विद्यालयकी एक्ली शिक्षिका

0

 

माया कंडेल
गैंडाकोट । शैक्षिक सत्र २०७६ शुरु भएको छ । विद्यालयमा भर्ना अभियान चलिरहेका छन् । पठन पाठन प्रक्रिया पनि सुरु भइसकेको छ । विद्यार्थीहरुलाई विद्यालयसम्म पु¥याउन अभियान नै सञ्चालन गरिएका छन् । तर विद्यालयमा अध्यापन गराउने शिक्षक पूर्ति गर्नेतर्फ भने खासै चासो दिइएको पाइँदैन । यस्तै विद्यालय हो गैंडाकोट ३ केलादीको बाल शिक्षा केन्द्र । जहाँ मनमाया थापा एक्ली शिक्षिका हुनुहुन्छ ।
श्री मौलादेवी आधारभूत विद्यालय हर्दी भतेरीसम्म १ घन्टा बाटो जानुपर्ने भएपछि विद्यालय जाने उमेरका बालबालिकालाई सहज होस् भनेर गाउँमा नै शिक्षा केन्द्र खोलियो । सो केन्द्रमा थापाले एक्लै शिशु कक्षादेखि २ सम्म पढाउनुहुन्छ । ३ वटा कक्षा शिक्षिका थापाले एउटै कक्षामा राखेर पढाउनुहुन्छ । विद्यार्थीको तहअनुसार पालैपालो पढाउने गरेको थापाले बताउनुभयो । विद्यालय व्यवस्थापन र कक्षामा गएर पढाउने एक्लै गर्नुपर्दा अप्ठ्यारो भएको उहाँले बताउनुभयो ।
एउटालाई कक्षाकार्य गर्न दिएपछि अर्काे कक्षाका विद्यार्थीलाई पढाउने गरेको उहाँले सुनाउनुभयो । यो उहाँको दैनिकी नै हो । उहाँले भन्नुभयो –“१२–१५ जना विद्यार्थी हुन्छन् । पालैपालो कक्षाकार्य दिँदै एकपछि अर्को गर्दै एउटै कक्षामा राखेर पढाउँछु ।” कक्षाकोठा व्यवस्थापन गर्ने कि अध्यापन गराउने गाह्रो हुने गरेको उहाँको भनाइ छ । विद्यालय उपस्थित हुन नसक्दा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आउने गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो – “गैंडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारीको पहलमा नै टहरो त बन्यो अब विद्यालयमा थप शिक्षकको आवश्यकता रहेको छ ।”
विद्यार्थी २ कक्षा पढेपछि १ घन्टाको बाटो हिँडेर हर्दीको विद्यालयमा जानुपर्ने बाध्यता छ । विद्यालय टाढा भएको जंगल र खोलाको बाटो भएर विद्यालय जान गाह्रो भएको शिक्षिका थापाको भनाइ छ ।
गाउँकै सबैभन्दा ठूलो समस्या भनेकै विद्यालयको समस्या रहेको बताउनुहुन्छ गैंडाकोट ३ केलादीका यमबहादुर गुरुङ । उहाँले भन्नुभयो –“गाउँमा नै ५ कक्षासम्म पढ्ने वातावरण बनाउन सके ससाना बालबालिकालाई सजिलो हुने थियो ।”
पहिले यही बालशिक्षा केन्द्र पनि थिएन केलादीमा । आफू जनप्रतिनिधिका रुपमा आइसकेपछि वडा कार्यालयको पहलमा बालशिक्षा केन्द्र स्थापना गरिएको गैंडाकोट वडा नम्बर ३ का वडाध्यक्ष शिवकान्त तिवारीले बताउनुभयो । हरेक बालबालिका विद्यालय जाने बानी पार्न दिवा खाजाको व्यवस्थासहित केन्द्रको स्थापना गरेको गैंडाकोट वडा नम्बर ३ का वडाध्यक्ष तिवारीको भनाइ छ । उहाँले भन्नुभयो – “केन्द्रको स्थापना गरिसकेपछि विद्यालय जाने वातावरणको सिर्जना भएको छ । पहिले त यही पनि थिएन ।” केन्द्रको स्थापना भएपछि धेरै सहज भएको उहाँले बताउनुभयो । केन्द्रमा एकजना मात्र शिक्षिका हुँदा गाह्रो भएको महसुस आपूmले पनि गरेको जनाउँदे वडा अध्यक्ष तिवारीले शिक्षक व्यवस्थापन गरिने बताउनुभएको छ ।
विद्यालयको पहुँचबाट कोही बालबालिका नछुटून् । यो अभियान स्वागत योग्य छ । यसमा सबैको हातेमालो पनि जरुरी छ तर विद्यालय व्यवस्थापनतर्फ वडा तथा नगर शिक्षा शाखाले ध्यान दिन जरुरी रहेको स्थानीयको भनाइ छ ।

Share.

Leave A Reply