विहान कर्मकाण्ड, दिउँसो वडाकर्म – उपाध्याय

0

“अन्तर्राष्ट्रिय जगतमा गैँडाकोट ७ लाई चिनाउँछु, त्यसको सुरुवात खेल मैदानबाट हुनेछ ”

करिब १८ सय घरपरिवार, त्यस मध्ये पनि ५ सय घरपरिवार सुकुम्बासी, सुकुम्बासीका समस्या, अपेक्षा, आशा र भरोसा साथमा सम्पूर्ण वडालाई नमुना बनाउने उद्देश्य लिएर निर्वाचित गैँडाकोट ७ का वडा अध्यक्ष चोलानाथ उपाध्यायले आफ्नो वडा अन्तर्राष्ट्रिय जगतमा चिनाउने योजनामा हुनुहुन्छ । उपाध्यायले गैँडाकोट ७ मा अन्तर्राष्ट्रिय स्तरको खेलमैदान बनाउने दीर्घकालिन योजना बनाउनुभएको छ । खेलमैदानले जगतमा चिनाउने र पर्यटनको प्रवर्धन हुने उपाध्यायको आशा छ । धार्मिक शास्त्रहरुमा रुचि राख्ने र कर्मकाण्ड गर्न पनि अभ्यस्त उपाध्यायले आफ्नो वडालाई धर्म, नैतिकता, सुशासन, मर्यादा र विकासको रामराज्य बनाउने अठोट लिनुभएको छ । सपना योजना विना अधुरै रहन्छन्, सपना पूरा गर्न तपस्या र साधनाको निरन्तरता चाहिन्छ । उपाध्यायले आफ्ना सपना पूरा गर्न कस्ता योजना बनाउनुभएको छ । आफ्नो वडाको विकासका लागि कस्ता कस्ता योजनाका लागि के कति बजेट छुट्याउनुभएको छ । यसै सन्दर्भमा वडा अध्यक्ष चोलानाथ उपाध्यायसंग गरिएको कुराकानीको सम्पादित अंश

 

हिजो आज यहाँको व्यस्तता के मा छ ?
नगरपालिकाको कामको व्यस्तता छँदै छ । अब अहिले सोह्र श्राद्ध पनि चलिरहेको हुनाले विहान बेलुकी कर्मकाण्डमा पनि व्यस्त हुन्छु । विहान कर्मकाण्ड दिउँसो वडा कर्म, अर्थात वडा बासीका काममा व्यस्त हुने गरेको छु । ४० वर्ष देखिनै कर्मकाण्ड गर्दै आएको हुनाले पनि अहिले पनि ती काम पनि गर्नै प¥यो । वडाबासीको कामलाई पहिलो प्राथमिकता दिने गरेको छु ।
वडाबासीका कर्महरुलाई पनि आफ्नै कर्म ठानेर काम गरिरहनुभएको छ कस्तो लाग्छ ?

जनताको आशाले जनप्रतिनिधि भएपछि जनताको काम गर्न पाउनु निकै खुशि लाग्छ । ४२ वर्षसम्मको राजनीतिक संघर्षलाई केही निचोड दिनु थियो । त्यही भएर पनि जनप्रतिनिधि हुने मन लाग्यो । अब वडाबासीको काममा ईश्वर देख्दछु ।
गैँडाकोट ७ लाई कस्तो बनाउने सपना देख्नुभएको छ ?
मेरो सपना के हो भने अन्तर्राष्ट्रिय खेल मैदान बनाउने इच्छा छ । यो खेल मैदान भयो भने सबै माझ हाम्रो वडा चिनिनेछ । यो दीर्घकालिन योजना हो । मेरो कार्यकालमा पूरा हुन नसक्ला तर मेरो कार्यकालमा सुरुवात भने पक्कै हुने छ । अन्तर्राष्ट्रिय जगतमा गैँडाकोट ७ लाई चिनाउँछु, त्यसको सुरुवात खेल मैदानबाट हुनेछ । गैँडाकोट ७ लाई सुशासन, धर्म, नैतिकता, मर्यादा, न्याय र विकासको रामराज्य बनाउँछु । सुशासन र विकासलाई साथ साथमा लिएर अघि बढ्ने सोच बनाएको छु ।
वडालाई सुन्दर बनाउने सोचमा चुनौती के छन् ?
वडाबासीका सपना धेरै छन् । धेरै वर्षदेखि विकास निर्माणको कामले त्यति प्राथमिकता पाएको थिएन । स्रोत साधन कम छन् । कसरी स्रोत जुटाउने भन्ने कुरा चुनौती हुन् । सामान्य चुनौतीका सन्दर्भमा ढलनिकास छैन यो बनाउन पनि दीर्घकालिन योजनामा जानुपर्ने चुनौती पनि देखेको छु । चुनौती भन्दा पनि स्रोत साधनको अभावमा समय धेरै लाग्ने छ ।

 

वडाको विकासका लागि ४३ लाख मध्ये कुन कुन बाटोमा कति कति छर्नुभएको छ ?
कालिका मार्गमा ६ लाख रुपैंया विनियोजन गरेको छु । पिपलटारको मार्गमा ५ लाख रुपैँया, हरिहर मन्दिर देखि पूर्वपश्चिम राजमार्गसम्म निस्कने बाटोका लागि रु सात लाख रुपैयाँ, पिपलचोक देखि सुकुम्बासीको चौतारासम्म तीन लाख रुपैँया, चौतारादेखि शक्तिटोलसम्म तीन लाख रुपैँया यसैगरि छरिएको छ । पाँचलाख जति बाँकी छ विभिन्न बाटोघाटो, विकास निर्माणमका काममा पछि नपुगेको खण्डमा थप गर्नुपर्ने भएकाले छुट्याएको छ । सुकुम्बासी टोलका स्थानीयले कहिल्यै सुख पाइएन, हाम्रो टोलमा विकास भएन, बाटो बनेन भन्ने उहाँहरुको गुनासो सुनिसकेपछि त्यहाँको १ नम्बर मार्गलाई सात लाख रुपैँया छुट्याएको छ । यो बाटोलाई पूर्णता दिन मेरो अनुमानमा तीस लाख रुपँया जति लाग्छ । अहिले प्रारम्भ मात्र हुने देखिन्छ । सबै बाटोहरु एकसाथ पूर्णता दिन त सकिदैन । मेरा वडाबासीहरुले स्रोत साधनलाई बुझ्नुभएको छ । तरपनि वर्षमा एकदुई बाटोलाई पूर्णता दिने सोचमा रहेका छौँ ।
वडाभेलाले करिब १४ बाटाहरुलाई प्राथमिकतामा राख्नुभएको थियो, अहिले सबै बाटोमा बजेट परेको छैन, बाँकी कुन त्यस्ता बाटा छन्, जुन आगामी वर्ष पहिलो प्राथमिकतामा राख्नुपर्ने हुन्छ ?
नबनाइ नहुने बाटोको रुपमा अहिले अन्तर्राष्टिय भनेर नामाकरण गरिएको बाटो छ । यो बाटो पीस पार्क टोलविकास भित्र पर्दछ । यसको लागि पनि अहिले केही गर्न सकिएन । तर आगामी वर्ष यसलाई पीच गर्नुपर्ने छ । यसैगरी पीस पार्कबाट दक्षिणतर्फ अन्तर्राष्टिय मार्गमा जोडिने बाटोलाई पनि यस वर्ष प्राथमिकतामा राख्न सकिएन अर्को वर्ष पक्केै पनि प्राथमिकतामा राखीने छ । यसैगरी सुकुम्बासी टोलको चौँथो बाटोमा ग्राभेलका लागि १ लाख रुपैँया छुट्याइएको छ । पीपल चोकदेखिको पुरानै ग्राभेल गरेको बाटो छ कालिका मार्गसम्म आउने बाटो, यसको पनि स्तरोन्नती गर्नुपर्ने देखिएको छ ।
नदी तथा खोलको तटबन्धन यहाँको वडाको समस्याका रुपमा रहेको छ ? यसका लागि के पहल गर्न सकिन्छ ?
राम्रो कुरा गर्नुभयो । कहिले नारायणी नदिले, कहिले जयश्री खोलाले मेरा वडाबासीको जग्गामा कटान गरिरहेको छ । सताइरहेको छ । नारायणीको तटबन्धन सानो योजनाले हुने कुरा पनि रहेन । यसका लागि ठूलै योजना चाहिन्छ । अब हामीले गर्ने भनेको पहल नै हो । यसकष्लाग िगैँडाकोट नगरपालिकामा पहल गरिरहेको छु । नगरले तटबन्धनका लागि केही गर्न सक्छ की भनेर छलफल भएको छ, वाड नं. १ देखि नारायणी नदिले छुने १६ नम्बरसम्म तटबन्धनका लागि नगरबाटै योजना बनाउने गरी छलफल भइरहेको छ । नारायणी तटबन्धन भन्दा पनि मेरो वडामा सकुम्बासीको समस्या रहेको छ । बास छैन, गास छैन, गास नभएपनि बासका लागि केही व्यवस्था भए सहज हुन्थ्यो, जग्गाको लालपूर्जा भइदिए सहज हुन्थ्यो भनेर उहाँहरुले गुनासो गर्नुहुन्छ । मेरो वडामा ५ सय सुकुम्बासी घरपरिवार रहेका छन् । कूल १८ सय जति घरपरिवार मेरो वडामा रहेका छन् ।
खानेपानी र सिंचाइको समस्या के छ ?
विजय नगर खानेपानी उपभोक्ता संस्थाको पनि काम सम्पन्न भएको छैन । कुनै ठाउँमा खानेपानी छैन । आफ्ै घरमा निकालिएको पानीको प्रयोग गरिन्छ । यस्तै कृषि बोरिङको अवधारण राखेर दुई वर्षमा दुई वटा राख्ने सोचमा छौँ । यसले २० विगाह क्षेत्रफलमा लाभ दिन सक्ने छ । खेतीपातीका लागि पनि सहज हुने छ। कृषि उत्पादन क्षेत्रको रुपमा समेत चिनिएको वाड नं. ७ मा कृषिका लागि पनि योजना अघि बढाएका छौँ । नगरको कार्यक्रम अन्तर्गत पनि सहयोग रहने विश्वास लिएको छु ।
नगरको बसाई कस्तो लागिरहेको छ ?
नयाँ संविधान, नयाँ विधि, नयाँ कार्यप्रणाली रहेको छ । त्यसकारण पनि नगरको बसाई सिकाई प्रक्रियाकालागि सहज भएको छ । तर कर्मचारी भएको खण्डमा वडाबाटै सेवा दिन सकिन्छ । वडा बासी पनि वडाबाटै कार्य होस् भन्ने अपेक्षा राखिरहनुभएको छ ।
हवस्त धन्यवाद,
धन्यवाद विजय एफ एम, विजय खबर पत्रिकालाई वडाका काम, योजना, समस्या निराकरणका लागि आफ्ना कुरा राख्ने अवसर दिनुभयो । यसका लागि धेरै धेरै धन्यवाद फेरी पनि ।

Share.

Leave A Reply