विश्वकप २०१८ का १२ रंगशाला

0


फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप फुटबल विहीबारदेखि शुरु भएको छ । संसारभरका फुटबल प्रेमीहरू यहि जुन १४ तारिखदेखि शुरु हुने फुटबलको यो कुम्भमेलालाई स्वागत गर्न प्रतीक्षा गरिरहेका छन् । छनोट खेलबाट छानिएका ३२ देशका राष्ट्रिय टोलीबीच हुने प्रतियोगिताले एक महिनासम्म विश्व खेल जगतलाई आफूतिर आकर्षित गर्नेछ ।

रुसले पहिलोपटक आयोजना गर्ने विश्वकप जुलाई १५ तारिखसम्म चल्नेछ । रुसका ११ शहरका १२ वटा रंगशालामा यो प्रतियोगिता खेलाइनेछ ।

ती १२ वटा रंगशाला निर्माणका लागि करिब १० बिलियन अमेरिकी डलर बराबरको रकम खर्च भएको रुसले जनाएको छ ।

यस्ता छन् विश्वकप फुटवल खेल हुने रंगशालाहरु

लुज्निकी स्टेडियम

लुज्निकी स्टेडियम रुसको राजधानी मस्कोमा छ । यहाँ विश्वकपको उद्घाटन र समापन हुनेछ । यो युरोपकै सबैभन्दा ठूलोमध्येको एक रंगशाला हो । यो मोस्कभा नदीको छेउमा पर्छ । दर्शकले रंगशाला जाने मार्गमा विश्व चर्चित कम्युनिस्ट नेता लेनिनको ठूलो कदको मूर्तिसमेत देख्नेछन् । पुनर्निर्माण गरिएपछि यो रंगशालाले ‘स्टेडियम अफ दि इयर २०१७’ को सम्मान पनि पाएको थियो । ४ करोड अमेरिकी डलर निर्माण खर्च रहेको यो रंगशालामा ८० हजार दर्शक अटाउन सक्छन् ।

कजान एरेना अर्थात कम्युनिस्ट एरा सेन्ट्रल स्टेडियम

कजानलाई रुसको खेलकुद राजधानी मानिन्छ । पछिल्ला बर्षहरुमा कजान एरेनाले आधुनिक, कलात्मक र महँगो खेल सुविधा सम्पन्नस्थलका रूपमा आफुलाई स्थापित गरेको छ । २०१३ मा निर्मित यो रंगशाला इंग्ल्यान्डको वेम्ब्ली र इमिरेट्स रंगशालाको ढाँचामा निर्माण गरिएको छ । कजानका नदीको छेउमा रहेको यो रंगशालामा ४५ हजार ३ सय ७९ सिट क्षमता छ । यो रंगशाला वाटर लिलीको आकारमा अमेरिकी कम्पनी पोपुलोसले निर्माण गरेको हो । जसको लागत झण्डै ४४ करोड अमेरिकी डलर थियो ।

निज्नी नोभ्गोरोड स्टेडियम

गोलो आकारको निज्नी नोभोगोरोड रंगशाला स्टर्लकामा रहेको छ । दुईवटा नदीको छेउमा रहेकाले यो रंगशाला प्राकृतिक सुन्दरताले मनमोहक छ । २९ करोड अमेरिकी डलर लागत रहेको यो रंगशालामा ४४ हजार ८ सय ९९ दर्शक अटाउन सक्छन् ।

फिस्ट ओलम्पिक स्टेडियम

फिस्ट ओलम्पिक रंगशालाको आकार अण्डाको जस्तो छ । रंगशालानजिकै रहेको फिस्ट माउन्टेनको नामबाट यो रंगशालाको नाम फिस्ट ओलम्पिक स्टेडियम राखिएको हो । झण्डै ५२ करोड अमेरिकी डलर निर्माण लागत रहेको यो रंगशाला ४७ हजार ६ सय ५९ दर्शक क्षमता रहेको छ ।

सेन्ट पिटर्सबर्ग स्टेडियम

रुसका सुन्दर मध्येको एक शहर सेण्ट पिटर्सबर्गमा रहेको यो रंगशालालाई क्रेस्टभेस्की स्टेडियम भनेर पनि चिनिन्छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनको गृहनगरमा रहेको यो रंगशालामा ६४ हजार २ सय ८७ दर्शक अटाउन सक्छन् । यो रंगशालाको निर्माण लागत १ बिलियन अमेरिकी डलर लगानी रहेको यो रंगशाला विश्वकै महँगा रंगशालामध्येको एक हो । यो रंगशालाबाट पिनल्याण्डको खाडी अवलोकन गर्न सकिन्छ ।

इकाटेरिनबर्ग एरिना

लुज्निकी स्टेडियमभन्दा झण्डै १ हजार माइल टाढा छ, इकाटेरिनबर्ग एरेना । यो इकाटेरिनबर्ग शहरमा अवस्थित पुरानो तथा केन्द्रीय रंगशाला हो । सन् १९५७ मा बनेको यो सोभियत युनियनकालीन रंगशालाको पुनर्निर्माण गर्न २१ करोड ५० लाख अमेरिकी डलर लागेको थियो । सन् १९५९ मा भएको विश्व अलअराउण्ड स्पिड स्केटिङ च्याम्पियनसिपको आयोजना यहि रंगशालामा गरिएको थियो । पुनर्निर्माण अघि झण्डै २३ हजार दर्शक क्षमता रहेको यस रंगशालालाई अहिले ३५ हजार ६ सय ९६ सिट क्षमताको बनाइएको छ ।

कालिनिन्ग्राड स्टेडियम

यो रंगशाला पश्चिममा पोल्यान्ड र पूर्वमा लिथुआनियाको भू–भागले घेरिएको छ । यो क्षेत्रको पूर्वतिर मुख्य शहर अवस्थित छ । पुनर्निर्माणपछि २५ हजारबाट ३५ हजार २ सय १२ सिट क्षमता बढाइएको यो रंगशालाको लागत खर्च ३० करोड अमेरिकी डलर बराबर छ ।

स्पार्टक स्टेडियम

स्पार्टक रंगशाला ओटक्रिएटिए एरेनाका नामले समेत चर्चित छ । यो रंगशाला सन् २००० अघिसम्म जर्जर अवस्थामा पुगिसकेको थियो । ४३ करोड अमेरिकी डलर बराबरको लागतमा सन २०१४ सम्म यो आधुनिकीकरण भएको थियो । यो रंगशालाको अघिल्तिर थ्रेसियन तरवारबाज स्पार्टकसको ठूलो कदको मूर्ति कुँदिएको छ ।

रोस्टोभ एरिना

डोन नदीको किनारमा रहेको यो रंगशाला सन् २०१४ मा निर्माण गरिएको हो । बगिरहेको नदीको आकृतिमा निर्माण गरिएको यसको छतले सबैको ध्यान तान्ने छ । यहाँबाट दक्षिण पश्चिममा रहेको रुसको ठूलो शहर सजिलै देख्न सकिन्छ । ४५ हजार १ सय ४५ जना दर्शक अट्ने यस रंगशाला निर्माण गर्न ३३ करोड अमेरिकी डलर लागेको थियो ।

समारा एरिना

भोल्गा नदीको किनारमा रहेको यस रंगशालालाई कसमस एरेनाको नामबाट समेत सम्बोधन गरिन्छ । समारा तत्कालीन सोभियत संघको अन्तरिक्ष अभियानको उद्गमस्थल पनि हो । तुलानात्मक रूपमा अन्य स्थानमा भन्दा यहाँ रंगशाला निर्माण असहज बनेको थियो । यसपटकको विश्वकपका लागि ढिलो निर्माण भएका रंगशाला मध्ये यो पनि एक हो । जसको निर्माण यसै वर्ष मात्र सकिएको हो । ४४ हजार ८ सय ७ सिट क्षमता रहेको यो रंगशालाको कुल निर्माण लागत ३२ करोड अमेरिकी डलर हो ।

मोर्डाेभिया एरिना

विश्वकप आयोजना हुने शहरमध्येकै सानो शहर सारनस्कमा रहेको यो रंगशाला सन् २०१० मा निर्माण थालिएको र यसै बर्षमात्र निर्माण सम्पन्न भएको रंगशाला हो । इन्सार नदीको छेउमा अवस्थित ओभल आकार रहेको ५ तले यो रंगशालाको बेसमेन्ट दुई तला छ । ४४ हजार ४ सय ४२ दर्शक सिट क्षमता रहेको यो रंगशालाको निर्माण लागत ३० करोड अमेरिकी डलर छ ।

भोल्गोग्राड एरिना

यो रंगशाला रुसको भोल्गोग्राड शहरमा छ । जुन शहर रुसको कम विकसित शहर मध्येमा पर्दछ । सन् १९५८ मा नै निर्माण गरिएको यस रंगशालाको पुनर्निर्माण यसै वर्ष गरिएको हो । यो रंगशाला पुनर्निर्माण गर्ने क्रममा स्टालिनग्राडको युद्धताका विस्फोट नभएका बमहरू पनि भेटिएको थियो । ५५ हजार ६८ सिट क्षमताको यो रंगशालाको कुल लागत २८ करोड अमेरिकी डलर बराबर छ ।

Share.

Leave A Reply