राप्तीमा राती माछा मार्नजाँदा गैँडाले हान्यो, जगतपुरस्थित ध्रुव भन्ने स्थानमा एकजनाको मृत्यु

0

चितवन । पश्चिम चितवनको जगतपुरस्थित ध्रुव भन्ने स्थानमा गैँडाको आक्रमणबाट गएराति एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–२५ स्थित जगतपुरबाट ध्रुवतर्फ जाँदै गर्दा गैँडाको आक्रमणमा परी स्थानीय ५० वर्षीय अर्जुन क्षेत्रीको मृत्यु भएको हो । दोभान सामुदायिक वन नजिक क्षेत्रीलाई गैडाले आक्रमण गरेको हो । सो ठाउँ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले बेलाबेलामा जंगली जनावर निस्कने र धनजनको क्षति गर्ने गर्छ ।

राति गैँडाले आक्रमण गरेर गम्भीर घाइते बनाएका उनलाई उपचारका लागि राति १ः१५ बजे कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा ल्याइएको थियो । उनको उपचारकै क्रममा बिहान ६ बजे ज्यान गएको प्रहरीले जनाएको छ ।

अर्जुन क्षेत्री, बुद्ध लामा र जगत बहादुर घले समेत तीन जना भई राप्ती नदीमा माछा मारी घर फर्कने क्रममा बाटोमा गैडाले आक्रमण गरेको जनाईएको छ । उनिसँगै गएका बुद्ध लामा र जगत बहादुर घले भाग्न सफल भएको भन्ने बुझिन आएको छ ।

सो सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।

Share.

Leave A Reply