विश्वविद्यालय गैंडाकोटवासी र विद्वान्सँगको परामर्शमा बन्छ ः डा. ढकाल

0

डा. प्रमोद ढकाल , संयोजक , नेपाल विश्वविद्यालय स्थापना तयारी समिति, गैँडाकोट

प्रधानमन्त्रीको भेटमा के कुरा भयो ?
प्रधानमन्त्रीज्यूले, विश्वविद्यालय धेरै भएपनि द्रुत गतिमा एउटा उच्चस्तरको जनशक्ति उत्पादन गर्ने विश्वविद्यालय बनाउन खोजेको बताउनुभयो । म हतारमा छु र त्यो गैंडाकोटमा सम्भव छ र ? भन्ने खालको कुरा राख्नुभएको थियो । हामीले पनि त्यो सम्भव छ र सोही अनुसारको तयारी स्वरुप हामी पनि अघि बढेका छौं भन्ने कुरा राख्यौं । उहाँ छिटो परिणाम ल्याउने गरी अति विशिष्टीकृत विश्वविद्यालय बनाउन इच्छुक हुनुहुन्छ ।
त्यो द्रुतगतिमा भनेको समयावधि कति हो ?
मलाई उहाँको आशय हेर्दाखेरी, उहाँको यो कार्यकालभित्र यो विश्वविद्यालयले कुनै प्रभाव छोडेको वा बनेको देख्न चाहने प्रकारको अभिव्यक्ति लागेको थियो ।

 

प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्र, ब्रोसर, प्रेस विज्ञप्तिहरुमा गैंडाकोट भनेपनि गैंडाकोटको कुन स्थान तोक्नुभएको छैन । किन ?
त्यो हामीले जानाजान स्थान नतोकेको हो । किनभने हामीले समग्र गैंडाकोटको योजनाबद्ध विकास गर्ने सोचमा छौं । बौद्धिक अर्थतन्त्र निर्माणका लागि विश्वका विद्वान्हरुलाई पनि लगाएर गैंडाकोटका जनताहरु पनि मिलेर योजनाबद्ध रुपमा अघि बढ्न खोजेका छौं । त्यो १ सय वर्ग किलोमिटरमध्ये ८ वर्ग किलोमिटरभित्र हामीले आर्थिक गतिविधि गर्दै त्यहाँको वस्तीको विकास गर्ने योजनामा छौं । बाँकीमा ज्ञानजन्य संस्थाहरुको विकास गर्ने र त्यसमध्ये १० वर्ग किलोमिटरभित्र नेपाल सरकारसँग मिलेर बनाउन लागेको विश्वविद्यालयलाई व्यवस्थित गर्दै लैजाने भन्ने छ ।
यो क्षेत्रफल यति चाहिन्छ भन्ने अनुमान भयो । यसअघि गैंडाकोट १८ मा सम्भाव्यता अध्ययन गर्नुभएको थियो गैंडाकोटको कुन स्थानमा रहन्छ ?
गैंडाकोटको समथर क्षेत्रमा आर्थिक गतिविधिसँगै वस्ती विकास गर्ने हाम्रो सोच हो । किनभने त्यहाँ पानी आदी इत्यादि सबै कुरा पु¥याउन सहज हुन्छ किनकि त्यो तल हुन्छ । त्यसभन्दा उच्च तहमा हामीले ज्ञानजन्य गतिविधि सञ्चालन गर्ने सोच हो ।
ठ्याक्कै गैंडाकोटको कुन स्थानमा रहन्छ ?
त्यो गैंडाकोट र मुकुन्दपुरको बीचमा पूर्वपश्चिम राजमार्गमा जोडिएको जमिनदेखि छेउछाउमा जाने परिकल्पना हो हाम्रो ।
गैंडाकोट १८ मा बिजुली, बाटोको समस्या छ । अब के त्यहाँ स्थानमा सम्भव छैन ?
होइन त्यहाँ पनि सम्भावना छ । हामीले एकदमै सम्भावना देखेर नै गर्न खोजेका हौँ । बिजुली, बाटो नभएका स्थानमा पु¥याउने हो ।
तपाईंहरुले जुन क्षेत्रलाई लक्षित गरेर प्रक्रियाहरु अगाडि बढाइरहनुभएको छ त्यो कुन स्थानमा रहन्छ गैंडाकोटको ?  
त्यो चाहिँ अहिले नै हामीले यो स्थानमा बन्छ भनेर भन्नुभन्दा पनि हामी सबै मिलेर अघि वढ्ने छौं । हामीले स्थानीय जनतासँग पनि परामर्श गछौं । फेरी विश्वका विद्वान्हरुसँग पनि छलफल गरेर बल्ल हामी निचोडमा पुग्ने छौं । सबैसँगको मन्थनबाट निस्केको सबैभन्दा राम्रो निचोडबाट हामी अघि बढ्ने छौं । पहिले नै हार्ड एन्ड फास्ट गरेर बनाउने हाम्रो विचार होइन ।

Share.

Leave A Reply