विश्वकप फुटबलको भब्य उदघाटन

0


काठमाडौं । विश्व फुटबलको कुम्भमेला रसियामा सुरु भएको छ । राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा भब्य उदघाटन समारोह सम्पन्न भएको छ ।

उदघाटन समारोहमा स्थानीय साँस्कृतिक झल्किने नृत्य तथा प्रदर्शन भएको छ । ब्रिटेनका गायक रोबी विलियम्सले गीत गाए । उनलाई रसियाकी गायिका सोप्रानो अइडा गारिफुलिनाले साथ दिइन् ।

ब्राजिलका चर्चित खेलाडी रोनाल्डो पनि उपस्थित थिए । इकर कासियासले विश्वकप ट्रफी सार्वजनिक गरेका थिए । ३२ खेलको सहभागिता रहेको विश्वकपका खेल १२ वटा रंगशालामा हुनेछ ।

यसपटकका दावेदार

हुन त विश्वकपका लागि छानिएका सबै ३२ देश नै उपाधिका दावेदार छन् । छनौटमा उत्कृष्ट प्रदर्शन गरेकैले उनिहरु विश्वकपसम्मको यात्रामा आएका हुन । तर विगतको प्रदर्शन, चर्चित खेलाडी र फिफाको बरियताका आधारमा केहि देशलाई मात्र विश्वकपका दावेदारका रुपमा लिइएको छ ।

गएको संस्करणको विजेता जर्मनी पछिल्ला चार विश्वकपमा लगातार सेमिफाइनलसम्म पुगेको छ ।

जर्मनी युरोपको त्यस्तो एक मात्र टिम हो जसले छनौट चरणमका सबै खेल जित्दै रुस यात्रा गर्न सफल भएको हो । १९६२ पछाडी कुनै पनि देशले लगातार २ पटक विश्वकपको उपाधी जितेका छैनन् । यसअघि सन् १९५८ र ६२ को विश्वकपको उपाधि लगातार ब्राजिलले जितेको थियो ।

अहिलेसम्मका सबै विश्वकप खेल्ने एक मात्र देश ब्राजिल पनि यो विश्वकपको उपाधि दावेदार देश हो । तर पाँचपल्ट विश्वविजेता बनेको ब्राजिलले सन् २००२ यता उपाधि जित्न सकेको छैन ।

स्पेनको टिम निकै बलियो मानिएको छ । त्यसमा च्याम्पियन्स लिग विजेता रियल मड्रिड र क्लब फुटबलमा महारथी मानिने बार्सिलोनाका धेरै खेलाडी रहेका छन् । उनीहरुले यो पटक आफूहरुको पुरानो साख फर्काउने आश गरिएको छ । उसले ८ वर्षअघि २०१० मा विश्वकपको उपाधि जितेको थियो र सन् २००८ तथा २०१२ मा युरोकपको उपाधि उचालेको थियो ।

यस्तै क्रिष्टियानो रोनाल्डोले पहिलो विश्वकप जित्ने सपना सजाएका छन । दुई वर्षअघि पोर्चुगलले युरोकपको उपाधि उचालेको थियो । अहिले रोनाल्डोको नेतृत्वमा पोर्चुगल विश्वकप सपनासहित रुस पुगेको छ ।

यस्तै लियोनल मेस्सी पनि अर्जेन्टिनाबाट पहिलो मुख्य उपाधि उचाल्ने लक्ष्यमा छन् ।

क्लब फुटबलमा सफल मानिए पनि मेस्सीले आफ्नो देशलाई विश्वकपको उपाधि जिताउन सकेका छैनन् । अर्जेन्टिनाले सन् १९७८ र ८६ मा गरी दुई पटक विश्वकपको उपाधि उचालेको छ भने १९३०, १९९० र २०१४ को विश्वकपमा उपविजेता बनेको थियो ।

पउल पोग्बा, एन्टोनी ग्रिजम्यान, ओलिभर जिरउड, ह्युग लोरिस, केलियन एमबाप्पेसहितका खेलाडी भएको फ्रान्सको टोलीमा पनि निकै उर्जा छ ।

उ दुई वर्षअघि युरोकपमा घरेलु मैदानमा बेहोरेको फाइनल हारलाई भुलेर त्यो भन्दा ठूलो उपाधि उचाल्ने दाउमा छ । यस्तै बेल्जियम, इंल्याण्ड,स्विट्जरल्याण्ड, नाइजेरिया लगायतका देश पनि उत्तिकै सशक्त छन् ।

जे होस आजेदेखि सुरु भएको विश्वकपले ३२ दिनसम्म विश्वभर तरंग फैलाउने छ । तपाईँ पनि आफूलाई मन पर्ने टिमलाई अनुशासित ढंगले समर्थन गर्न सक्नुहुन्छ, ४ बर्षमा एकपटक आउने विश्वकप फुटवलको मज्जा लिन भने नछुटाउनुहोस है ।

Share.

Leave A Reply