वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित गर्न सवै लागौं

0

प्रेम क्षेत्री, नवलपरासी । नवलपरासी (वर्दघाट सुस्ता पूर्व) का प्रमुख जिल्ला अधिकारी दिपक नेपालले वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित गर्न सवै लाग्नुपर्ने बताउनुभएको छ ।

हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफको आयोजना तथा जिल्ला समन्वय समितिको संयोजनमा कावासोतीमा भएको समन्वायत्मक बैठक तथा पत्रकार सम्मेलनमा उहाँले वढिभन्दा वढि सुचना सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । उहाँले सकेसम्म स्वदेशमा नै केही गर्न आग्रह गर्दै विदेश जानैपर्ने भए सिप र सुचना लिएर मात्र जान अनुरोध गर्नुभएको छ । गैंडाकोट, कावासोती र मध्यविन्दु नगरका नगरप्रमुख, उप प्रमुख एवं प्रमुख प्रशासकिय अधिकृतको सहभागिता रहेको सो कार्यक्रममा नेपालले हरेक स्थानिय तहले भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
सुचनामा पहँुच
कार्यक्रममा स्वागत गर्दै हिकोडेफका कार्यकारी निर्देशक सुरविर स्थापितले सुचना केन्द्र, सामाजिक परिचालन र क्षमता अभिवृद्धि कार्यक्रम मार्फत जिल्लाका ८५ हजार ३ सय ९३ जनालाई प्रत्यक्ष सुचना प्रवाह गरेको बताउनुभयो । उहाँले परियोजना मार्फत सुचना तथा परामर्श सेवा, निःशुल्क सिप तालिम, कानुनी सेवा, मनोसामाजिक परामर्श सेवा, वित्तिय साक्षरता र सामाजिक परिचालन तथा आमसञ्चारका माध्यमबाट कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो ।
सामि जिल्ला परियोजना संयोजक उमाकला शर्माले जिल्लामा २०७० देखी हालसम्म ५८ हजार ७ सय जनाले पासपोर्ट बनाएको जनाउँदै ५७ हजार ३ सय १९ जनाले वैदेशिक रोजगार विभागबाट श्रम स्विकृत लिएको तथ्याङ्क रहेको बताउनुभयो । भारतको बाटो भएर कति गए भन्ने एकिन तथ्याङ्क नभएपनि त्यो नरोकिएको उहाँले बताउनुभयो । खुल्ला सिमानाको दुरुपयोग, गुणस्तरिय तालिमको कमी, अवैधानिक म्यानपावर र एजेन्ट तथा केन्द्रिकृत न्याय तथा सेवा प्रणाली प्रमुख चुनौती रहेको उहाँले बताउनुभयो ।
समस्या नै समस्याका चाङ् (तथ्याङ्क)
जिल्लामा परियोजना शुरु भए पश्चात सुचना केन्द्रमा अप्रिल २०१४ देखी जुन २०१८ सम्म १ हजार ८१ वैदेशिक रोजगार सम्बन्धी समस्या दर्ता भएका छन् । जसमध्ये ८३ जनको मृत्यु भएको उल्लेख छ । सो क्रममा जिल्लामा ६ सय २६ जना ठगीमा परेका छन् । जिल्लाका ५१ जना विभिन्न देशमा जेल परेको पत्रकार सम्मेलनमा जनाईएको छ । ६७ जना सम्पर्कविहिन भएका छन् । केन्द्रमा मेडिकल फेलका ३६, अलेखवद्ध ८७, दुर्घटना, घाईते र विरामी ८४, घरेलु कामदारको समस्या ३०, वढि काममा लगाउने १६ केश दर्ता भएको सुचना केन्द्रका परामर्शदाता रञ्जना लम्सालले जानकारी दिनुभयो । उहाँले प्रहरी, जिल्ला प्रशासनको सहयोगमा ९ करोड ५४ लाख ४४ हजार ५४ रुपैयाँ पिडितलाई क्षतिपुर्ती दिलाउन सफल भएको बताउनुभयो ।
मनोसामाजिक परामर्श सेवा
त्यस्तै २३२ जनालाई मनोसामाजिक परामर्श सेवा प्रदान गरेकोमा १८५ जना सामान्य अवस्थामा आएको मनोसामाजिक परामर्शदात राम बरालले जानकारी दिनुभयो । उहाँले ४ सय १७ जनालाई परिवार व्यवस्थापनका लागि सामुहिक परामर्श दिएको बताउँदै १४ जनालाई आकस्मिक कोषबाट औषधी उपचारका लागि सहयोग प्रदान गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा साउदी अरबमा ब्लड मनि तिरेर जेल जिवनबाट फर्किएका मध्यविन्दुका थानेश्वर भुषाल, १५ वर्ष पछि जग्गा फिर्ता पाएका गैंडाकोटका भक्तबहादुर दर्जी र ४ वर्षपछि विमा वापतको रकम पाएका खेमबहादुर घर्तिका अनुभव प्रस्तुत गरेका थिए ।

वैदेशिक रोजगार विभागका अनुसार नवलपरासी (वर्दघाट सुस्ता पूर्व) वैदेशिक रोजगारीमा वढि जानेमा सातौं जिल्ला अन्तगर्त पर्छ ।
ठगी तथा विकृतीलाई निरुत्साहित पार्न प्रतिवद्धता
पत्रकार सम्मेलन पछिको जिल्ला परियोजना समन्वय समितिको बैठकमा जिल्लाका नगर प्रमुख तथा उपप्रमुखहरुले वैदेशिक रोजगारीका नाममा हुनु ठगी तथा विकृतीलाई निरुत्साहित पार्न सक्रिय रहने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख शारदा विश्वकर्मा, जिल्ला समन्वय समिति अधिकारी विजयराज पौडेल, गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेल, उप प्रमुख विष्णुकुमारी कंडेल, प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद आचार्य, कावासोती नगर प्रमुख चन्द्रा पुन, मध्यविन्दु नगर उप प्रमुख ओमकुमारी महतो, प्रमुख प्रशासकिय अधिकृत शिवराज सेंढाई, आप्रवासी हकहित संरक्षण मञ्चका जिल्ला अध्यक्ष बलबहादुर थापा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम नवलपरासी (वर्दघाट सुस्ता पूर्व) जिल्ला समन्वय समितिका प्रमुख चेसराम आलेको अध्यक्षतामा सम्पन्न भएको हो ।

Share.

Leave A Reply