लागूपदार्थ नियन्त्रण सम्बन्धि कार्यक्रम चल्दाचल्दै चारसय लिटर मदिरा नियन्त्रणमा ( भिडियो सहित )

0

पुष्कर अधिकारी

गैँडाकोट, १४ श्रावण । गैँडाकोट ६ को बोटेटोलमा शनिबार सबेरै लागूपदार्थ नियन्त्रण तथा जोखिम न्यनिकरण सम्बन्धि कार्यक्रम चल्दै थियो । कार्यक्रमका प्रमुख अतिथि छत्रराज पौडेल र उपप्रमुख विष्णुकुमारी कंडेलले लागूपदार्थको नियन्त्रणका लागि नगरबासी सबैको भूमिका रहेको बताउँदै हुनुहुन्थ्यो । यस्तै वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, इलाका प्रहरी कार्यालयका तीर्थराज भण्डारी, नन्दन सामुदायिक वनका अध्यक्ष लालचन्द केसी, जिल्ला भूमि अधिकार मन्चका सचिव लालु खनाल सहभागि रहेको कार्यक्रम स्थल अघि बाटै मदिरा बोकेको ना १ ह ६२४ नम्बरको ट्याम्फू मदिरा बोकेर जाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएको गाडी केही समय रोकेर राखियो । यता नमुना बोटे विपद् व्यवस्थापन समिति गैँडाकोट ६ ले आयोजना गरेको लागूपदार्थ नियन्त्रण तथा जोखिम न्यूनिकरण विषयक कार्यक्रमलाई औपचारिक रुपमा समापन गरिएको थियो । कार्यक्रम समापन लगत्तै नगर उपप्रमुख विष्णुकुमारी कंडेल, इलाका प्रहरी कार्यालयका प्रतिनिधि, स्थानीयको रोहबरमा चारसय लिटर मदिरा नष्ट समेत गरिएको छ । गैँडाकोट ३ डोढेनीबाट ल्याइएको मदिरा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको हो ।

मदिराका साथ पक्राउ परेका महिलाहरुलाई आगामी दिनमा यस्तो कार्य गरेमा कार्यवाही बढाउने चेतावनी दिदै छाडिएको छ । महिलाहरुले भने आफूहरुको जातिय व्यवसाय र जिजिविशाका लागि बाध्यता भएको प्रतिक्रिया दिएका छन् । हरेक हप्ता यसरी मदिर अन्यत्रबाट सप्लाई हुने स्थानीयले बताएका छन् । केही दिन अघि मदिरा र लागूपदार्थ आफ्नो वडाको सबै भन्दा ठूलो समस्या भएको वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले बताउनुभएको छ । सापकोटाले नियन्त्रण र न्यूनिकरणकालागि जनचेतनामूलक कार्यक्रम फैलाउन सुरु गरिएको समेत प्रतिक्रिया दिनुभएकोे छ ।

Share.

Leave A Reply