सरस्वती निकेतन आवासीय माविले रजत जयन्ती भव्यताका साथ मनाउने

0

तिलक सुवेदी, भदौ २१, गैंडाकोट । पुर्वी नवलपरासीको गैंडाकोटमा रहेको सरस्वती निकेतन आवासीय माध्यामिक विद्यालयले रजत जयन्ती भव्यताका साथ मनाउने भएको छ ।

गैंडाकोट १ मा रहेको विद्यालयले गौरवमय २५ औ रजतजयन्ती महोत्सवका रुपमा नै विशेष कार्यक्रम सहित मनाउन लागेको विद्यालयका प्राचार्य भरतबाबु कंडेलले जानकारी दिनुभयो । यो २५ वर्षसम्म विद्यालयले धेरै संघर्ष गर्नुपरेको बताउँदै उहाँले सवैको साथ र सहयोगले नै यो स्थान बनाउन सकेको बताउनुभयो ।
रजतजयन्तीका अवसरमा गरिने ७ महिने कार्यक्रम र विद्यालयले हालसम्म गरेका प्रगतिबारे आज पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ । यो अवधिमा शिक्षा, स्वास्थ्य, वातावरण, खेलकुद, साहित्यिक, सांस्कृतिक कार्यहरुको प्रर्वद्धन गर्नुका साथै विद्यार्थीहरुको शारिरिक, मानसिक, बौद्धिक र भावनात्मक विकासका कार्यक्रमहरु आयोजना गरिएको सरस्वती निकेतन आवासीय माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश सापकोटाले जानकारी दिनुभयो । उहाँले सो रजत जयन्तीका अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन र सहयोग गर्न सम्पुर्ण भू.पू. विद्यार्थी, अभिभावक, जनसमुदायलाई आग्रह गर्नुभयो ।
रजत जयन्तीका अवसरमा निकेशबाबु कंडेलको शुभ संकल्पमा १० लाख ५० हजारको स्व. फत्तबहादुर कंडेल स्मृति छात्रवृति अक्षयकोष स्थापना गरि अति विपन्न दलित सिमान्तकृत समुदायका बालबालिकाहरु एवं मेघावी विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्ने रजत जयन्ती प्रचार प्रसार उप समिति संयोजक कमल तिवारीले जानकारी दिनुभयो ।

त्यस्तै जेयष्ठ नागरिक अभिनन्दन, वडा समिति र टोल सुधार समितिलाई विभिन्न प्रजातीका विरुवा र डस्विन हस्तान्तरण, स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम, नवलपुर स्तरिय मावि तह हाजिरिजवाफ प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, खुल्ला म्याराथुन दौड प्रतियोगिताको आयोजना गरिएको छ । त्यस्तै स्वास्थ्य सिविर, विविध खेलकुद, सामुदायिक विद्यालयलाई शैक्षिक सामाग्री वितरण, शैक्षिक प्रर्दशनी, ऐतिहासिक अभिलेख सहितको रजत जयन्ती स्मारिका २०७५ प्रकाशन, रजत जयन्ती स्तम्भ निर्माण, सम्मान, पुरस्कार र अभिनन्दन सहित फागुन ७ गते भव्य समापन समारोह आयोजना गरिएको तिवारीले जानकारी दिनुभयो ।


यसअघि विद्यालयका संस्थापक प्राचार्य भरतबाबु कंडेलको संयोजक र सहायक–प्राचार्य नगेन्द्र तिमिल्सिनाको सह संयोजकत्वमा ५१ सदस्यीय मुल समिति र विभिन्न उप–समित निमार्ण गरेको विद्यालयका शिक्षक लक्ष्मण कंडेलले जानकारी दिनुभयो । विद्यालयले सम्पुर्ण भू.पू. विद्यार्थी, अभिभावक, जनसमुदाय र विद्यालय परिवार मिली यो वर्षलाई विभिन्न कार्यक्रम गरि मनाउने कंडेलले बताउनुभयो । उहाँले अभिभावकको मन जित्न सफल भएको समेत बताउनुभयो ।

२०५० सालमा स्थापना भएको विद्यालयले यो अवधिसम्म हजारौ विद्यार्थीलाई शिक्षा प्रदान गरेको छ ।

विद्यालयका शिक्षक लक्ष्मण कंडेलले सहजीकरण गर्नुभएको कार्यक्रममा विजय एफएमका सहायक स्टेशन म्यानेजर श्रीधर उपाध्याय, प्रेस चौतारी नवलपुरका अध्यक्ष हिमालदेव पंगेनी, प्रेस युनियन चितवनका उपाध्यक्ष पूर्ण शर्मा लगायत चितवन तथा नवलपरासीका पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रम विद्यालयका अध्यक्ष गणेश सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Share.

Leave A Reply