विजय सामुदायिक शिक्षा सदन १६ औँ वर्षमा प्रवेश, मेयर उपमेयरका अघि विद्यार्थीले उडाए रकेट

0


गैँडाकोट । बिजय सामुदायिक शिक्षा सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित बिजय सामुदायिक शिक्षा सदनले आज मंगलबार १६ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाउँदै छ । गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलको प्रमुख आतिथ्य र विद्यालयका अध्यक्ष टिकाराम कंडेलको अध्यक्षतामा कार्यक्रम जारी रहेको छ । गैँडाकोट ५ मा रहेको विद्यालयको प्रागंणमा जारी वार्षिकोत्सव कार्यक्रमको विशिष्ट अतिथिहरुमा गैँडाकोट नगरपालिका उपप्रमुख विष्णु कुमारी कंडेल, गैँडाकोट नगरपालिका शिक्षा शाखा उपसचिव राजु बानिया, गैँडाकोट नगरपालिकाका शिक्षा शाखा अधिकृत ऋषिराम शर्मा, गैँडाकोट स्रोत व्यक्ति रामबाबु ढकाल लगायतका रहनुभएको छ ।

कार्यक्रममा विद्यार्थीहरुले आविस्कार गरेका विभिन्न विज्ञानका प्रदर्शनीहरु, विद्यार्थीले बनाएका चित्रकला, विद्यार्थीले प्राप्त गरेका पुरस्कारहरुको स्टल राखिएको छ । तिनै स्टलहरुको कार्यक्रमका प्रमुख अतिथि तथा विशिष्ट अतिथि र अन्य अतिथिहरुले अवलोकन गर्नुभएको छ । विद्यार्थीले मेयर उपमेयरका अघि रकेट बनाएर उडाएका थिए । विद्यार्थीको प्रदर्शनीबाट मेयर पौडेलले स्याबासी दिनुभएको थियो ।

स्थापना दिवशको सन्दर्भ, अभिभावकको सम्मानको रुपमा वार्षिक रुपमा मनाउने गरिएको वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीका प्रतिभा प्रस्तुती, अभिभावकका सुझाब लिने कार्यक्रम हुने विद्यालयका कार्यकारी प्रमुख खेमराज सापकोटाले बताउनुभएको छ । आजको कार्यक्रममा विजय बाल क्लब, विजय बचत समूह, जुनियर रेडक्रस सर्कल, आइटी क्लब, इको क्लबले आयोजना गरेको कार्यक्रमका बारेमा अभिभावकलाई जानकारी दिने कार्यक्रम समेत हुने छ ।
नेपालमा दुई पक्षबाट शिक्षा क्षेत्र चलिरहेको अवस्थामा सरकारी र निजि बाहेक सहकारीको अवधारणाबाट विद्यालयको स्थापना भएको थियो । मुलुकु द्धन्दबाट गुज्रिरहेको अवस्थामा विद्यालयलाई कसरी शान्ति क्षेत्र बनाउन सकिन्छ, कसरी विपन्न वर्गलाई समेटेर शिक्षा प्रदान गर्न सकिन्छ भनि विसं. २०५८ सालबाट विद्यालय सञ्चालन सुरु भएको कार्यकारी प्रमुख सापकोटाले बताउनुभयो ।

सहकारीको माध्यमबाट विद्यालय सञ्चालन गर्न सकिन्छ भन्ने अभियान विजय सामुदायिकले सुरु गरेको सापकोटाले बताउनुभयो । यस विद्यालयले समाजमा राम्रो छवि बनाउन सकेको र देशमा छुट्टै अभियान सुरु गर्न सहजता बनाएको सापकोटाको भनाई छ ।
वातावरण मैत्री र बाल मैत्री विद्यालयको रुपमा परिचित बनिसकेको विद्यालयले अझै आफ्ना भौतिक पूर्वाधारलाई विद्यार्थी मैत्री हुने गरी निर्माण कार्य अघि बढाउने कार्य गरिरहेको छ । पठनपाठनमा विद्यार्थीको चाहना अनुसार आगामी शैक्षिक सत्रमा विज्ञान संकाय, होटल म्यानेजमेन्ट सुरु गर्ने गरी कार्यक्रम अघि बढीसकेको कार्यकारी प्रमुख सापकोटाले बताउनुभयो ।

Share.

Comments are closed.