विधेयक परिमार्जनसहित समितिबाट पारित

0

काठमाडौँ, २० माघ ः

सङ्घीय संसद्अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले संविधान अनुकूल बनाइएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ परिमार्जनसहित पारित गरेको छ ।

समितिको सिंहदरबारमा आज बसेको बैठकले संविधान अनुकूलका कानून निर्माण गर्न बनेको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ परिमार्जनसहित पारित गरेको समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो ।

समितिले नेपालको संविधान अनुकूल बनाउनुपर्ने कानून तत्काल संशोधन गर्नुपर्ने विषयमा निकै अगाडिदेखि छलफल गरेको थियो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संविधानमा भएको व्यवस्थाअनुसार सङ्घीयता अनुकूल बनाउनुपर्ने कानून संशोधन गर्न ढिलाइ भइरहेको हुँदा जतिसक्दो छिटो संशोधन गर्नुपर्ने बताउनुभएको थियो ।

समितिले कानून बनाउनुपर्ने मन्त्रालयको मन्त्री तथा सचिवलाई बेलाएर यसअघि छलफल गरेको थियो । शिक्षा ऐन, विदेशी विनिमय ऐन, स्थानीय प्रशासन ऐन, बोनस ऐन, जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता ऐन, नेपाल विद्युत् प्राधिकरण ऐनसम्बन्धी विधेयकमा संशोधन प्रस्ताव राखिएको थियो ।

त्यसैगरी, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोगलगायत अन्य आयोगसम्बन्धी ऐनमा विद्यमान संविधान प्रतिकूलका प्रावधान संशोधन गर्नेलगायतका ऐनलाई सङ्घीयता अनुकूल बनाउने विधेयकमा व्यवस्था गरिएको थियो ।

Share.

Leave A Reply