवन धानेको छ यो परिवारले । बटुवा तथा छिमेकीले नै यो परिवारको रेखदेख गर्दै आएका छन् ।
सन्तमायाले पदमबहादुरसँग दोस्रो विवाह गरेकी हुन् । यो बिहेपछि उनीहरुको सन्तान भएनन् । सन्तमायाले पहिलेको श्रीमान्तर्फको छोरा र नाति ल्याएर पालेकी थिइन् । छोरा पनि बिते, नाति पनि बिते । नातिनी बुहारी विदेश गएपछि फर्केकी छैनन् । नातिका नाममा घरजग्गा छ तर उनी बितिसके । परिवारमा कोही पनि नभएपछि उनीहरुको झनै बिजोग भएको छ ।
उनीहरुले सामाजिक सुरक्षा भत्ता भने लिएका छन् । सो सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन पनि ठुलै कसरत गर्नुपरेको समाजसेवी करुणासागर सुवेदीले बताउनुभयो ।
उहाँले भन्नुभयो – “सामाजिक सुरक्षा भत्ता दिलाउन ४–५ वर्ष पहिले एम्बुलेन्समा लगेर बैंकमा नै खाता खोलेर पैसा दिलाइयो ।” उहाँले सामाजिक सुरक्षा भत्ता दिलाइए पनि अहिले रेखदेख गर्न ठूलो समस्या भएको बताउनुभयो । बेला बेलामा पैसा र खाना लगेर दिएपनि रेखदेख गर्ने व्यक्तिको अभाव भएको छ । उहाँले थप्नुभयो – “उनीहरु वडाका नागरिक हुन्, उनीहरुको सामाजिक सुरक्षाको दायित्व वडा र नगरपालिकाको हो, अब वडा र नगर तहबाट सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ ।”
छोरानातिले १ कठ्ठा जग्गा बेचेर खाइदिएको स्मरण गर्दै उहाँले सम्पत्तिको दावी गर्नेहरुबाट नै रेखदेख हुनुपर्ने वातावरण बनाउनुपर्ने बताउनुहुन्छ ।
साविक गैंडाकोट गाविसका पूर्व अध्यक्ष एवं नेपाली कांग्रेस नवलपरासीका जिल्ला कोषाध्यक्ष ओमप्रसाद सापकोटाले मगर परिवारलाई पहिलेदेखि नै चिन्दै आएको र खेतबारीमा आउँदा जाँदाका सहयोगी भएको बताउनुभयो । उहाँले पहिलेका सहयोगी अहिले दुःख पाएको सुन्ने बित्तिकै केही सहयोग सामग्रीसहित उपस्थित भई सहयोग गरेको बताउनुभयो । वास्तवमा धेरै नेपाली बेसहारा बन्दै गएको तर्फ उहाँले चिन्तासमेत व्यक्त गर्नुभएको छ । ठूलो युवा जनशक्ति विदेशमा छ । उनीहरु फर्कने सम्भावना कम छ । धेरै बाबुआमाको यस्तै बिचल्ली हुने देखिएको जनाउँदै उहाँले भन्नुभयो –“वास्तवमा अब हाम्रो समुदायमा, हामी धेरै नेपालीहरुको अवस्था यस्तै हुने देखिन्छ ।”
उहाँले असहाय वृद्ध परिवारको रेखदेखमा वडा तथा नगरपालिकाले तत्काल व्यवस्था मिलाउनुपर्ने बताउँदै भोलिका दिनमा यस्तो अवस्था आउन नदिन सचेत बन्नुपर्ने बताउनुभयो ।
विजयनगर पम्पि∙ खानेपानी तथा सरसफाइ सह–लगानी उपभोक्ता संस्थाका अध्यक्ष विष्णुप्रसाद सापकोटाले बाटामा हिँड्दै गर्दा बिचल्ली अवस्थामा देखेपछि राहतस्वरुप केही सामग्री प्रदान गरिएको बताउनुभयो । दैनिक अत्यावश्यक चामल, दाल, आलु, चिनी, प्याज, साबुनलगायत फलफुल प्रदान गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो –“असाहय यस्ता व्यक्तिको सहयोगमा सामाजिक अभियान्ता, सञ्चारकर्मी, वडा तथा नगरपालिका सबैले चासोका साथ लिएर उनीहरुको संरक्षणमा जोड दिनुपर्छ ।”
गैंडाकोट ७ का वडाध्यक्ष चोलानाथ उपाध्यायले उनीहरुको अवस्थाबारे आफु जानकार रहेको जनाउँदै बेलाबेलामा सहयोग गर्दै आएको बताउनुभयो । नयाँ वर्षमा खाद्यान्न सामग्री प्रदान गरिएको जनाउँदै आंशिक तरिकाले बस्न चाहने व्यक्तिको खोजी भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो –“बिहान भात खाएपनि उनीहरु प्रायः बेलुका खादैनन् । भएका पलातीहरु पनि ठूलीआमासँग बस्ने गर्छन् भन्ने सुनेको छु । कोही आफन्त आई पकाएर खाने वातावरण मिलाइदिए वडाले खाद्यान्न जुटाइदिन्थ्यौ ।” उहाँको रेखदेखमा छिमेकीले ठूलो भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो ।
असहाय वृद्ध परिवारलाई शनिबार गैंडाकोटकै विभिन्न व्यक्तिहरुले स्वतःस्पूmर्त रुपमा दैनिक आवश्यक सामग्रीसहित खाद्य सामग्री सहयोग गरेका हुन् । साविक गैंडाकोट गाविसका पूर्व अध्यक्ष ओमप्रसाद सापकोटा, विजयनगर पम्पि∙ खानेपानी तथा सरसफाई सह–लगानी उपभोक्ता संस्थाका अध्यक्ष विष्णुप्रसाद सापकोटा, समाजसेवीहरु हिमलाल सापकोटा, देवीप्रसाद सापकोटा, रुद्रप्रसाद सापकोटा, झलकराज शर्मा, लीलाधर रिजाललगायतले स्वतःस्पूmर्त रुपमा सहयोग गर्नुभएको हो । सो अवसरमा गैंडाकोट ७ का वडाध्यक्ष चोलानाथ उपाध्याय, सदस्यहरु लीला कुमाल, उमादेवी सापकोटा, जमुनादेवी कंडेललगायतको उपस्थिति रहेको थियो । उनीहरुको पालनपोषणमा सहयोग गर्न स्थानीयले आग्रह गर्दै आएका छन् ।

Share.

Leave A Reply