वैदेशिक यात्राले लुट्यो अमरबहादुरको खुसी, आर्थिक अभावमा रोग पालेर बस्दै

0


प्रेम क्षेत्री
गैंडाकोट । पारिवारलाई खुसी र सुखी बनाउने सपना बोकेर विदेशिएका गैंडाकोट १८ दमारका अमरबहादुर कामीको खुसी यहि वैदेशिक यात्राले लुट्यो ।
२०६८ सालमा वैदेशिक रोजगारीका सिलसिलामा उहाँ युएई पुग्नुभयो । विदेश जाने बेलामा उहाँको मेडिकल जाँच गरिएको थियो । त्यतिवेला उहाँको स्वास्थ राम्रै थियो । विदेश पुगेपछि पनि उहाँको स्वास्थ्य जाँच गरियो । त्यतिवेला पनि उहाँको स्वास्थ्य राम्रै थियो । उहाँको काम र कमाई पनि राम्रै थियो । जोसेफ कम्पनीमा आल्मुनियमको नेम प्लेट वायरिङको काम गर्दै आउनुभएका उहाँको प्रेसर वढ्दै गयो । सोही प्रेसरका कारण उहाँको दुवै मुगौलामा समस्या देखियो ।
२०६८ सालमा वैदेशिक रोजगारीका सिलसिलामा दुवईमा रहँदा देखी नै उहाँको दुवै मृगौलामा समस्या आएको थियो । उहाँले औषधी सेवन गरिरहनुभएको थियो । चिकित्सकले प्लेन पनि नचढ्नु भनेका थिए । कम्पनीले सामान्य उपचार पछि भने घर फर्काईदियो ।
नेपाल फर्किएपछि उहाँ पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका लागि भर्ना हुनुभयो । उपचारमा संलग्न चिकित्सकले दुवै मृगौला काम गर्न नसक्ने अवस्थामा रहेको बताएपछि उहाँ छाँगाबाट खसेजस्तै हुनुभयो । उपचारमा संलग्न चिकित्सकले मृगौला प्रत्यारोपण गर्न सकिने सुझाए । त्यसपछि उहाँले निरन्तर औषधी सेवन गर्दै आउनुभएको छ । ७ वर्ष भयो, मृगौला प्रत्यारोपण गर्न सकिने बताएपनि आर्थिक अभावका कारण उहाँले त्यो आँट गर्न सक्नुभएको छैन ।
सोही रोगका कारण उहाँको पेट फुल्दै गएको छ भने मुटुमा समेत समस्या देखिन थालेको छ । औषधी रोक्ने वित्तिकै पिसाबमा रगत देखा पर्न थाल्छ भने हिंड्डुलमा समस्या छ ।
उपचारका लागि उहाँले गैंडाकोट १८ दमारमा रहेको ४ रोपनी जग्गा समेत बेच्नुभयो । जग्गा बेचेर आएको १० लाख र विदेशबाट ल्याएको ३ लाख गरि करिब १३ लाख खर्च भैसक्यो ।
अब त बाँचिन्न की जस्तो लागेको छ अमरबहादुरलाई । मृगौला प्रत्यारोपणका लागि उहाँकै श्रीमतीले दिने बताएपनि आर्थिक अभावका कारण अल्झिएको छ ।
उपचारका लागि आर्थिक अभाव भएपछि गैंडकोट १८ दमारका ४२ वर्षिया अमरबहादुर कामी आर्थिक सहयोगका लागि याचना गर्दै हिंड्नुभएको छ ।
पछिल्लो २ वर्षदेखी भरतपुर अस्पतालमा हेमोडायलासिस गर्दै आउनुभएका अमरबहादुर सहयोगी मनको पर्खाईमा हुनुहुन्छ । मासीक उहाँको औषधीमा मात्रै ५ देखी ६ हजारसम्म खर्च हुने गरेको छ । हालसम्म कहिकतैबाट सहयोग नपाएको बताउने उहाँ सबैको सहयोगको अपेक्षा गर्नुभएको छ ।
२ छोरा र २ छोरीका बाबु अमरबहादुरलाई बिहान बेलुका के खाउँ भन्ने भईरहेको समयमा यति ठुलो ब्रजपात आईपरेको छ की अब यति कै जिन्दगी सकिने भो भन्ने लागेको छ । सहयोगका लागि हार गुहार गर्दै हिंडेका अमरबहादुरका लागि सहयोग गरिदिनहुन गैंडाकोट नगरपालिका १८ नम्बर वडा कार्यालयले सवैमा आग्रह समेत गरेको छ ।

Share.

Leave A Reply