वडाअध्यक्ष न्यौपानेले मारे बाजी, लिगलिग दौडको झझल्को, विजेतालाई कुखुराको भाले, घ्यु, मह, मकै र कोदाको पिठो पुरस्कार

0


प्रेम क्षेत्री ।
गैंडाकोट, फागुन २२ ।
गैंडाकोट ३ ढोडेनीमा आयोजित गैंडाकोट नगरपालिका स्तरिय वडाअध्यक्षहरुको दौड प्रतियोगिताको उपाधी वडा नम्बर ४ का वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेले बाजी मार्नुभएको छ । लिगलिगे दौडको सम्झना दिनेगरि भएको दौड प्रतियोगितामा न्यौपानेले अरु वडाध्यक्षलाई पछि पार्नुभयो । विजयी वडाध्यक्ष कृष्णप्रासद न्यौपानेले २ किलो लोकल कुखुराको भाले, १ माना घ्यु, १ माना मह, ४ माना मकैको च्याख्ला, ४ माना कोदाको पिठो हात पार्नुभयो ।

यस्तो पनि पुरस्कार हुन्छ भन्ने भन्दा पनि यहाँ उत्पादन हुने सामाग्रीलाई प्रोत्साहन गर्न खोजिएको आयोजक ढोडेनी मेला २०७५ व्यवस्थापन समिति संयोजक तथा गैंडाकोट नगरपालिका ३ का वडाध्यक्ष शिवकान्त तिवारीले बताउनुभयो ।
नगरकै कान्छा एवं फुर्तिला वडाध्यक्ष शिवकान्त तिवारीले भने संयोजक भएका नाताले यो दौडमा सहभागी जनाउनुभएन । स्थानिय भाषा संस्कृतिको जगेर्ना गर्न, स्थानिय प्रतिभालाई उजागर गर्न र वडा भित्र रहेका विभिन्न धार्मीक तथा पर्यटकिय क्षेत्रका प्रचार प्रसार गर्नका लागि गैंडाकोट ३ ढोडेनीमा आयोजित बृहत सांस्कृतिक धमाका सहतिको ढोडेनी मेला २०७५ मा सो दौड प्रतियोगिता आयोजना गरिएको थियो ।
गैंडाकोट नगरपालिका स्तरिय महिला जनप्रतिनिधीहरुको दौड प्रतियोगितामा वडा नम्बर ३ की सदस्य मित्रमाया सुनार प्रथम हुनुभयो । दौडमा जनप्रतिनिधीले खासै रुची देखाएनन् । वडा भित्रको टोल विकास संस्थाका अध्यक्षहरु बिचको दौड प्रतियोगितामा नरबहादुर मुक्मी प्रथम हुनुभयो । १० वटा टोल विकास संस्था रहेको वडाका ९ जना अध्यक्षहरुले सहभागिता जनाएका थिए ।

बृहत सांस्कृतिक धमाका सहतिको ढोडेनी मेला २०७५ मा आजपनि विभिन्न प्रतियोगितासँगैं सांस्कृतिका कार्यक्रम भएका छन् ।
मेलामा गिठा, भ्याकुर, तरुल, केरा, डोको, डालो लगायत स्थानिय उत्पादन बिक्रिका लागि राखिएको थियो ।


महाशिवरात्रीको पावन अवसरमा ढोडेनी मेला २०७५ बृहत सांस्कृतिक धमाका आयोजना गरिएको आयोजक ढोडेनी मेला २०७५ व्यवस्थापन समितिका संयोजक शिवकान्त तिवारीले जानकारी दिनुभयो । मेलामा विविध खेलकुद प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रम भएका छन् ।
खुल्ला पुरुष भलिबल प्रतियोगिता, त्यस्तै टोल सुधार स्तरिय चुट्का प्रतियोगिता, स्लो मोटरसाईकल प्रतियोगितासँगै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको छ । मंगलबार कार्यक्रममा राष्ट्रिय लोकगायक अम्बर विरही गुरुङ, जानकी तारमी मगर, राजु गुरुङ, हिमकुमार थापा, बलबिक्रम थापा, विपी अनुरागी, लगायतको सांस्कृतिक प्रस्तुती रहेको थियो । बुधबार पनि सोम भुजेल, दिपक खड्का, सञ्जय थापा, विष्णु मल्ल लगायतका कलाकारहरुको साथमा विभिन्न व्याण्डहरुको प्रस्तुती रहेको थियो ।
गैंडाकोट नगरपालिका वडा नम्बर ३ को कार्यालय, देउराली सामुदायिक बन, जलदेवी सामुदायिक बन, कालीगण्डकी सामुदायिक बन लगायतका विभिन्न संघ संस्थाहरुको सहयोगमा मेलाको आयोजना गरिएको संयोजक शिवकान्त तिवारीले जानकारी दिनुभयो ।


यसअघि हिजो मेलाको गैंडाकोट नगर प्रमुख छत्रराज पौडेलले उद्घाटन गुर्नभएको हो । उद्घाटनका अवसरमा नगर प्रमुख पौडेलले कालीगण्डकी करिडोरको विकासकालागि नगरपालिकाले पहल गरिरहेको जनाउँदै यसको विकासबाट ढोडेनीको विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले कालीगण्डकीबाट ३५ किलोवाट विद्युत निकाल्ने योजना पनि अगाडी बढाइएको बताउँदै दातृ निकायसँगको सहकार्यमा विुद्युत निकालिने बताउनुभयो । बैशाख भित्रमा सवै वडाहरुमा विद्युतीकरण गर्ने दावी पौडेलको थियो ।
उद्घाटन कार्यक्रममा श्रीकृष्ण गण्डकी माविका प्रधानाध्यापक सुर्यनाथ तिवारी, गैंडाकोट वडा नम्बर १ का वडाध्यक्ष हरिप्रसाद सापकोटा, नेकपा नगर सदस्य बलराम चालिसे, समाजसेवी शोभाखर रिमाल लगायतले शुभकामना मन्तव्य राख्दै मेलाले स्थानिय भाषा संस्कृतिको जगेर्ना तथा स्थानिय प्रतिभालाई उजागर गर्नमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभएको थियो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख प्रहरी निरिक्षक लोकबहादुर जिसी, लोक गायक अमर विरही गुरुङ लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।
मेलाका सदस्य वद्रिप्रसाद रिमालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजिकरण भोज खण्डलुक मगरले गर्नुभएको थियो ।

Share.

Leave A Reply