राहत शिक्षकहरु थप आक्रोशित ! ”गोली खान तयार छौँ तर माग पुरा नभएसम्म आन्दोलन जारी हुन्छ”:अध्यक्ष अधिकारी

0


डोलराज रानाभाट, २० फागुन, गैडाकोट ।
राहत शिक्षकहरुले सुरु गरेको आन्दोलन थप चर्किने भएको छ । २०७५ असोज २२ गते सरकार र आन्दोलनरत  शिक्षकबीच भएको ३ बुँदे सहमति कार्यान्वयनमा जोड दिँदै हिजोदेखि राजधानीमा सुरु भएको आन्दोलन थप चर्काउने केन्द्रीय अध्यक्ष खेमराज अधिकारीले बताउनुभयो । शान्तिपूर्ण हिजोको आन्दोलनमा प्रहरीले लाठी चार्ज गरेको भन्दै त्यसको विरोध स्वरुप थप कडा रुपमा आज प्रस्तुत हुने उहाँको चेतावनी छ । आज माइतीघर मण्डलाबाट आन्दोलन सुरु हुने र वानेश्वर पुगी निषेधज्ञा तोड्ने आफूहरुको तयारी रहेको अधिकारीले विजय एफएमको कार्यक्रम आजको सवालमा बताउनुभयो ।

आफूहरुको मागका विषयमा शिक्षामन्त्री तथा शिक्षा सचिवलाई पटक पटक भेट्न गएपनि समय नदिएपछि आफूहरुले टेवलमा मागपत्र छोडेर फर्किनु परेको दुखेसो गर्दै अध्यक्ष अधिकारीले शिक्षा सचिव खगराज बराल खराव भएको र मन्त्रीपनि राहत शिक्षकको कुरै सुन्न नचाहेकालेनै यो अवस्था आएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ”गोली खान तयार छौँ  तर माग पुरा नभएसम्म काठमाण्डौबाट फर्कदैनौँ । यदि सरकारले गोली हान्न खोज्छ भने छाती थाप्न तयार छु तर हजारौँ राहत शिक्षकको भविष्य अन्यौल हुन दिन्न ।”


देशैभर रहेका ४० हजार राहत शिक्षकहरुको भविष्यमाथिनै खेलवाड गर्न खोजेको आरोप लगाउँदै अध्यक्ष खेमराज अधिकारीले २० प्रतिशत शिक्षकलाई मात्र प्रतिस्पर्धा गराउने नियमनै परिवर्तन गर्नुपर्ने माग गर्नुभयो । समयमै माग सम्वोधन नभए देशैभरबाट राहत शिक्षकहरु राजधानी आउने र त्यसबाट उत्पन्न हुनजाने परिस्थितीको सरकार जिन्मेवार हुने  र विद्यार्थीहरुको भविष्यको जिम्मा शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले लिनुपर्ने उहाँको भनाई थियो ।

‘पढाउन छाडेर आन्दोलन गर्न मिल्छ ?’ भन्ने प्रश्नमा अध्यक्ष अधिकारीले आफूहरुले आन्दोलन नचाहेको तर सरकारले नै सडकमा आएर आन्दोलन गर भन्ने व्यवहार देखाएकाले सडकमा उत्रनुपरेको बताउनुभयो । साथै आफ्ना शिक्षकहरुमाथि भएको दमकाविरुद्ध एक विज्ञप्ती समेत जारी गर्न नसकेको नेपाल शिक्षक महासंघप्रति उहाँको आक्रोश थियो । उहाँले यहि परिस्थीति रहे अर्को महासंघ जन्मने चेतावनी दिनुभयो ।

Share.

Leave A Reply