विजय एफ एम १४ औँ वर्षमा प्रवेश

0

गैँडाकोट, ५ भाद्र । नवलपरासीको पहिलो सामुदायिक रेडियो “सुने जितिन्छ” विजय एफ एम १०१.६ सोमबारबाट १४ औँ वर्षमा प्रवेश गरेको छ । विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्धारा १३ वर्ष अघि वि सं. २०६१ भाद्र ५ गते विहान ७ बजेबाट विजय एफ एम सञ्चालनमा आएको थियो । विजय विकास स्रोत केन्द्रद्ध र विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विभिन्न संघसंस्था र व्यक्तित्वहरुको सहकार्यमा सहकारी अवधारणाअनुरुप सूचनामा सबैको पहुँच स्थापित गर्न विजय एफ एमको स्थापना भएको थियो ।
समाजमा विकृति न्यूनिकरण र समाजको प्रगतिलाई उजागर गर्दै सकरात्मक परिवर्तनका लागि विजय एफ एम को स्थापना भएको थियो । विजय सामुदायिक सूचना तथा सञ्चार सहकारीका संस्थापक अध्यक्ष तथा विजय विकास स्रोत केन्द्रका अध्यक्ष खेमराज सापकोटालाई रेडियो दुःखले आर्जेको सम्पत्ति लाग्दछ । सापकोटा भन्नुहुन्छ “यो दुःखले आर्जेको सम्पत्ति हो , यसको संरक्षण र दीगोपनाका लागि सबैको सहकार्य आवश्यक छ । विजय बिकास स्रोत केन्द्र अगाडिको चौतारीमा बसेर छलफल गर्दागर्दे जन्मिएको संस्था आज १४ औँ वर्षमा प्रवेश गरेको छ ।”

विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष इन्द्रराजज्योती पौडेलले विजय एफ एमले जुन उद्देश्यले स्थापित भएको थियो, आफ्नो उद्देश्य अनुरुपनै अघि बढिरहेको बताउनुभयो । विजय एफएम क्षेत्रीय स्तरको संचारगृहका रुपमा अघि बढ्ने बताउनुभयो । यसैगरी पौडेलले भर्खरै स्थानीय तहहरुको निर्वाचन र जनप्रतिनिधिहरु आइसकेको अवस्थामा विजय एफएमले वाचडगको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

यसैगरी विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष गोपीनाथ खरेलले रेडियोले १३ औँ वर्ष पुरी गरी १४ औँ वर्षमा प्रवेशगरेको अवसरमा सम्पूर्ण स्रोता आफन्तलाई धन्यवाद प्रकट गर्नुभएको छ । यसैगरी विजय परिवार, संस्थापक, विभिन्न कार्यकालका संञ्चालक, कर्मचारी, विज्ञापनदाता र सम्पूर्ण व्यवसायिमा हार्दिक आभारप्रकट गर्नुभएको छ । विजय एफ एमले आगामी दिनमा व्यक्तिका चासो र सरोकारका विषयलाई प्रमुख प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो ।
रेडियोले आज आफ्नो वार्षिकोत्सव १३ वर्षको इतिहासमा पहिलो पटक रेडियोको अनइयर कक्षबाटै मनाएको छ । विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष गोपीनाथ खरेल र निवर्तमान अध्यक्ष इन्द्रराजज्योति पौडेलले संयुक्तरुपमा केक काटी वार्षिकोत्सवको कार्यक्रम सुरु गरिएको थियो । यस अघि कालिका संस्कृत विद्यापीठका बटुकहरुद्धारा स्वस्तीवाचन गरिएको थियो । वार्षिकोत्सवको सन्दर्भमा रेडियोले दिनभर अनइयरबाट सा्रोता तथा आफन्तसंग शुभकामना साटासाट गर्नेछ ।
वार्षिकोत्सव कार्यक्रममा विजय एफएमका सचिव नारायण सापकोटा, सदस्यहरु लक्ष्मी प्रसाद कंडेल, शालिकराम सापकोटा, लक्ष्मीभट्टराई लगायतले विजय एफएमको उन्नतीका लागि कामना गर्नुभएको छ । एफएमले आफनो गैरवमय १४ औ वार्षिकोत्सव अन्तर्गतका हाजिरि जवाफ, फूटबल प्रतियोगिता लगायतका सबै कार्यक्रम यस अघि नै स्थगित गरेको थियो । आफ्ना कार्यक्रम रोकेर राहत अभियानमा जुटेको हो ।

Share.

Leave A Reply