वडाको विकासका लागि अधिकार काफि छ ः ध्रुवराम पौडेल

0

 

नवलपरासीको गैँडाकोट प्राकृतिक हिसाबले र सम्भावनाका हिसाबले विशिष्ट क्षेत्र हो । यसका प्रत्येक वडामा फरक फरक सम्भावनाहरू देखिएका छन् । गैँडाकोट वडा नं २ जनघनत्व प्रशस्त रहेको, सम्भावना पनि त्यत्तिकै रहेको तर सुकुम्वासी समस्या, सडकको समस्या, ऐतिहासिक स्तम्भको संरक्षणजस्ता आवश्यकता रहेको वडा हो । वैशाख ३१ गते सम्पन्न निर्वाचनबाट वडाले जननिर्वाचित पदाधिकारी पाएपछि स्थानीयले केही परिवर्तनको अपेक्षासमेत गरेका छन् । यसै सन्दर्भमा रहेर हामीले गैँडाकोट वडा नं २ का नवनिर्वाचित वडाअध्यक्ष धु्रवराम पौडेलसँग कुराकानी गरेका छौं । प्रस्तुत छ सम्पादक श्रीधर उपाध्यायले गर्नुभएकोे कुराकानीको सम्पादित अंश ।

 

 

वडाअध्यक्ष निर्वाचित भएपछि त निकै व्यस्तता बढेको होला ? केमा व्यस्त हुनुहुन्छ ?

 

अहिले खासगरेर काममा भन्दा पनि विजयको खुसियालीमा धेरै संघसंस्थाहरु टोल सुधार समितिहरु र विभिन्न व्यक्तिसँगको भेटघाट स्वागत बधाइ शुभकामना आदानप्रदानजस्ता कार्यक्रममा व्यस्त छु । नगरमा पनि के के हुँदैछ भनेर जाने गरिन्छ । खासगरेर अहिले नगरको पहिलो बैठक बसिसकेको छ ।

 

गंैडाकोट वडा नं. २ को वडाअध्यक्ष जितेपछि खुसी बढी छ कि चुनौती ?

 

स्वाभाविकरूपमा विजय भएपछि खुसी भइन्छ नै तर जितसँगै जिम्मेवारीबोध पनि भएको छ । केही चुनौतीको महसुस गरेको छु । १९ वर्षपछि नयाँ परिवेशमा भएको चुनाबमा विजय गौरव लागिरहेको छ तर धेरै कामहरु गर्नुपर्ने भएकाले चुनौती र जिम्मेवारीबोध पनि उत्तिकै छ ।

१९ वर्षपछि भएको निर्वाचनले सिंहदरबारको अधिकार वडामा आएको छ । वडाअध्यक्ष भनेको मन्त्रीसरह हो भन्ने गरिन्छ त्यसैले मन्त्री नै बनेजस्तो त लागेको छैन ?

मन्त्री नै सरह त नभनौं । तर अहिले नेपाल सरकारले जुन सिंहदरबारको अधिकार स्थानीय तहमा ल्याउने योजना आएको छ, यदि साँच्चै त्यो हुने हो भने निश्चय नै एउटा मन्त्रीस्तरकै एउटा राज्यसत्ता लिएर काम गरेको अनुभुति हुनेछ । तथापि सरकार केकति अधिकार स्थानीय तहमा दिने भनेको छ त्यो असाध्यै सकारात्मक कुरा हो । संघीय निर्वाचन नभई स्थानीय तहले पूर्णता पाउने छैन । त्यसैले लोकतान्त्रिक संघीयताका सन्दर्भमा साँच्चै नै अधिकार दिने भन्ने कुराहरु आइरहेको छ । भोलि यी विषयहरु साँच्चै नै कार्यान्यनमा आउने हुन् कि होइनन् आशङ्का पनि एक ठाउँमा छ । किनकि हामीले बेलाबेलामा हेर्ने र सुन्ने गरेका कुराहरु मन्त्रिपरिषद्को निर्णयले पछाडि पर्ने पनि देखिएको छ ।

 

गैँडाकोट वडा नं २ का वडाअध्यक्ष धु्रवराम पौडेल विजय एफ एमको कार्यक्रम हाम्रो नगरमा प्रस्तोता श्रीधर उपाध्यायको साथमा

स्थानीय तहका लागि जेजति अधिकार प्रस्तावित भएको छ त्यो पर्याप्त छ जस्तो लाग्छ ?

 

जेजति पनि अधिकारहरू दिइएको छ त्यो एउटा वडाको विकासका लागि काफी नै छजस्तो लाग्छ । मलाई एउटा वडाका लागि त्यहाँभन्दा बढी अधिकार चाहिन्छ जस्तो लाग्दैन । यो कत्तिसम्म वडालाई कार्यान्वयन गर्न दिने भन्ने नै मुख्य कुरा हो । यो नगरपालिकामा मात्र होइन देशभरीकै कुरा हो ।

कति ठाउँमा यो सान्दर्भिक छ वा छैन भन्ने कुरा पनि हो । जहाँसम्म हाम्रो नगरपालिकाका सन्दर्भमा जुन अधिकारहरु प्रत्याभूत गरिएको छ । हाम्रो नगरका लागि काफी नै छ।

 

वडा नं २ तर्फ लागौं, तपाईं वडा नं २ को सामाजिक काममा कहिलेदेखि लाग्नुभयो ?

 

वडा नं २ को मेरो सामाजिक जीवन म गैँडाकोट बसाइँ सरेर आएपछि नै सुरु भएको हो । गैँडाकोट बसाइको सुरुदेखि नै म वडा नं २ को सामाजिक गतिविधिसँग नजिक छु ।

 

कहिले आउनुभएको हो गैँडाकोट ?

 

म गैँडाकोट आउनेजाने गरेको त २०५२÷५३ बाट नै हो तर गैँडाकोटमा स्थायीरूपमा निरन्तर बस्नेगरेको २०६२÷६३ को आन्दोलनपछि हो । खासगरी हामी सबै परिवार २०५८ सालपछि यतै बस्दैछौं भन्दा हुन्छ । पहिले पोखरातिर थिएँ पोखरामा व्यवसाय गरेर बस्ने गर्थें । म आइए पढिसकेपछि २०६२÷६३ को जनआन्दोलनपछि हो । म खासगरी नेकपा एमालेको राजनितिमा लागेको । सक्रिय राजनीतिको सुरुवात नै त्यसपछि हो ।

 

यहाँ वडा नं २ को वडा नागरिक मञ्चको अध्यक्ष पनि हुनुहुन्छ, खास वडा नं २ को मुख्य समस्या के देख्नुहुन्छ ?

 

गैँडाकोट वडा नं २ का समस्या धेरै छन् किनकि हामी भर्खर नगरपालिकामा प्रवेश गरेको अवस्था छ । हामीसँग स्रोतसाधनहरु न्यून छन् । आकांक्षा धेरै छन् । नगरपालिकाले दिने र नगरपालिकाले हामीलाई दिनपर्ने चीज के हो ? नगरपालिकाले जनताहरुप्रति के गर्नुपर्दछ ? भन्ने सन्दर्भमा मैले हिजोका दिनमा पनि बुझेको छु । जस्तो एकीकृत सम्पत्ति कर उठाउन धेरै गाह्रो भयो त्यो पनि अहिले पर्याप्त छैन । नगरको सन्दर्भको कुरा गर्दा नगरसँग आम सर्वसाधारणको अपेक्षा धेरै छ ।

 

ठ्याक्कै २ नम्बर समस्या के देख्नुभयो भन्न खोजेको ?

 

अहिले यस विषयमा के छ भने दुईवटा पाटो हो । एउटा पाटो छ दीर्घकालीन समस्या अर्कोचाहिँ अल्पकालीन दैनिक जीवनका समस्या । हामीले आधारभूत आवश्यकता पनि समाधान गर्न सकेका छैनौं । नगरपालिकाले समाधान गर्न सकेका छैनौं भनौं न । जस्तोे सरसफाइ र फोहोर व्यवस्थापनका कुराहरु यो एउटा जटिल विषय हो । नेपाल सरकारले वातावरणमैत्री तथा बालमैत्री नगरपालिका ०७४ चैत मसान्तसम्म घोषणा गर्नपर्ने मैले सुनेको छु । तर अहिलेसम्म त्यसका लागि बलियो आधार तयार भएको छैन ।

 

हामीले सुनेको, ग्याँस फ्याक्ट्रीले दिएको प्रदूषण, बोटे टोलको व्यवस्थान, सुकुम्वासी समस्या, व्यवस्थित शवदहन घाट निर्माणको आवश्यकता जस्ता कुरा वडा नं २ का जनताले उठाउँदै आएका छन् नि ?

 

हो यहाँले भनेका कुरा ठीक हुन् । मैले यी विषयलाई गम्भीरताका साथ लिएको छु । यहाँले भनेका कतिपय कुरा त नगरको घोषणापत्रमा पनि छन् जस्तो मसानघाट निर्माण आदि । नारायणीको समस्या पनि छ तर यी समस्या समाधानका लागि दृढ इच्छाशक्ति छ कसरी अगाडि बढ्ने भन्ने योजना बनाउने हो । सहयोग सबैको रह्यो भने समाधान पनि हुन्छ ।

 

जस्तो भृकुटी कागज कारखाना खुल्दा स्थानीय खुसी भए रोजगारी पाइयो भनेर तर त्यसको फोहरले बाटामा हिँड्दा आँखामा फोहर पर्ने, घरमा कपडा सुकाउनै नसकिने भएपछि त्यसको विकल्प स्थानीयले खोजेका थिए । अहिले ग्याँसको कुरा पनि त्यसरी नै उठेको छ होइन र ?

 

हो, यो जटिल समस्या हो । हिजो जसरी भृकुटी बस्दाखेरि सुरुमा त्यहाँका जनताहरु, गा.वि.स.का साथीहरु र त्यहाँ बसोवास गर्ने साथीहरु खुसी हुनुहुन्थ्यो ठुलो कारखाना आउँदैछ भनेर पछि कालान्तरमा गएर बन्द भयो । अब ग्याँस उद्योगमा पनि स्थानीयको चाहनाअनुसार नै हुन्छ । अहिले नै फ्याटै उद्योग कहाँ स्थापना गर्ने भन्ने कुरा राज्यको नेतृत्व गर्ने वर्गले सोच्नुपर्ने विषय हो । यो विषय वडाले समाधान गर्ने विषय हो कि होइन वडावासीले सोच्नुपर्छ । हामीले त सानो टोल, गाउँ र वडाको नेतृत्व गर्दैछौं ।

 

हामीले पनि सानो गाउँको तपाईंकै वडाको कुरा गर्दैछौं ?
सानो कुरा ठूलो कुरासँग जोडिएको हुन्छ । राज्यले गर्नुपर्ने काम नहुँदा सुरुदेखि नै गैँडाकोटमा समस्याहरू देखिएको छ । कमसेकम हामीले २०÷३० वर्षको योजना बनाउनुपर्छ । विदेशमा के हुन्छ भने दीर्घकालीन सोच हुन्छ, दीर्घकालीन योजना हुनुपर्छ । ग्याँसको कुरा गर्दा पनि त्यतिबेला पनि हामीले सोच्न सक्नुपर्ने थियो कि आवश्यक छ कि छैन भनेर ।

तत्कालीन अवस्थामा स्थानीयमा खुसी छायो । म आउनुभन्दा पहिलाको कुरा हो यो । घरनजिक ग्याँस पाइने भो भनेर पहिला खुसी लाग्यो । ठाउँठाउँमा बोकेर हिँडनु परेन भनियो । तर त्यो क्षणिक फाइदाले वरपरको बसाइ जोखिमपूर्ण बनेको छ । अहिले असर गर्छ ध्वनिदेखि वायु प्रदूषण भइरहेको छ । यसका लागि विकल्प सोच्नुपर्छ । मैले यसलाई मुख्यरूपमा काम गर्नुपर्छ भन्ने रूपमा गएको छैन किनभने यो सजिलो विषय होइन ।

 

आगामी दिनमा बनाइने योजना पनि कतै यस्ता अदूरदर्शी त हुँदैनन् ?
हुनुहँुदैन । हामीले कस्तो नगर, टोल वडा बनाउने हो सोहिअनुसार योजना बन्नुपर्दछ । हामीले वातावरण मैत्री नगरपालिका बनाउँदै छौ । जस्तो ग्याँसको कुरा भयो नि त्यो एउटा वातावरण मैत्री नगरपालिकाको अवरोध हो । त्यसको व्यवस्थापन गर्नुपर्छ । हिजो गा.वि .स हुँदा दुईतीन मिटरको बाटो बनाउन दिइयो जसले गर्दा आज बाटो व्यवस्थापन हुन सकेको छैन । व्यक्तिहरुले पहुँचको भरमा स्थानीय निकायसँग सम्पर्क गरेर जग्गाचाहिँ ठाउँठाउँमा कित्ताकाट गरिदिने गरी यो जसले गम्भीर समस्या निस्केको छ । अब आगामी दिनमा यिनै कुराबाट सिक्दै दूरदर्शी योजना बनाउने हो ।

 

अब त तपाईलाई अधिकार पनि आएको छ नी ?
त्यसो त मैले नागरिक वडा मञ्चको संयोजक भएर काम गरेको थिए । विगत २ वर्षदेखि यही काम गर्दै आएको मान्छे हो । त्यसैले के कस्ता योजना बनाउन आवश्यक छ भन्ने बुझेको छु ।

 

वडा नं वोटे टोलको समस्या, त्यसको व्यवस्थापन के सोच्नुभएको छ ?
विगतमा पनि यसको व्यवस्थापनका लागि चुनावमा आश्वासन दिइन्थ्यो । अब के छ भने, विगतको संसदीय चुनाब र अहिलेको स्थानीय चुनाबमा दिने आश्वासन फरक कुरा हो । अहिले यो समस्या स्थानीयको हो । यसको समाधान पनि स्थानीयले गर्नुपर्दछ । अब त्यो काम गर्न गाह्रो छ जस्तो लाग्दैन । हरेक व्यक्तिसँग सल्लाह गरेर काम गर्ने हो । त्यहीँका जनतासँग सल्लाह गरेर यसको व्यवस्थापना गर्ने हो ।
यहाँको नेतृत्वको एक वर्षभित्र यसको पहल हुन्छ त ?
अब आशा गरौं । तर वडाका कामहरु धेरै नै गर्नु छ । कार्यालय स्थापनादेखि भवन व्यवस्थापन गर्नेसम्मका कामहरू गर्नु छ । त्यसैले एक वर्षभित्रमा सबै काम होला भन्ने त नसोचौं । तर खाका तयार हुनेछ । योजना बनेर कार्यान्वयनको चरणमा जानेछ ।

 

पूर्वपश्चिम राजमार्गको शिलान्यासस्थल उपेक्षित भइरहेको छ , त्यसको संरक्षणका लागि वडाको भूमिका के छ ?
अहिले संरक्षणका लागि काम भइरहेको छ । आजभन्दा १ र २ वर्ष अगाडि जीर्ण नै थियो तर अहिले मेरै पहलमा काम भइरहेको छ । कतिपय अवस्थामा दायित्वबोध नभएकाले पनि यस्तो समस्या भएको हो । पुरातात्त्विक चीजको खोजी गर्ने, संरक्षण गर्ने, प्रबद्र्धन गर्ने, पार्क निर्माण गर्ने मेरो योजनामा छ ।

 

सरकारी तवरबाट सञ्चालित वडा नं २ को एकमात्र विद्यालय महेन्द्र स्मारक विद्यालय  विद्यार्थी सङ्ख्या घटिरहेको छ, यसलाई अर्को नजिकको विद्यालयसँग मर्ज गर्ने हो भन्ने आवाज पनि छ नि ?
विद्यालयको व्यवस्थापन हेर्दा त्यो कसैले इगोका रूपमा भनेका होलान् । विद्यालयका नाममा जग्गामात्र ओगट्ने, केहीले जागिरमात्र खाने हो भने विद्यालय किन राख्नुुपर्यो भनेर होला ? मैले यस विषयमा सल्लाह गर्दैछु । विनिदेखि विज्ञहरूसँग कुराकानीसमेत गरेको थिएँ । बाहिरबाट मात्र होइन आन्तरिक वातावरणका विषयमा के छ हेरिदिनुहोला र सुझाब दिनुहोला भनेको छु । अब उहाँहरुले आन्तरिक मूल्याङ्कन गरी दिएको सुझाबका आधारमा विद्यालयको गुणस्तर बढाउने योजना बनाउने हो । कसैले एक्लै गरेर केही हुँदैन । अब सबैको सहयोगले काम गर्नेछु ।

 

अन्त्यमा, तपाईंका वडावासीले तपाईंलाई कस्तो कस्तो कामका लागि भेट्न सक्नेछन् ?

अहिलेसम्म जति समस्या छन् सबै मसँग ठोक्किन आउने गरेका छन् । नियमित देखिने समस्यादेखि अन्य समस्यासम्म जेजति छन् त्यसका लागि मैले योजना बनाउनेछु ।

 

महिला सशक्तीकरण, नेतृत्व विकास, बालक्लबको व्यवस्था, टोलको विकासका लागि आवश्यक विकास योजना मैले बनाउने तयारी गरेको छु ।

हिजोदेखि पनि यही विषयमा मैले काम गर्दै आईरहेको हुँ र आगामी दिनमा पनि काम गर्ने हो । त्यसैले सानो, ठूलो जुनसुकै समस्या समाधानका लागि म प्रयासरत रहनेछु । सबै वडावासीले मलाई सहजरूपमा नै भेट्न सक्नुहुनेछ ।

Share.

Leave A Reply