विकास कर्मी वासुदेव न्यौपानेद्धारा लिखित “अनुभूति र दृष्टिकोण” पुस्तकको लोकार्पण

0

गैँडाकोट, ९ कार्तिक । अनुभवी विकास कर्मी वासुदेव न्यौपानेद्धारा लिखित “अनुभूति र दृष्टिकोण” पुस्तकको लोकार्पण गरिएको छ । शुक्रबार साँझ विजय सामुदायिक शिक्षा सदनको सभाहलमा पुस्तकको लोकार्पण गरिएको हो । हरिहर सन्यास आश्रम देवघाटधामका स्वामी ज्ञानानन्द सरस्वती महाराजको करकमलबाट पुस्तक लोकार्पित भएको हो । स्वामी ज्ञानानन्द सरस्वती महाराजले पुस्तक व्यवहार उपयोगी भएको बताउनुभयो । उहाँले मनोबल कम भएका र समाजमा केही गर्छु भन्नेहरुका लागि फलदायी भएको बताउनुभयो ।

विजय विकास स्रोत केन्द्रको विकास पक्रिया र विकू बचत तथा ऋण सहकारी संस्थाको स्थापनामा सहजीकरण गर्नुभएका न्यौपानेद्धारा लिखित पुस्तकमा विकास र आध्यात्म दुबैलाई समेट्न खोजिएको छ । आफ्नो जीवनका घटनाक्रमलाई पुस्तकमा चित्रित गरेको लेखक न्यौपानेले बताउनुभयो । पुस्तकको अध्ययनबाट विकासकर्मी र संस्थागत विकासको क्षेत्रमा काम गर्ने व्यक्तिलाई थोरै नै भएपनि मद्दत मिल्ने न्यौपानेले विश्वास गर्नुभएको छ ।

विजय विकास स्रोत केन्द्रका पूर्व अध्यक्ष इन्द्रराज ज्योती पौडेलले लेखक बासुदेव न्यौपानेको व्यक्तित्व माथि प्रकाश पार्दै उहाँको जीवन नै विकास प्रेमिका लागि महत्त्वपूर्ण पुस्तक भएको बताउनुभयो ।  विकासका क्षेत्रमा ५ दशकको अनूभव नै सबैका लागि उत्प्रेरणा भएको बताउनुभयो ।

विजय विकास स्रोत केन्द्रका निवर्तमान अध्यक्ष खेमराज सापकोटाले स्वागत मन्तव्य राख्दै भन्नुभयो “ बासु दाई जीवनको एक खण्डको सिकाईले धैरै सिक्ने अवसर पाएका छन् ।” जीवनका पाटो नै समेटिएको पुस्तकबाट झन् अथाह ज्ञान प्राप्त गर्न सकिने सापकोटाले बताउनुभयो ।

कालिका संस्कृत विद्यापीठका प्राचार्य रामचन्द्र कंडेल र प्राध्यापक तथा विजय खबर पत्रिकाका भाषा सम्पादक डा. मतिप्रसाद ढकालले कृति माथि समालोचना व्यक्त गर्नुभएको थियो । समालोचकद्धयले नैतिकता र विकासका दुबै मतलाई एकीकृत गरेर लिखित पुस्तक पठन योग्य रहेको बताउनुभयो ।

५० वर्ष देखि सामाजिक क्षेत्रमा कृयाशील व्यक्तित्व वासुदेव न्यौपानेले अर्थशास्त्र र वातावरणमा स्नातकोत्तर गर्नुभएको छ । न्यौपानेले विकास पक्रियाका विविध विषयमा विकासकर्मीका रुपमा ३ दशक बढी काम गर्नुभएको छ ।

पुस्तक लोकार्पण कार्यक्रमका अध्यक्ष तथा विजय विकास स्रोत केन्द्रका अध्यक्ष हरिलाल सापकोटाले जनकेन्द्रीत विकासको चिन्तनलाई आत्मसात् गर्दै विजय विकास स्रोत केन्द्रको अग्रणी पाइलाहरुमा सान्निध्य प्रदान गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्नुभएको थियो । सापकोटाले विभिन्न संघसंस्थाका लागि न्यौपानेद्धारा लिखित पुस्तक ज्ञानदयी र प्रेरणादायी संग्रहको रुपमा रहेको बताउनुभयो । कार्यक्रमको सहजीकरण विजय विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक केशवप्रसाद सापकोटाले गर्नुभएको थियो ।

कार्यक्रममा कविवर गोविन्दराज विनोदी, गैँडाकोट नगरपालिका उपप्रमुख विष्णुकुमारी कंडेल, विजय विकास स्रोत केन्द्रका संस्थापक अध्यक्ष ऋषिराम सापकोटा, विजय परिवार अन्तर्गतका संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Share.

Leave A Reply