संस्थागत सुशासन कायम हुनुपर्छ ः रिजाल

0

गैंडाकोट नपरपालिकाका कार्यकारी अधिकृतका रुपमा पुनः शिवप्रसाद रिजाल आउनुभएको छ । पर्वत पाङका उहाँ पश्चिम उच्च पहाडी गरिबी निवारण आयोजना नेपालगञ्जबाट आउनुभएको हो । २ महिनामात्रै भएपनि यसअघि उहाँ २०७१ सालमा पनि कार्यकारी अधिकृतका रुपमा हुनुहुन्थ्यो । त्यतिबेला साविक गैंडाकोट, मुकुन्दपुर र अमरापुरी गाविस मात्र मिलेर नगरपालिका बनेको थियो । अहिले स्थानिय तह कायम भएपछि साविक रतनपुर गाविस पनि गाभिएको छ । १८ वटा वडा रहेको १५९.९३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको गैंडाकोट नगरपालिकाका करिब ६० हजार जनसङ्ख्या रहेको छ । गैंडाकोटबासीले एकजना अनुभवी कार्यकारी अधिकृत पाएका छन् । तर केही चुनौती पनि छन् । यसैसन्र्दभमा हामीले गैंडाकोट नगरपालिकाका कार्यकारी अधिकृत शिवप्रसाद रिजालसँग कुराकानी गरेका छौ । प्रस्तुत छ प्रेम क्षेत्रीले गर्नुभएको कुराकानीको सम्पादित अंश ः

नमस्कार यहाँलाई स्वागत छ ।
नमस्कार, धन्यवाद छ तपाईलाई ।
गैंडाकोट नगरपालिकाको कार्यकारी अधिृकतको रुपमा पुनः आउनुभएको छ सुन्दर गैंडाकोट नगरीमा पुनः स्वागत छ ।
फेरी पनि धन्यबाद तपाईको सदासयताका लागि ।

दोश्रो पटक गैंडाकोट आउँदा कस्तो महशुस गरिरहनुभएको छ ?
दुईवटा कुरा हुने रहेछन् । एउटा कुरा चाँही पहिले छोटो समय भएपनि यहाँ बसेको हुनाले केही हदसम्म सहज महशुस हुनु स्वभाविक नै हो र अर्को कुरा पहिले यहाँ चिनजान भएकाले पारिवारिक वातावरणमा जस्तै बसेको हुनाले समुदायको अपेक्षा पनि धेरै हुने रहेछ । चिनेका कर्मचारी पनि भएकाले केही सहज र समुदायको अपेक्षा धेरै भएकाले चुनौतीपुर्ण पनि हुन्छ ।

गैंडाकोट आउनु तपाइको रोजाई हो की बाध्यता ?
यसलाई बाध्यता भन्नु मिल्दैन । पछिल्लो पटक म पश्चिम उच्च पहाडी गरिबी निवारण आयोजना नेपालगञ्जमा थिए । त्यो प्रोजेक्ट सकिएको थियो म यता आउनु नै थियो । तै पनि खोजेको त अलिकती भ्यालीबेशमा नै हो तथापी यो पनि मेरो प्राथमिकता नै हो । यसलाई पनि मेरो रोजाई नै भन्नुपर्छ

 

तपाई रोजेर नै आउनुभएको हो ?
विल्कुल ।

आउने वित्तिकै कार्यालयमा भन्दा पनि कार्यक्रमहरुमा वढि व्यस्त देखिनुहुन्छ नी ?

यसलाई म हृदयदेखी नै आत्मसाथ गर्छु । कस्तो हुने रहेछ भने नगर क्षेत्रमा आयोजना गरिएका कार्यक्रममा निमन्त्रणा गर्नुहुन्छ नगई पनि भएन । कहिलेकाँही नगई नहुने पनि हुन्छ । नगए कार्यकारी आईदिनुभएन भन्नुहुन्छ । म के अनुरोध गर्न चाहन्छु भने अफिस समयमा सकेसम्म त्यस्ता कार्यक्रम नराखौं । तर अर्को कुरा के हो भने म नभएको समयमा कार्यालयबाट प्रशासकिय अधिकृत, ईन्जिनियर अथव अन्य वडा सचिवहरुले पनि सहिछाप गर्ने गर्नुहुन्छ । मेरो सहिछाप चाहिने अवस्थामा बाहेक म नभए पनि धेरै काम रोकिदैनन् ।
फेरी दुरुपयोग हुने सम्भावना पनि हुन्छ की ?
हैन हैन त्यस्तो हुदैन् । तपाइको जिज्ञाशा स्वाभाविक पनि हो तर उहाँहरु पनि एउटा प्रचलित कानुन बमोजिम आएका जिम्मेवार हुन्छन् । त्यसमाथी मैले पनि हेर्छु उहाँहरुलाई हेर्ने अन्य निकाय पनि छन् । तपाईहरु जस्तो मिडियाले पनि वाच गरिरहेको हुन्छ त्यस्तो हुदैन भन्ने लाग्छ र गर्नु पनि हुदैँन ।
तपाई अघिल्लो पटक आउँदा थाती रहेका केही त्यस्ता योजना जुन यसपटक पुरा गर्नुपर्ने केही छन् ?
अलिकती हाम्रा कतिपय काम तथ्य र तथ्याङ्कमा आधारित छैनन् । हामी तथ्य र तथ्याङ्कमा आधारित भन्दा पनि एउटा सामान्य समझदारीका आधारमा योजना तर्जुमा गर्छौ । मेरा प्राथमिकता भनेको शुरुमा हामीले भुगोलका आधारमा तथ्याङ्क संकलन गर्ने नै हुन्छ । कस्ता जनता कहाँ बस्छन ? कति हुनुहन्छ ? सम्भावनाहरु के हुन् ? भन्ने तथ्याङ्क संकलन तयार गर्नुपर्ने हुन्छ । अहिलेको वर्तमान सन्र्दभमा जनप्रतिनिधी सिधै आउन लागेको यो अवस्थामा मैले यो गर्छु त्यो गर्छु भन्न पनि मिल्दैन कति निर्वाचन आचारसंहिताले पनि रोकेको अवस्था छ । मैले सवैठाउँमा भन्ने कुरा भनेको संस्थागत सुशासन कायम नै हो त्यो हुनुपर्छ । कति नियम बन्न बाँकी नै छन् । अर्को सरोकारवालाहरुसँगको छलफलपछि कार्यान्वयन गर्नु नै हो । कती काम गर्न कर्मचारी अभाव पनि छ । मुख्य त सेवा प्रवाह नै हो ।
अघिल्लो पटक राजनीतिक दलको सहयोग कस्तो थियो ?
अब राजनीतिक दलको सहयोग त आनो ठाउँमा छदैछ । गैंडाकोटबासी यो क्षेत्रका बासिन्दाको चेतनाको स्तर निकै राम्रो छ । मैंले पहिले पनि केही गरौं भन्दा नाई नास्ती पाईन । तर केही भौगोलीक हिसाबले साविकका गैंडाकोट, मुकुन्दपुर, अमरापुरी र रतनपुरबासी भएका त्यता, यता, उता भन्ने त हुन्छ नै तर मैंले न्याय गर्न नसके पनि अन्याय गरेको छैन भन्ने लाग्छ ।
पहिले क्षेत्र पनि सानो थियो अहिले क्षेत्र पनि ठुलो छ काम गर्न गाह्रो पो हुन्छ की ?
हो नी गाह्रो छ । जुन दिनुपर्ने सेवा छ र हामीसँग उपलब्भ मेनपावर छ त्यो विचको खाडलले गर्दा नै काम गर्न पनि गाह्रो छ । हामीलाई काम गर्न कर्मचारी अभाव छ ।
अहिले राजनीतिक दलबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ ?
वास्तवमा आजको दिनसम्म मैलै राजनीतिक दललाई बाधक देखेको छैन । त्यो भोग्न पनि नपारोस् । छिटै जनप्रतिनिधी आउनुहुनेछ र पक्कै पनि उहाँहरुले परामर्श गर्नुहुन्छ । जनताको चाहाना अथवा निर्वाचित प्रतिनिधीहरुको योजनाहरुलाई कार्यान्वयन गर्ने मुख्य भुमिका निर्वाह गर्ने काम त छदैछ ।
अबको एक डेढ महिनापछि मेयर आउनेछन् कत्तिको चुनौती देख्नुहुन्छ ?
हैन मैले कत्तिपनि चुनौती देख्दिन । यसलाई मैले एकदम सहजताको रुपमा लिएको छु । हामीले लिनुपर्छ । कतिपय साथीहरुले त्यो भनेको सुन्छु । तर मलाई त्यस्तो लाग्दैन । हिजो पनि कुनै न कुनै रुपमा जनप्रतिनिधीसँग काम गरेको अनुभव छ । यो कस्तो हुन्छ भने जनताको चाहना अपेक्षा जति जनप्रतिनिधीले बुझेको हुन्छ त्यति हामीले बुझेका हुदैनौ । जनताको चाहना त उहाँहरुले नै ल्याउनुहुन्छ तर हामीले विधी सिकाउने मात्र हो । हुन त हामीले भन्दा पनि धेरै कुरा उहाँहरुले जानेको हुनुहुन्छ । मैले उहाँहरुले भन्दा वढि जानेको छु भन्न पनि खोजेका होईन । मेयरसाब, वडा अध्यक्षज्यु यसरी गर्नुपर्छ भन्ने कुरा हुन्छ । उहाँहरुसँग जनता हुन्छन्, पार्टी हुन्छ, कानुन हुन्छन् । यहाँ त झन काम गर्न सजिलो हुन्छ भन्ने लाग्छ ।
गैंडाकोटको मुख्य समस्या के हो ?
अब ईमान्दारीताका साथ भन्नुपर्दा गैंडाकोटको मुख्य समस्या यो भनेर अहिले नै भन्न सक्ने अवस्था छैन । मैले प्राथमिकतामा राख्न सकेको छैन । तथापी पहिलो कुरा हामीले प्रदान गर्ने सेवा प्रवाहका लागि स्थान छैन । वडा कार्यालयहरु स्थापना गर्न सकेका छैनौ । हाम्रो नगर कार्यालय पनि व्यवस्थित छैन । नगर प्रमुखको कोठा भुईतलामा हुनुपर्ने थियो । तर माथील्लो तलामा छ । जनतालाई सजिलै सेवा पाउन सक्नेरी सेवाग्राही मैत्री हुनुपथ्र्यो । दोश्रो हामीसँग मेनपावर कम छ । गर्नुपर्ने काम धेरै छन् र उपलब्ध जनशक्ती कम छ । यसलाई पुर्ण गर्नुछ । अर्कोकुरा मैले अहिलेसम्म अनुभव त गरेको छैन तर विस्तारै रिसोर्स ग्याप हुने पनि देखिन्छ । हामीसँग समस्या भन्दा पनि बलियो पक्ष धेरै छन् । हामीसँग चेतनायुक्त समुदाय छ । त्यो हुनाले पनि यी समस्या छिट्टै समाधान हुनेछन् ।
गैंडाकोट मुख्य कार्यालय मध्यभागमा भएन भन्ने त होईन ?
त्यस्तो भन्न खोजेको हाईन । यहाँ सेवाग्राही बस्ने ठाँउ छैन भन्न खोजेको हो । हाम्रा साथीहरु पनि खचाखुच गरेर बसिरहनुभएको छ । साना कोठाहरु छन् । हुन त हामीसँग निमार्णधिन भवन छ । भोली मेयर आएपछि बस्ने कहाँ हो भन्ने ठाँउ छैन् । अब प्रत्येक ठाउँमा वडा कार्यालय सञ्चालन गनुपर्ने हुन्छ । अहिले भवन नै छैन । नगरपालिकाको नाममा जग्गा नै छैन । रतनपुर जस्तो दुर्गम क्षेत्रमा सेवा पु¥याउनुपर्ने छ । यी मैले मुख्य समस्या देखिरहेको छु ।
कार्यकारी प्रमुखको नाताले तत्काल के छ योजना अबको गैंडाकोट कस्तो बन्छ ?
मैले अघि पनि केही कुरा गरे । कमसेकम गैंडाकोट नगरपालिकाको एउटा प्रोफाईल बनाउने प्रयत्न गर्नेछु । गरिबी निवारणमा आधारित हरेक मानिसको स्थिती झल्कने तथ्यमा आधारित तथ्याङ्क संकलनको काम हुनेछ । मेरा प्राथमिकता भनेको शुरुमा हामीले भुगोलका आधारमा तथ्याङ्क संकलन गर्ने नै हुन्छ । कस्ता जनता कहाँ ? कति बस्छन् ? भन्ने तथ्याङ्क संकलन नै हो ।
कति समय लाग्ला ?
अब त्यो त जनप्रतिनिधी नआईकन सम्भावना पनि छैन । मैले प्राविधिक सुझाव दिने कुरा हो । जनप्रतिनिधी आएपछि त्यो गर्नुपर्छ भनेर मैले उहाँहरुलाई घच्घचाउने पहिलो प्राथमिकतामा रहन्छ ।
हवस् समय, विचार र कुराकानीका लागी धन्यवाद छ तपाईलाई ।
धन्यवाद छ तपाईलाई मेरो आनो भावनाहरु कमसेकम विजय खबर मार्फत आम जनसमुदाय समक्ष साक्षत्कार हुने यो अवसर जुटाईदिनुभएकोमा पत्रिका परिवारलाई विषेश धन्यबाद छ ।

 

 

२०७३ चैत २२ गतेको विजय खबर पत्रिकाबाट

Share.

Leave A Reply