राष्ट्रपतिद्धारा नयाँ वर्षको शुभकामना / प्रधानमन्त्रीद्धारा पनि आज सम्वोधन

0


गैडाकोट, १ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राष्ट्रिय सङ्कल्पको रूपमा रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा लक्ष्य प्राप्त गर्न २०७६ सालमा सवै मिलेर  अघि बढ्ने वताउनुभएको छ ।

नयाँ बर्षले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उहाँले ठूलो सङ्घर्षबाट मुलुकले प्राप्त गरेको ऐतिहासिक उपलब्धिलाई सुशासन र समृद्धिमार्फत सुदृढ बनाउन नयाँ वर्षले सबैमा थप ऊर्जा प्रदान गरोस् भन्नुभएको छ । सन्देशमा उल्लेख गरिएको छ, “मलाई विश्वास छ, नेपाल र नेपालीको दृढ सङ्कल्प साकार तुल्याउने अभियानमा हामीलाई माया गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय जगतको साथ र सहयोग हामीले पाउने नै छौँ ।”

यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले नयाँ वर्षको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै २०७६ साल आर्थिक, सामाजिक रुपान्तरणसहितको विकास र समृद्धिका लागि छलाङ हान्ने वर्ष हुने विश्वास व्यक्त गर्नुभएको छ ।“

उता, प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्दै आफनो नेतृत्वको सरकारले एक बर्ष भरी गरेको उपलब्धीहरुका बारेमा चर्चा गर्नुभयो । रोजगार कार्यक्रम, नेपालको पानी, जनताको लगानी, खोलौं बैंक खाता अभियानको सुरुवात गरेको भन्दै दुई तिहाई बहुमत रहेको वर्तमान सरकारले आफ्नो पहिलो वर्ष उद्घाटनको वर्ष भनेको छ । दोस्रो वर्षदेखि द्रुत गतिमा विकास गर्ने सरकारको लक्ष्य रहेको छ ।
उता, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यसैबीच, नयाँ वर्षकै अवसरमा राष्ट्रिय जनता पार्टी नेपालका संयोजक शरतसिंह भण्डारीले एक शुभकामना सन्देश जारी गर्दै सबै नेपालीमा नयाँ जोश जागर कायम होस भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

Share.

Leave A Reply