सवारी साधनको दुरुपयोग गरेको छैन – गैँडाकोट उपप्रमुख कंडेल

0


गैँडाकोट । गैँडाकोट नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी कंडेलले केही समय यता उपप्रमुखले सवारी साधनको दुरुपयोग गरेको भन्ने खबरको खण्डन गर्नुभएको छ । सोमबार विज्ञप्ती जारी गर्दै उपप्रमुख कंडेलले नगरपालिकाको प्रशासनिक प्रयोगका लागि लिइएको सवारी साधनलाई मेरो लागि लिइएको भन्दै लेखिएको समाचार प्रति खण्डन गर्नुभएको छ । मंसिर १२ गते मंगलबार चितवनबाट प्रकाशित एक साप्ताहिक पत्रिकाले कानुनको धज्जी उडाउँदै गैँडाकोट उपमेयर शिर्षक राखेर नियोजित आशयले आफ्नो र सिंगो नगरको मानमर्दन गरेको कंडेलद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । नगरपालिकाको एक मात्र सवारी साधन विहान देखि बेलुकासम्म मेयरले मात्रै प्रयोगमा गर्ने गरेकाले नगरपालिकाले उपप्रमुख, कार्यकारी अधिकृत र प्रशासनिक कामका लागि सवारी साधन भाडामा लिनुपरेको विज्ञप्तीमा उल्लेख छ । नगरपालिकाको दैनिक तथा प्रशासनिक कामका लागि भाडामा लिइएको साधन उपप्रमुखले निजि प्रयोजनका लागि प्रयोग गरेको भन्ने कपोकल्पीत भ्रमपूर्ण र नियोजित समाचार प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको कंडेलले बताउनुभएको छ । कंडेलले कानुनी रुपमा कहिँकतै पनि नगरपालिकाका प्रमुख लगायत जनप्रतिनिधिलाई सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था नरहँदा नरहँदै पनि नगरप्रमुखले नगरपालिकाको साधन आफ्नो निजि साधन जस्तै गरी प्रयोग गर्ने गरेको आरोप समेत लगाउनुभएको छ । यस्ता भ्रामक समाचार प्रकाशन गरेर वा गर्न लगाएर सिंगो पत्रकारिता क्षेत्रकै बदनाम गराउने प्रति सचेत रहन उपप्रमुखले नगरबासीलाई आग्रह गर्नुभएको छ ।

 

Share.

Leave A Reply