सफा सुन्दर हरियाली गैंडाकोट/ निरन्तर शनिबार अभियानको शुभारम्भ, एक घर एक रुखको अवधारणा

0

गैडाकोट, ८ वैशाख । सफा सुन्दर हरियाली गैंडाकोट, निरन्तर शनिबार अभियानको शुभारम्भ गरिएको छ । हरेक शनिबार सरसफाई गर्ने तथा वृक्षारोपण गर्ने कार्यको गैंडाकोटमा थालनी गरिएको हो । शनिबार बिहान अभियानको गैंडाकोट नगर प्रमुख छत्रराज पौडेलले उद्घाटन गर्नुभयो । गैंडाकोट २ मिलनचोकमा भएको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख छत्रराज पौडेलले नगरपालिकाको एक्लो प्रयासले मात्र गैंडाकोट सफा, सुन्दर र हरियाली सम्भव नरहेको जनाउँदै सवैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो । नगरले यस्ता कार्यक्रम शुरु गरेपनि सफल हुन नसकिरहेको सन्दर्भमा यो अभियानले सहयोग पुग्ने र गैंडाकोट सफा, सुन्दर र हरियाली बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो अभियानमा नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।

गैंडाकोट १ का वडाअध्यक्ष हरिप्रसाद सापकोटाले गैंडाकोट १ बाट नै यो कार्यको शुभारम्भ गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । साथै उहाँले आगामी वर्षमा सफा सुन्दर हरियाली बनाउन यो अभियानमा सहकार्य गर्दै योजना सहितको बजेट ल्याउने बताउनुभयो ।

एक घर एक रुखको अवधारणा अनुरुप अभियानको शुरुवात गरिएको अभियान्ता गणेश सापकोटाले जानकारी दिनुभयो । गैंडाकोटदेखी बुटवलसम्म सडक विस्तार हुने क्रममा रहेको र नवलपुर खण्डको सडकको दुवैतर्फ बोटविरुवा रोप्ने अवधारणा अनुरुप कार्यक्रम ल्याईको उहाँले बताउनुभयो । यो अभियानमा सवैको हातेमालो अवश्यक रहेको र सो कार्यमा सवैको सहयोगको आह्वान गर्नुभयो ।
कार्यक्रममा नेकपाका नेता षडानन्द लामिछाने, नेपाली कांग्रेसका नेता वद्रि सापकोटा, सामाजिक अभियान्ता अर्जुन भुषाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा जन्मदिनको अवसरमा मोतीचन्द्र चालिसेले वडाका विभिन्न ठाउँमा रहने गरि डस्विन वितरण गर्नुभएको थियो । मौलाकालिका सडक खण्डका विभिन्न स्थानमा ८ वठा डस्विन राखिएको छ । शनिबार विभिन्न प्रजातीका १५ वटा वोटविरुवा रोपिएको थियो ।

अभियान्ता गणेश सापकोटाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अर्का अभियान्ता पिताम्बर सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण अभियान्ता कमल तिवारीले गर्नुभएको थियो ।

Share.

Leave A Reply