सरकार इतिहास मेटाउन सक्रिय ः वरिष्ठ नेता पौडेल

0

काठमाडौँ, १२ माघ 

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार इतिहास मेटाउन सक्रिय रहेको बताउनुभएको छ ।

काङ्ग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना भएको ‘जीपी कोइराला फाउण्डेशन ललितपुर शाखाको उद्घाटन तथा फोटो प्रदर्शन’ कार्यक्रममा उहाँले “देशमा परिवर्तन ल्याउन गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको ठूलो भूमिका रहेको तर उहाँहरुकै इतिहास मेटाउन सरकार लागेको छ, यसका विरुद्ध काङ्ग्रेस आन्दोलनमा उत्रन्छ”, भन्नुभयो ।

नेता पौडेलले जहाज खरीद, एनसेल कर छलीलगायत विकास निर्माणमा भएका भ्रष्टाचारमा वर्तमान सरकारले सङ्लग्नता रहेको भन्दै त्यसविरुद्ध आन्दोलन गर्ने बताउनुभयो ।

जीपी कोइराला फाउण्डेशनकी अध्यक्ष एवं काङ्ग्रेस नेत्री सुजाता कोइरालाले मुलुकका हरेक परिवर्तनको नेतृत्व गरेको काङ्ग्रेसलाई कसैले सिध्याउन नसक्ने बताउनुभयो । “देशमा लोकतान्त्रिक गणतन्त्र ल्याउनेहरु एकजुट हुनुपर्छ, अर्कोलाई सक्छु भन्नेहरु आफैँ सकिनेछन्”, उहाँले भन्नुभयो ।

काङ्ग्रेस नेता एवं पूर्वअर्थमन्त्री डा रामशरण महतले वर्तमान सरकारले अर्थतन्त्रलाई बर्बादीतर्फ धकेलेको आरोप लगाउनुभयो । “देशमा राजश्व सङ्कलनदेखि विकासको गति सुस्त रहेको छ यो देशका लागि खतरा हो”, उहाँले भन्नुभयो ।

जीपी कोइराला फाउण्डेशन ललितपुर जिल्ला संयोजक जीतेन्द्र श्रेष्ठ, राष्ट्रिय सभाकी सांसद धना खतिवडा, जीपी कोइराला फाउण्डेशन प्रदेश–३ संयोजक रीता खनाल, पूर्वसांसद रामकृष्ण चित्रकारलगायतले काङ्ग्रेसले जिम्मेवार र सशक्त प्रतिपक्षका रुपमा देशलाई सङ्कटबाट बचाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गिरिजाप्रसाद कोइरालाको जीवनीमा आधारित फोटो प्रदर्शनी गरिएको थियो ।-रासस

Share.

Leave A Reply