सहकारी समन्वय मञ्चले अर्को शनिबारसम्म पूर्णता पाउने 

0
गैँडाकोट । सहकारी समन्वय मञ्च गैँडाकोटले आज एक कार्यक्रमका बीच ६२ आँै राष्ट्रिय सहकारी दिवश मनाएको छ । गैँडाकोट एकीकृत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आतिथ्यमा भएको कार्यक्रममा गैँडाकोटका विभिन्न सहकारीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सहकारी समन्वय मञ्चले ६२ औँ राष्ट्रिय सहकारी दिवशको सन्दर्भ पारेर विभिन्न सहकारी तथा सहकारीकर्मीहरुलाई सम्मान गरेको छ । गैँडाकोट १० का किसान प्रेमलाल खरेल, फरक क्षमता भएर पनि आत्मनिर्भरका प्रेरणाका स्रोत गैँडाकोट ६ का कृष्ण सुवेदी, केसी गाइ फार्मका श्याम केसी, मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, अमरापुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, गैँडाकोट एकीकृत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कृषक नेत्रप्रसाद सापकोटा लगायतलाई सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सहकारी अभियन्ता तथा नेफ्स्कूनका पूर्व सञ्चालक खेमराज सापकोटाले ६२ आँै राष्ट्रिय सहकारी दिवशको शुभकामना दिदै सहकारीकर्मीलाई एकीकृत भइ काम गर्न सुझाब प्रदान गर्नुभएको छ । सहकारी अभियन्ता सापकोटाले १० महिनादेखि पूर्णता पाउन नसकेको सहकारी समन्वय मञ्चले यही शनिबार अथवा अर्को शनिबारसम्म त्यसले पूर्णता पाउने बताउनुभयो । निर्वाचन समितिका संयोजक समेत रहनुभएका सापकोटाले राजनीतिक सन्तुलनको समस्या, सहकारीको नीतिगत अन्यौलता जस्ता विविध कारणबाट पूर्णता दिन ढिलाइ हुनु दुःखद भएको समेत बताउनुभयो ।
सहकारी समन्वय मञ्च गैँडाकोटका अध्यक्ष वेदप्रसाद गौडेलले गैँडाकोट सहकारी र सहकारी समन्वय मञ्चको सम्बन्ध कृष्ण र सुदामाको जस्तै आत्मीय सम्बन्ध रहेको बताउनुभयो । कार्यक्रमका अध्यक्ष समेत रहनुभएका गौडेलले राज्यले सहकारीका सन्दर्भमा अघि सारेका नीति नियमहरु परिमार्जन आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी संघका पूर्व सञ्चालक केशवप्रसाद सापकोटाले खेर गइरहेको पूँजी एकीकृत गर्नमा सहकारीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । कार्यक्रममा स्थानीय वन महासंघका गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटा, गैँडाकोट एकीकृत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेका अध्यक्ष महादेवी बस्ताकोटी, गैँडाकोट स्वाभिमान साकोसका उपाध्यक्ष पोषणराज सुवेदी, छहारी साकोसका व्यवस्थापक मुकुन्द पौडेल, अपांग संघ गैँडाकोटका कृष्णप्रसाद सुवेदी, अमरापुरी बहुउद्देश्यीय सहकारीका व्यवस्थापक विष्णुप्रसाद काफ्ले, मुकुन्दसेन दुग्ध उत्पादक सहकारीका कृष्णप्रसाद सापकोटा, संस्थाका लेखा समिति संयोजक गोविन्द रिमाल, संगम साकोसका तर्फबाट मञ्जु पण्डित लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा समन्वय मञ्चका कोषाध्यक्ष चन्द्रमणि पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने संस्थाका सचिव कूलप्रसाद पाण्डेले सहजीकरण गर्नुभएको थियो ।

Share.

Leave A Reply