विपीको सपना सम्झदै कोइरालाले भने – पाँच वर्ष दिनुस्, नवलपुर समृद्ध बन्छ, विद्यार्थीलाई १५ सय मासिक भत्ता उपलब्ध हुन्छ

0


नवलपुर, १ मंसिर । नवलपुर क्षेत्र नं. १ का प्रतिनिधि सभाका उम्मेदवार तथा काँग्रेस महामन्त्री कोइरालाको चुनावी अभियान तातेको छ । शुक्रबार गैडाकोट र कावासोतीमा भएको चुनावी कार्यक्रममा विपीको सपना सम्झदै कोइरालाले पाँच वर्षमा नवलपुरका सबैलाई कम्तीमा मध्यम स्तरको बनाउने बताउनुभयो । कोइरालाले यसका लागि नेपाली काँग्रेसलाई विजयी गराउन आग्रह गर्नुभयो । देशभर काँग्रेसको विजयले सरकारको स्थायित्व र समृद्धिको अभियान पुरा हुने कोइरालाको भनाई छ । नवलपुर क्षेत्रमा बिपी अन्तर्राष्टिय रंगशाला र प्रादेशीक संरचना अनुसार निर्वाचन पछिको ६ महिनामा सुकुम्बासी आयोग गठन गरी समस्या समाधान गर्न पहल गर्ने बताउनुभयो । यस्तै बेरोजगारी समस्या समाधान गर्ने र नवलपुरको हाइवेमा दुर्घटना बढेका कारण ट्रमा सेन्टर अस्पताल निर्माण गर्ने कोइरालाले बताउनुभयो । नेपाली काँग्रेसको बहुमत सरकार बने प्राथमिक तहका विद्यार्थीका लागि १५ सय मासिक छात्रवृत्ति भत्ता उपलब्ध गराउने बताउनुभयो ।
आगामी मंसिर २१ गते हुने प्रदेश सभा निर्वाचनको लागि नेपाली काँग्रेस क्षेत्र नम्बर १ क का प्रदेश सभा सदस्यका उम्मेद्धार कृष्ण चन्द्र नेपालीले नवलपुर पर्यटनको सम्भावना भएको र त्यसका लागि योजनागत रुपमा काम अघि बढाउने बताउनुभयो । नवलपुर क्षेत्रको समथर भूभाग कृषिका लागि, पहाडी भाग पर्यटनको लागि र नारायणी नदि धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताउनुभयो । गैँडाकोट वडा नं. १ र १४ मा भएका चुनावी अभियानमा कृष्ण चन्द्र नेपालीले काँग्रेसको समृद्धिको अभियान नवलपुर क्षेत्रबाटै सुरु हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । यहाँको सम्भावनाको खोजी गरी बेरोजगारी समस्या हल गर्न प्रयास गर्ने बताउनुभएको छ ।
गैँडाकोट वाड नं. १ को पार्टी सम्पर्क कार्यालयको स्थापना कार्यक्रममा नेपाली काँग्रेसका समानुपातिक तर्फको उम्मेदवार तिलक प्रसाद सापकोटा, सत्यनारायण खनाल, बालकृष्ण बकावल, ओमकला गौतम, धनबहादुर मास्की मगर लगायतले सिंगोे नवलपुरलाई नमुना जिल्ला बनाउदै प्रादेशिक राजधानी पोखरा सँग जोडेर यस जिल्लालाई समृद्ध बनाउने अभियान को नेतृत्व काँग्रे्रेसले अबको निर्वाचन पछि गर्ने बताएका छन् ।

Share.

Leave A Reply