शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्री

0


जेष्ठ २३, २०७४- ठ्याक्कै १२ वर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्री बन्न सफल भएका छन् । योसँगै देउवाले समकालिन नेताहरुमा सबैभन्दा बढी चौथोपटक प्रधानमन्त्री बन्ने रेकर्ड समेत बनाएका छन् ।

देउवा पहिलोपटक ०५२ सालमा प्रधानमन्त्री बनेका थिए, जतिबेला उनी ४९ वर्षका थिए । त्यसअघि उनी तत्कालिन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री थिए । युवा उमेरमै प्रधानमन्त्री बन्ने सौभाग्य पाएका देउवा यतिबेला भने ७१ बर्ष पार  गरिसकेका छन् । दोस्रोपटक उनी ०५८ साल साउन ११ र तेस्रोपटक ०६१ जेठ २१ मा प्रधानमन्त्री बनेका थिए ।

प्रधानमन्त्री बन्दा देउवा जति सहज ढंगले हुने गर्छन् बहिगर्मनको विगत भने त्यस्तो सहज देखिँदैन । विगतका विवादस्पद छविलाई सुधार गर्ने चुनौति र अवसरको रुपमा देउवा फेरी प्रधानमन्त्रीको कुर्चीमा आएका त छन् । तर, उनले कस्तो भूमिकामा आफूलाई अघि बढाउँछन् त्यसले उनको छवि निर्माण हुनेछ ।

१२ वर्षपछि भएको देउवाको राज्य सत्ताको पुनरावृति त्यति सहज भने छैन । संविधान संशोधनको मुद्दाले राजनीतिक दलहबीच ध्रुविकरणको अवस्था छ । यद्दपी उनले झन्डै दुई तिहाईको समर्थन पाएका छन् । तर, प्रमुख प्रतिपक्षलगायत विपक्षी मोर्चालाई मिलाएर असार १४ को दोस्रो चरणको स्थानीय तहको चुनाव गराउनु उनका लागि तत्कालको चूनौति छ । त्यसपछि माघ ७ भित्र सम्पन्न गर्नुपर्ने प्रदेश र संघीय संसदको चुनाव गराउनु पर्ने दायित्व छ । यी तीन वटा चुनावले मात्रै देउवाको कार्यकाल कति सफल भयो भन्ने विषय मापन हुनेछ ।

देउवासँग पनि विगतमा निर्वाचन गराएको अनुभव छैन । गिरिजाप्रसादले होलेरीकाण्डमा राजीनामा दिएपछि देउवाले दोस्रोपटक प्रधानमन्त्री हुने सौभाग्य पाएका थिए । तत्कालिन दरबारसँग मिलेर संसद विघटन गराएको आरोप उनलाई लाग्यो । घोषित संसदीय चुनाव उनले गराउन सकेनन् ।

निर्वाचन हुने वातावरण नभएपछि तत्कालिन राजा ज्ञानेन्द्रले ०५९ असोज १८ गते ‘असक्षम’को आरोप लगाई देउवालाई प्रधानमन्त्रीबाट हटाई आफैंले प्रत्यक्ष शासन लिए । आफू प्रधानमन्त्री छँदा जनयुद्धमा रहेको माओवादीलाई नियन्त्रण गर्न घोषणा गरेको संकटकालको अवधि बढाउने निर्णय र संसद विघटन गरी नयाँ संसदको चुनाव गराउने विषयले पार्टीभित्र तिव्र विवाद बढेपछि देउवाले पार्टी विभाजित गरी आफ्नै नेतृत्वमा कांग्रेस (प्रजातान्त्रिक) पार्टी स्थापना गरे ।

राजाको प्रत्यक्ष शासनविरुद्ध तत्कालिन सात राजनीतिक दलले आन्दोलन चर्काउन थालेपछि ज्ञानेन्द्रले ‘असक्षम’ भनी हटाएका तीनै देउवालाई पुन: प्रधानमन्त्री बनाएका थिए । जतिबेला देउवाले ‘गोर्खाली राजाले न्याय गरे’ भन्ने प्रतिक्रिया समेत दिएका थिए । तर, तीनै देउवालाई राजाले प्रत्यक्ष शासन सत्ता लिन सत्ताबाट च्यूत गराए । भ्रष्टाचारको अभियोग लगाएर शाही आयोग मार्फत देउवालाई थुनाए पनि । सर्वोच्च अदालतले शाही आयोग खारेजी गरेपछि उनी जेलबाट निस्केर निरकुंशताको बिरुद्धको आन्दोलनमा होमिएका थिए ।

पहिलो संविधानसभा चुनाव अघि विभाजित कांग्रेस एक बन्यो । कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला र देउवाले नेतृत्व गरेको कांग्रेस (प्रजातान्त्रिक) बीच एकीकरण भएपछि देउवा वरिष्ठ नेताको रुपमा रहे । पार्टी एक भए पनि भावानात्मक रुपमा एकता भने हुन सकेन/भएको छैन ।

पार्टी एक भए पनि देउवाले पुरानै समूह लिएर पार्टीभित्र शक्ति बढाउने काम गर्दै आए । १२ औं महाधिवेशनमा उनी पार्टी सभापतिबाट पराजित भए । संसदीय दलबाट पनि पराजित भए । तैपनि पार्टीमा आफ्नो समूहलाई तितरवितर हुन दिएनन् ।

सुशील कोइरालाको निधनपछि देउवा पार्टीमा बलियो बन्न पुगेका हुन् । जसको फलस्वरुप १३ औं महाधिवेशनमा उनी पाटी सभापति र लगतै संसदीय दलको नेतामा निर्वाचित भए ।

आलोचकहरु देउवालाई सत्ता राजनीतिमा बढी पोख्त रहेको टिप्पणी गर्छन् । कुनैबेला आमनेसाममने घोषित ‘दुस्मन’ रहेका देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल अहिले भने कुम जोड्न पुगको छन् । यी दुईबीच कतिपय बिषयमा समानता देखिन्छ । जोखिम लिन सक्ने र छिटो निर्णय लिन सक्नेमा यी दुवै नेताबीच समानता छ । दुवै नेता विवादस्पद निर्णयबाट अछुतो भने छैनन् । देउवाका विगत र माओवादी अध्यक्ष दाहालको पहिलेको कार्यकाल यस्तै विवादले घेरिएका थिए ।

देउवा त्रिभूवन विश्वविद्यालयबाट एमए र कानूनमा स्नातक हुन । उनले लन्डल स्कुल अफ इकोनमिक्समा रिसर्च फेलो हुन् । डडेलधुरा र कैलालीको क्षेत्र नं ४ बाट उनी संविधानसभाको दोस्रो निर्वाचनमा निर्वाचित भएका हुन् । उनी ०४८ सालदेखिनै संसदमा निरन्तर प्रतिनिधित्व गर्ने मध्येका नेता हुन् ।

लोकतन्त्रको संघर्षमा लाग्दा नौ बर्ष जेल विताएका देउवालाई प्रधानमन्त्री बन्ने मापनलाई लिने हो भने सफल राजनीतिज्ञ मान्न सकिन्छ । तर, उनको प्रधानमन्त्रीय कार्यकाल भने हिसावले भने विवादस्पद नेता पनि हुन् । विगतका पृष्ठभूमिकै कारण अहिलेपनि उनलाई पार्टीभित्र र बाहिरबाट समेत प्रश्न उठाइन्छ । अहिले उनलाई विगतका छवि सुधार गर्ने सुनौलो अवसर छ । उनी सफल नहुनुका पछि आम मानिसको भावना बुझेर निर्णय नलिने, विज्ञ सल्लाहकार टोली भन्दा आफ्नो आसेपासेलाई राखेर आफ्नो स्वार्थ अनुकूल मात्रै निर्णय लिने उनका मुख्य कमजोरी छन् ।

उनलाई यतिबेला यस्तो अवसर छ कि सरकार र पार्टीमा उनी आफैँ हावी छन् अर्थात विगतमा जस्तो सरकार भर्सेस पार्टीको स्थिति अहिले छैन । नेपाली राजनीतिमा मुख्य शक्ति केन्द्रमा रहेका देउवाले विगतका कमजोरी सुधार गरेर तीनवटै चुनाव गराउन सके भने उनी इतिहासमै सफल प्रधानमन्त्री बन्न सक्छन् । ekantipur

Share.

Leave A Reply