सहिद शिव पौडेल स्मृति पुरस्कार २०७३ सूर्यप्रसाद शर्मालाई

0

चितवन । साहित्य सङ्गम, चितवनले मङ्गलबार एक विशेष कार्यक्रमको आयोजना गरेर २०७३ सालको सहिद शिव पौडेल स्मृति पुरस्कार ‘जीवनका सुसेलीहरू’ पुस्तकका लागि लेखक सूर्यप्रसाद शर्मालाई प्रदान गरेको छ ।

सङ्गमका अध्यक्ष द्वारिका नेपालको अध्यक्षता तथा पुरस्कारका संस्थापक नारायण पौडेलको प्रमुख आतिथ्यमा भएको पुरस्कार समर्पण कार्यक्रममा पुरस्कृत स्रष्टाको व्यक्तित्व तथा कृतित्वका बारेमा प्रा.कपिल अज्ञातले प्रकाश पार्नुभएको थियो भने सहिद शिव पौडेलका बारेमा उहाँका तात्कालीन सहपाठी कलाकार हरि योञ्जनले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा स्रष्टा सूर्यप्रसाद शर्मालाई दोसल्ला, सम्मान पत्र र नगद रु.५०००।(अक्षरेपि पाँच हजार)सहित सम्मान गरिएको थियो । पुरस्कृत स्रष्टा शर्मालाई कविडाँडा साहित्य समाजका अध्यक्ष एल बी क्षेत्री, प्रलेसकी केन्द्रीय सचिव सरिता तिवारी र माननीय सांसद काशीनाथ अधिकारीले शुभकामना प्रकट गर्नुभएको थियो । त्यसै गरी राजेन्द्र घायलले कवितात्मक शुभकामना व्यक्त गर्नुभएको थियो ।
वि.सं.२०३८ साल चैत्र १ गते वीरेन्द्र बहुमुखी क्याम्पसमा आई.ए. दोस्रो वर्षमा अध्ययनरत शिव पौडेललाई केही उच्छृङ्खल व्यक्तिले छुरा प्रहार गरेर हत्या गरेका थिए भने मनमोहन अधिकारी नेतृत्वको सरकारले पौडेललाई वि.सं. २०५२ सालमा सहिद घोषणा गरेको थियो । सहिद शिव पौडेलका परिवारजनले उहाँको स्मृतिमा २०६५ सालमा स्थापना गरेको यो पुरस्कार साहित्य सङ्गम चितवनले प्रत्येक वर्ष चितवनबाट प्रकाशन भएकामध्ये उत्कृष्ट साहित्यिक पुस्तकलाई छनोट गरेर प्रदान गर्दै आइरहेको छ ।

Share.

Leave A Reply