समाचार प्रभाव ः किचकन्नी पुलको बोर्ड हट्यो

0


प्रेम क्षेत्री
गैंडाकोट । नवलपरासी (वर्दघाट सुस्ता पूर्व) गैंडाकोट ९ थुम्सी बजार नजिकै राखिएको “किचकिन्नी पुल” नामक बोर्ड हटाईएको छ ।
गलत स्थान, गलत नामाकरण र त्रासदीपूर्ण नामका विषयमा विजय एफएम १०१.६ बाट समाचार प्रशारण तथा विजय खबर पत्रिकामा त्रासदीपूर्ण किचकन्नी पुल शिर्षकमा समाचार प्रकाशन भए पश्चात बोर्ड हटाईएको हो ।
अहिले तत्काललाई सो बोर्ड हटाईएको डिभिजन सडक कार्यालय बुटवलका इन्जिनियर मेघबहादुर केसीले बताउनुभयो । बोर्ड राख्दा स्थानियसँग कुनै समन्वय विना राखिएको हुदाँ त्रुटी हुन पुगेको उल्लेख गर्नुभयो ।
स्थानिय वासिन्दासँगको छलफल र सहकार्य पछि सो बोर्ड हटाईएको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । यस विषयमा यसअघि प्रशारित समाचारमा गैंडाकोट नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष प्रेमप्रसाद सापकोटाले यो बोर्ड गलत स्थानमा राखिएको र हटाउन सहकार्य गर्ने बताउनुभएको थियो । सोही अनुरुप खोजिनिती र सहकार्य पछि हटाईएको बताउनुभयो ।
यही पुलका कारण यात्रारत चालक र यात्रुको ध्यान खिचिएको थियो । यो शब्द नै त्रासदीपूर्ण रहेको उनीहरुले उल्लेख गरेका थिए । घुमाउरो सडक त्यसमाथि धेरैको नजर यही बोर्डमा पर्ने गरेको र त्रासकै कारण दुर्घटना हुन सक्ने भन्दै धेरैले आलोचना गरेका थिए ।
जंगलबाट बगेर आएको पानी निकासका लागि यो एक माध्यम हो । मुख्यतया धार्मिक वन र नारायणी सामुदायिक वन क्षेत्रबाट बगेर आएको पानी राजमार्ग हुदैं नारायणी नदीतर्फ पठाउनका लागि कल्भर्ट रहेको छ । यस क्षेत्रकै चर्चित हनुमान मन्दिर र विश्वकर्मा मन्दिरको बीच सडकको किनारमा दुईतर्फी नै बोर्ड राखिएको थियो । गैंडाकोटमा किचकन्नी खोला पहिलेदेखि नै रहेपनि यो स्थान नै गलत थियो । सडक नजिकै दुवैतर्फ २ वटा बोर्ड राखिएको थियो । यी दुवै बोर्ड हटाईएका हुन् ।
डिभिजन सडक कार्यालय बुटवलका इन्जिनियर मेघबहादुर केसीले मुख्य पुल मर्मत सम्भारको काम केन्द्रबाट मन्त्रिस्तरीय निर्णयबाट देशैभरको पुलका बारेमा जानकारी उल्लेख गर्ने निर्णय भए अनुरुप राखिएको भएपनि स्थानिय वासिन्दासँगको छलफल र सहकार्य पछि सो बोर्ड हटाईएको उल्लेख गर्नुभयो । यस विषयमा विभागका स्थानीय कर्मचारी र स्थानीयसँग समन्वय गरी आवश्यक निर्णय लिइने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । नाम र स्थानका विषयमा सुधार गर्नुपर्ने भए सच्याइने उहाँले उल्लेख गर्नुभएको थियो । सोही अनुरुप हटाईएको उहाँले बताउनुभयो ।

Share.

Leave A Reply