साफ महिला फुटबल प्रतियोगिता शुरु

0

विराटनगर, २८ फागुन  ः नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकूदको संस्थागत रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

अखिल नेपाल फुटबल सङ्घद्वारा विराटनगरको शहीद रङ्गशालामा आयोजित महिला साफ फुटबल च्याम्पियनसीप प्रतियोगिताको आज उद्घाटन गर्दै उहाँले सरकारले स्थानीय तहबाटै खेलकूदको जग बसाल्ने गरी योजना अघि बढाउने बताउनुभयो ।

अध्यक्ष दाहालले नेपालमा पहिलो पटक भइरहेको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताले विराटनगरको मात्र नभई देशकै गौरव बढेको छ भन्नुभयो । उहाँले राष्ट्रिय एकता बलियो बनाउन र स्वास्थ्यको लागि पनि खेलकूदको ठूलो भूमिका छ भन्नुभयो । अध्यक्ष दाहालले नेपाली महिला फुटबल खेलाडीले आफूलाई शक्तिशाली बनाउन खेलमा अझै सुधार गर्दै जानुपर्ने सुझाव दिनुभयो ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन वटै सरकारको प्राथमिकतामा खेलकूद रहेको छ भन्नुभयो । उहाँले विराटनगरलाई खेलकूदको राजधानी बनाउने योजनासाथ अधि बढ्ने दृढता व्यक्त गर्नुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले यो प्रतियोगिता विराटनगरमा हुनु नै ठूलो उपलब्धी हो भन्नुभयो ।

आयोजक सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पाले फुटबल जस्ता खेलले देशको प्रतिष्ठा बढाउन र खेलाडीलाई व्यावसायिक बन्न मद्दत गरिरहेको छ भन्नुभयो ।

नेपाल विजयी

आजको उद्घाटन खेलमा नेपालले भूटानलाई शून्यका विरुद्ध ३ गोलले पराजित ग¥यो । खेल शुरु भएको १३ औँ मिनेटमा नेपालका जर्सी नम्बर १८ की मिड फिल्डर मैनालीकुमारी योञ्जनले गोल गरेर खाता खोलेको केही मिनेटपछि फरवार्ड सावित्रा भण्डारीले अर्को गोल गरेकी थिइन् । मध्यान्तरपछिको शुरु मै निज थापाले तेस्रो गोल गरेकी थिइन् । बुधबारको खेल भारत र माल्दिभ्सबीच हुने भएको छ ।-(रासस)

Share.

Leave A Reply