लेखनमा स्तरीयताको खोजी

0

पवन सुवदी ,  गैडाकोट नगरपालिका १,नवलपरासी

भाषिक रुपमा व्याकरणीय शुद्धता,सन्दर्भ शैलीगत स्पष्ट विचार वा तथ्यता,लेखनको सरलीकृत कलात्मकता र यथार्थपरकतामा बाँधेर श्रृजना गरिएका आलेख वास्तविकतामा नै स्तरीय लेखनकलाका बेजोड दस्तावेज वा उपहार हुन । मानवीय बौद्धिक जमातको भिडमा लेखनमा स्तरीयता त्यसै निखारिएर तयार हुँदैन । लेखनको स्थान र अवसर,हौँसला र उर्जाले हुन्छ साथमा स्वयंमा आत्मविश्वास हुनु उत्तिकै जरुरी हुन्छ । संचार जगत जस्तो सम्मानित क्षेत्र पनि राजनीति,नातावाद र भनसुनबाट प्रभावित छ भने यसबाट समाज र देशले शिक्षा र समाज परिवर्तनको लागि कस्तो अपेक्षा गर्न सक्दछ ।

 

यो क्षेत्रले समाज र देशलाई नयाँ सन्देश दिने र लेखनको शैलीलाई ध्यान दिनु जरुरी हुन्छ नकी स्तरीयता र भावमा बगिरहेको बेजोडतालाई मात्र स्थान दिनु संचार क्षेत्रको अपरिपक्वता हो । परिपक्वता त्यहाँ देख्न सकिन्छ जहाँ हरेक वर्गलाई अवसर दिईन्छ र विचारका आवेगबाट समाजको परिवर्तन र विकासका लागि प्रस्फुटित गराईन्छ । संचार माध्यम आशा,विश्वास,सामाजिक परिवर्तन र विकासमा प्रतिबद्ध रहनु समाज र देशका लागि फाइदा हुनेछ अपनत्वमा गई एकतर्फी विचार समाजमा लादनु अनुत्तरदायि र अपरिपक्वता हुनेछ ।
युवाहरु समाज र देश परिवर्तनका संवाहक हुन उनीहरु भविष्यलाई देखेर लेख्दछन,हार्नेहरु सधैँ भूतलाई मात्र देख्दछन । समाज र देशलाई अशल मार्ग दर्शन दिने जित्ने युवाहरु आफ्ना विचारमा अडिग रहन्छन तर भूतलाई मात्र आश्रय दिनेहरु लचकदार हुने भएकोले जतासुकै ढल्कन सक्ने स्वभाव मौजुद रहन्छ । समाज र देशको परिवर्तन र विकासका लागि सोच्ने जित्ने युवाहरु सोचेरै मात्र बोल्ने गर्दछन तर बिडम्वना भूतलाई मात्र देख्ने हार्नेहरु बोल्दछन र गल्ति भएपछि मात्र सोच्न थाल्दछन । भूतलाई मात्र सर्वेसर्वा देख्ने हार्नेहरु आजलाई केही हुन्छ भन्ने प्रतिक्षामा मात्रै रहेर बोल्दछन तर जित्ने युवाहरु तयारी र योजनाको साथ समाजमा आफ्ना विचारहरु सम्प्रेषण गर्दछन जो भविष्यलाई देखेर विचारहरु उजागर गर्दछन ।

 

त्यसैले संचार जगतमा नयाँ आयाम ल्याई समाजलाई सही सुचना सम्प्रेषण गर्नमा युवा वर्गका विचारलाई पनि राष्ट्रिय रुपमा उचित स्थान दिनुपर्दछ जति अन्यलाई दिने गरिन्छ । संचार माध्यम नै समाजको आशा र किरणको उदय हुने बेलामा संचार क्षेत्र नै यस्तो अवस्थाबाट सच्चिन खोजेन भने समाज र देशले कस्तो परिवर्तनको अपेक्षा गर्न सक्छ । नेपाल एक यस्तो देश हो यहाँका हरक्षेत्रबाट अनुभव र स्तरीयताको नाममा युवालाई उपेक्षा गर्ने गरिन्छ तर तिनै क्षेत्रले नारा चाहिँ युवाहरु भनेका समाज र देश परिवर्तन र विकासका द्धार हुन भनी उचाल्ने मात्र कार्य गरिन्छ ।
संचारमा प्रेस जगत सबै वर्गका विचार र धारणाहरु लिन मौन रहनु र स्तरीयताको मात्रै खोजी गर्नुले सामाजिक परिवर्तन,विकास र शिक्षाको उज्यालो किरण समाजमा दिन अझै धेरै पछि छ । राजनीति,नातावाद र अपनत्वबाट अझै पनि ग्रसित छ देखिएको यस्तो परिवेशले यसले कसरी समाज परिवर्तनमा गहनकारी भुमिका खेल्न सक्छ । संचार जगतले पनि सिधा अनुभवी र खारीएको लेखनलाई मात्र समावेश गर्ने अहंताले नयाँ युवा जो परिवर्तनका संवाहक हुन उनीहरुमा निराशा र समाजमा नयाँ सन्देश दिने अभिलाशा मेटिन सक्छ । उनीहरुलाई पनि समावेश गर्न हौसला र उर्जा दिन यिनका आलेखलाई पनि उत्तिकै ठाउँ दिन आवश्यक छ जति अन्यलाई दिने गरिन्छ । यस्तो गर्न सकिएमा सबै वर्गका विचारहरु सकारात्मक रुपमा समाजमा सुरक्षित अवतरण हुन सक्छन साथै समाज र देशको परिवर्तनमा नयाँ आयामको ढोका खोलिन सक्छ । संचार माध्यम राष्ट्रको चौंथो अङ्ग जसले समाजमा नयाँ शिक्षा र परिवर्तनको लहर ल्याउने अभिलाशा लिएर क्रियाशिल छन उनीहरुलाई नै समान सहभागिता दिनबाट वञ्चित गर्नुले यो क्षेत्र पनि राजनीति र अपनत्ववाद बाट पूर्ण रुपमा प्रभावित छ ।

 

जब समानताको दायरामा अवसर दिईन्छ सम्झनुस परिपक्वता र स्तरीयता क्रमिक रुपमा देखिँदै जान्छ । यो एक्कासि देखिने विषय होइन अभ्यास र अवसरले पूर्णता दिँदै जाने विषय हो । लेखनमा स्तरीयताको मात्रै खोजी गर्नु जायज नहुन सक्छ त्यसैले लेखनलाई स्तरीय बनाउन स्थान र अवसर दिनु उपयुक्त हुन्छ । जब लेखनले स्थान र अवसर पाउँछ सम्झनुस हौसला र उर्जाको संचार सुरु भयो । तब हेर्नुहोस स्तरीयता स्वतस् निखारिएर आउँछ । युवा वर्गका सामाजिक परिवर्तन र विकास माथिका विचारलाई राष्ट्रिय स्तरमा उजागर गर्न राष्ट्रिय रुपमा ख्याति आर्जन गरेका संचार र प्रेस जगतले स्तरीयताको नाममा युवाका विचारलाई रिजेक्ट गर्ने कार्यलाई पनि स्पष्ट जवाफ दिन जरुरी छ ।

 

युवाले सामाजिक समस्या र विकृतिलाई यथार्थ रुपमा समाज र देशको सामु राष्ट्रिय स्तरमा समस्याको उजागर गर्न खोजेमा स्तरीयतालाई लिएर संचार जगतले प्रतिबन्ध लगाउने र सत्य यथार्थ कुरालाई छारो हालेर भावमा बगेको कथालाई आश्रय दिनु संचार र प्रेस जगतको नियम विपरित छ । संचार जगतले युवाका गम्भीर र यथार्थ कुरालाई राष्ट्रिय स्तरमा उजागर गर्न आज र अबपनि किन डगमगाइरहेको छ । यहाँ सोच्नै पर्नेछ कतै राजनीतिक र पार्टीगत स्वार्थताको गासमा त परेको छैन । यसबाट सजिलै बुझ्न सकिन्छ संचार जगत स्तरीयताको नाममा कहीँ अवश्य नै चुकेको छ । त्यसैले सामाजिक परिवर्तन र आशाको संचार भएको क्षेत्रले अपनत्वको मात्र आभास दिनु युक्तिसंगत नहोला । अपनत्व र राजनीतिक पूर्वाग्रहबाट माथि उठेर सबै वर्गका सत्य र यथार्थ विचार र भावनाहरुलाई शिरोधार्य गरी राष्ट्रिय,क्षेत्रीय र स्थानिय स्तरमा सकारात्मक रुपमा सम्प्रेषण गरी सामाजिक,सांस्कृतिक,साम्प्रदायिक मेल,धार्मिक सहिष्णुता,परम्परा,रीतिरिवाज,प्रथा,अनुशासन आदिको दिगो जग बसाली समाज र देश रुपान्तरणमा उगान्तकारी परिवर्तनको भूमिका निभाउनु अपरिहार्यता छ ।

 

Share.

Leave A Reply