रु पाँच लाख लुटेर फरार तीन पक्राउ

0

काठमाडौँ, ९ माघ

महानगरीय प्रहरी परिसरले विभिन्न व्यक्तिलाई सस्तो मूल्यमा सुन दिने भनी रु पाँच लाख १० हजार लुटेर फरार भएका तीन जनालाई पक्राउ गरेको छ ।

परिसरको टोलीले सस्तो मूल्यमा सुन दिने भनी नगद लुट्ने सिन्धुपाल्चोकका ३८ वर्षीय विविमाया तामाङ, काठमाडौँका २९ वर्षीय यमबहादुर तामाङ र २५ वर्षीय हीरा तामाङलाई मङ्गलबार पक्राउ गरी आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो ।

परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले गत मङ्सिर २० गते कागेश्वरी मनहरा नगरपालिकाका ३० वर्षीय प्रदीप कालीदासलाई बौद्धस्थित सुन पसलमा १५÷२० तोला सुन दिन्छौँ भनी नगद लुटेर फरार भएका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पीडितको उजुरीका आधारमा उनीहरुलाई खोजी गर्दा काठमाडौँ र सिन्धुपाल्चोकका विभिन्न स्थानबाट पक्राउ गरिएको परिसरले जनाएको छ ।

लागुऔषधसहित नौ पक्राउ

परिसरले विभिन्न जिल्लाबाट काठमाडौँ भित्रिने नाकामा सवारी साधन चेकजाँचका क्रममा मङ्गलबार र बुधबार ठूलो परिणाममा लागुऔषधसहित नौ जनालाई पक्राउ गरेको छ ।

परिसरको टोलीले कपिलवस्तु र वीरगञ्जबाट काठमाडौँ आउँदै गरको सवारी साधन चेकजाँच गर्दा अवैध लागुऔषध लिएका आउँदै गरेका काठमाडौँका २२ वर्षीय विजय भारती, २१ वर्षीय सुदीप ठकुरी, राज गिरी, पर्साका १८ वर्षीय अभिनाश यादव र धादिङका १८ वर्षीय रमेश तामाङलाई आज पक्राउ गरेको हो ।

पक्राउ परेकासँग प्रहरीले २२५ एम्पुल नुर्फिन, ५२५ एम्पुल फेनार्गन, ५२५ एम्पुल डाइजेल्याव, १५० ट्याब्लेट नाइट्राभेट र चरेस ८१५ ग्राम बरामद गरेको परिसर प्रमुख लामाले जानकारी दिनुभयो । यस्तै मङ्गलबार परिसरको टोलीले काठमाडौँ महानगरपालिका–२५ बाङ्गेमुढास्थित हीराकाजी महर्जनको घरबाट लागुऔषधसहित चारलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले लागुऔषधसहित रामेछापका ३२ वर्षीय अशोक लामा, २१ वर्षीय रमेश थापामगर, सिन्धुपाल्चोकका २८ वर्षीय राकेश श्रेष्ठ र २४ वर्षीय विशाल श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुसँग ३४९ एम्पुल नुर्फिन, ३४८ एम्पुल फेनार्गन, ३४८ एम्पुल डाइजेल्याब, एक हजार ६५ ट्याब्लेट नाइट्राभेट, ५०० ग्राम गाँजा, १४ हजार नगद र १२ थान मोबाइल बरामद गरेको छ ।- रासस

Share.

Leave A Reply