विकूले ५ प्रकारका सिप सिकाउँदै

0


प्रेम क्षेत्री
गैंडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विभिन्न ५ वटा तालिमको शुभारम्भ गरेको छ । आफ्ना महिला सदस्यहरुका लागि एड्भान्स मन्टेश्वरी, एड्भान्स व्युटिसीयन, एड्भान्स ईलेक्ट्रसीयन, कुशन डल्स र तरकारी खेती (कृषि) तालिम प्रदान गर्न लागेको हो ।
विजय विकास स्रोत केन्द्रको सभाहल गैंडाकोटमा हुने ४५ दिने एड्भान्स मन्टेश्वरी तालिममा ३० जना, कावासोतीमा हुने ४५ दिने एड्भान्स व्युटिसीयन तालिममा ३२ जना, मध्यविन्दु नगरपालिकाको चोरमारामा हुने ३२ दिने कुशन डल्स तालिममा ३५ जना र कावासोती १४ डण्डामा हुने ३२ दिने तरकारी खेती (कृषि) तालिममा २५ जना सहभागी हुने संस्थाका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिनुभयो ।


विजय विकास स्रोत केन्द्रको सभाहलमा तालिमको गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालय, व्यवसायीक तथा सिप विकास तालिम केन्द्रका प्रमुख अनिल सुवेदीले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै उहाँले केन्द्रले बजारको माग अनुसार बेरोजगार युवालाई स्वरोजगार बनाउन तालिम प्रदान गर्दै आईरहेको बताउनुभयो । सहकारीको माध्यमबाट कार्यक्रम गर्दा अझ प्रभावकारी हुने उहाँको विश्वास छ । विकू सहकारीले गरेको प्रगति देख्दा आफु अचम्भित भएको उहाँले बताउनुभयो ।


विकूका अध्यक्ष केशवप्रसाद सापकोटाले विकूमा ५० प्रतिशत महिला प्रतिनिधित्व रहेको जनाउँदै उनिहरुलाई सक्षम बनाउन विकू लागिपरेको बताउनुभयो । हाल सञ्चालन गर्न लागिएको ५ वटा तालिममा ८९२ जनाबाट आवेदक मध्ये १५४ जना छनोट गरिएको बताउनुभयो । साथै उहाँले तालिमका सहभागीलाई सिप सिकेर सदुपयोग गर्न आग्रह गर्नुभयो ।
त्यस्तै आईडियल ईन्जिनियरी∙का प्रवन्ध निर्देशक अरुण अर्यालले खुसी एवम् स्वस्थ बन्न यस खालका तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विकूले सञ्चालन गरेका तालिम र यसको प्रभावकारिता हेर्ने हो भने देशमै नमूना रहेका समेत उहाँले बताउनुभयो ।
विकूका सञ्चालक यमुनाथ आचार्यले तालिमले व्यक्ति र सस्ंथा दुवैलाई लाभ हुने बताउनुभयो ।
कालिगण्डकी सेवा केन्द्रका संयोेजक एवम् वडा नम्बर १ का वडाअध्यक्ष हरिप्रसाद सापकोटाले विकू कामधेनु गाई जस्तै भएको जनाउँदै जति सक्दो प्रयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा स्वागत गर्दै विकूका सञ्चालक ओमप्रसाद सापकोटाले तालिम पश्चात व्यवसाय गर्न चाहनेहरुलाई ऋण समेत उपलब्ध गराईने बताउनुभयो ।
अमरापुरी सेवा केन्द्रका संयोजक माया कंडेलले खेतबारी, घरभित्रको काम, पसलसँगै छोराछोरीको रेखदेख गर्दै २० वर्षदेखी सिपमुलक तालिम प्रदान गर्दै आईरहेको आफ्ना अनुभव सुनाउँदै अहिलेका महिला भाग्यमानी रहेको बताउनुभयो । यसको सदुपयोग गर्न उहाँले आग्रह गर्नुभयो ।


सहभागीको तर्फबाट सविना आलेले सिप नहुदाँ अरुको भर पर्न परेको उल्लेख गर्दै सिप सिकेर सदुपयोग गर्ने बताउनुभयो । साथै यो अवसर प्रदान गरेकोमा विकूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
सहभागीको तर्फबाट बोल्दै लिलादेवी पौडेलले बेरोजगार महिलालाई रोजगार बनाउन चालेको कदम सकरात्मक रहेको बताउनुभयो ।
हाम्रो लक्ष्य खुसी एवम् स्वस्थ सदस्य भन्ने अभिप्रायका साथ विकूको आयोजना, व्यवसायीक तथा सिप विकास तालिम केन्द्रको सहयोग तथा आईडियल ईन्जिनियरि∙ र लुम्बिनी पोलीटेकनिकसँगको सहकार्यमा तालिमको आयोजना गरिएको हो ।


२०४८ सालमा २६ जना सदस्यले १३ रुपैंयाको पुँजीबाट शुरु गरेको विकू सहकारीमा हाल ४ अर्बको पुँजी रहेको छ भने ५५ हजार सेयर सदस्य रहेका छन् । ४ पटकसम्म एक्सेस ब्रान्ड प्राप्त गर्न सफल सहकारीले जिल्लामा १२ वटा सेवा केन्द्रमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गर्दै वित्तिय तथा गैरवित्तिय सेवा प्रदान गर्दै आईरहेको छ ।

Share.

Leave A Reply