संघीयतालाई असफल बनाउन षडयन्त्र ः मन्त्री गुरुङ

0

कावासोती, भदौ १९ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले संघीयतालाई असफल बनाउन केही तत्वहरु सक्रिय भएको आरोप लगाउनुभएको छ ।
प्रेस चौतारी र प्रेस सेन्टर नवलपुरले मंगलबार कावासोतीमा गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले कार्यान्वयनको चरणमा रहेको संघीयतालाई असफल बनाउन सक्रियरुपमा षडयन्त्र भइरहेको आरोप लगाउनुभयो । उहाँले देशमा जातीय हिंसा भड्काउनका लागि मलजल गर्न अधिकांश एनजीओ लागि परेको भन्दै सामाजिक सञ्जाल मार्फत भ्रमको खेती भइरहेको बताउनुभयो ।
उहाँले सरकारले कर बढायो भनेर अनावश्यक हल्ला फैलाउने काम प्रतिपक्षी दलले गरिरहेको आरोपसमेत लगाउनुभयो । सरकारका विरुद्व सुनियोजित ढंगबाट प्रस्तुत भइ प्रतिपक्षी दलहरुले सरकारलाई असफल बनाउने प्रयास स्वरुप अनेक प्रपोगाण्डा रचिरहेको दाबी गर्नुभयो । फरक प्रसंगमा मन्त्री गुरुङले दुई पार्टी र सबै जनवर्गीय संगठनको एकता सँगसँगै हुने बताउनुभएको छ । सबै जिल्लामा गठन भएका कार्यदलले नेकपाको केन्द्रीय सचिवालयमा प्रतिवेदन बुझाइसकेको भन्दै उहाँले सम्भवत भदौ महिना भित्रै देशैभर र सबै जनवर्गीय संगठनको एकताको घोषणा गरिने बताउनुभयो ।
मन्त्री गुरुङले नवलपुर नयाँ जिल्ला भएकाले यसलाई विशेष प्राथमिकतामा राखिएको भन्दै प्रदेशको नीति तथा कार्यक्रममा पनि यस जिल्लालाई प्राथमिकतामा राखेको स्मरण गराउनुभयो । उहाँले अब छिट्टै सदरमुकाम कावासोतीमा यातायात व्यवस्था कार्यालयको स्थापना गरिने जानकारीसमेत दिनुभयो । त्यसका अलावा अन्य कृषिसँग सम्बन्धित विभिन्न सरकारी कार्यालयको स्थापना कार्यलाई तीव्रता दिइएको मन्त्री गुरुङले बताउनुभयो ।

Share.

Leave A Reply