रामपुर विकासको केन्द्रबिन्दु बन्न सक्ने

0

बेझाड, ८ माघ 

पूर्वअर्थमन्त्री महेश आचार्यले मुलुकको समृद्धिका लागि निजी क्षेत्रका उद्यमी, व्यवसायीलाई समेटर विकास गर्न सकिने बताउनुभएको छ । पाल्पाको रामपुरमा आज दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको समापनका अवसरमा उहाँले मुलुकमा बैंकको ब्याजदर बढ्दै गएकाले लगानी गर्न उद्योगी, व्यवसायी कोही पनि उत्साहित नभएको बताउँदै अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावरण सिर्जना नगरेसम्म मुलुकको समृद्धि नहुने बताउनुभयो ।

पूर्वअर्थमन्त्री आचार्यले रामपुर विकासको केन्द्रबिन्दु बन्न सक्ने बताउँदै यसको विकास भएको खण्डमा स्याङ्जा, तनहुँ, नवलपरासी, रुपन्देही र काठमाण्डौँलाई प्रभाव पार्ने बताउनुभएको छ । कालीगण्डकी करिडोरको काम सम्पन्न भएपछि मुक्तिनाथदेखि देवघाटसम्म लाखौँ श्रद्धालु भक्तजन यसै क्षेत्र हँुदै आवतजावत गर्ने भएको हुँदा पनि रामपुर क्षेत्रको पर्यटन, सांस्कृतिक क्षेत्रको विकास हुनु जरुरी रहेको बताउनुभयो ।

रामपुर उद्योग वाणिज्य सङ्घको आयोजना गत पुस २७ गतेदेखि चलेको महोत्सव समापनका अवसरमा प्रदेश नं ५ का सांसद युवराज खनाल, रामपुर नगरपालिकका नगरप्रमुख रमणबहादुर थापा, पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ, रामपुर उद्योग वाणिज्य सङ्घका सल्लाहकार देवराज ढकाल, नेकपाका जिल्ला प्रतिनिधि बुद्धिराज गौतम, नेपाली काङ्ग्रेस महासमिति सदस्य हिमालदत्त श्रेष्ठलगायतले मेलाले कालीगण्डकी बेंशी क्षेत्रको विकासमा ठूलो सघाउ पुग्ने बताउनुभयो ।

मेलाका अवसरमा रामपुरमा प्याराग्लाडिङ, कालीगण्डकीमा जलयात्रा, हेलिकप्टर उडान, अन्तर्राष्ट्रियस्तरको इण्डो नेपाल खुल्ला पुरुष भलिबल प्रतियोगिता, डबल्स ब्याटमिन्टन प्रतियोगिता, दोस्रो रामपुर डान्स आइडियल प्रतियोगिता सञ्चालन गरिएको थियो । उद्योग वाणिज्य सङ्घको भवन निर्माण, कालीगण्डकी वेंशी उपत्यकाको पर्यटन विकास, कृषि, घरेलु उत्पादनको प्रवद्र्धन र उद्योग व्यापार व्यवसाय बढाउनका लागि मेला आयोजना गरिएको हो । -रासस

Share.

Leave A Reply