विश्वव्यापी मान्यता कार्यान्वयन गर्नुपर्नेमा जोड

0

काठमाडौँ, ७ फागुन । मानवअधिकारकर्मीले लोकतन्त्रको विश्वव्यापी मान्यतालाई नेपालले व्यावहारिक रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

युवाको क्षमता विकास गर्ने उद्देश्यले भिएसओ र साडेड नेपालसँगको सहकार्य तथा युथ एड्भोकेसी नेपालले आयोजना गरेको युथ डेमोक्रेसी क्याम्प समापन कार्यक्रममा मानवअधिकारकर्मीले नेपाली लोकतन्त्रमा देखिएका चुनौतीलाई सम्बोधन गर्न युवाले आफ्नो सोचलाई फराकिलो बनाउँदै राजनीतिमा सशक्त हस्तक्षेप गर्नुपर्ने बताउनुभयो ।

प्रा कृष्णप्रसाद खनालले संविधान जारी भइसकेको सन्दर्भमा त्यसको प्रभावकारी कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन सरकार र राजनीतिक दलसँग आग्रह गर्नुभयो । डा उद्धव प्याकुरेलले लोकतन्त्रको विकासका समानतामा आधारित सामाजिक न्यायसहितको समाज निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
राजनीतिक विश्लेषक केशव दाहालले प्रतिनिधिमूलक लोकतन्त्र र समाजवादी लोकतन्त्रले नेपाली जनताका चाहनालाई सम्बोधन गर्न नसक्ने भएकाले नेपालले सहभागिता मुलुक लोकतन्त्रको अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

तीन दिनसम्म सञ्चालन गरिएको शिविरमा मानवअधिकारकर्मी टङ्क अर्याल, नरेन खतिवडा, सुरन महर्जन, सुधीर भट्टराई, बद्री शिवाकोटी लगायतले मानवअधिकार, सुशासन, स्वयंसेवाको विषयमा सहजीकरण गर्नुभएको थियो । सो क्याम्पमा २५ युवाको सहभागिता थियो ।

युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले राज्यले बेरोजगार युवालाई रोजगारीको सुनिश्चितता गर्नुपर्ने नभए रोजगारी भत्ताको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । नेपालमा रहेको कूल जनसङ्ख्याको ४०।३५ प्रतिशत युवालाई स्वयंसेवा गर्न सक्ने वातावरण राज्यले बनाउनुपर्ने अधिकारकर्मी सुरन महर्जनको भनाइ थियो ।-रासस

Share.

Leave A Reply