रानाभाट ‘सुबोध’को कदम साहित्यमा पनि/ ‘समयका स्वरहरु’ मुक्तक संग्रह बजारमा

0

डोलराज रानाभाट, गैडाकोट । लामो समय सरकारी सेवामा कार्यरत तनहुँको भिरकोटमा जन्मनुभएका नेपाल रानाभाट ‘सुबोध’ले नयाँ मुक्तक संग्रह बजारमा ल्याउनुभएको छ । ‘समयका स्वरहरु’ नामक उक्त मुक्तक संग्रहसँगै रानाभाटले साहित्यमा पनि कदम चाल्नुभएको छ । संग्रहको काठमाण्डौमा एक कार्यक्रमवीच लोकापर्ण गरिएको हो । सटिक र चोटीलो प्रहारबाट सजिलै बुझ्न सकिने गरि लेखिएको केहि मुक्तकहरु

प्रेम सम्बन्ध

                                                    सागरमै डुबी टिप्ने थिएं आकाशको तारा खस्ने भए

मुनामदनकै संसार बन्थ्यो होला प्रेममा सबै फंस्ने भए

                                          एक दुईभारी हैन घारीकाघारीका फूलबारी छ हजुर

मेरो त मायाको भकारी किन रित्तिन्थ्यो र एउटै थुंगाले प्रिति बस्ने भए

नेपाल मुक्तक प्रतिष्ठान काठमाडौ नेपालले वरिष्ठ गीतकार एवम् चलचित्र निर्देशक यादव खरेलको प्रमुख आतिथ्यतामा लोकार्पण गरेको  उक्त चित्रात्मक सहितको मुक्तक संग्रह आठवटा विषयमा बिभाजित छ भने विषय शीर्षकमा असीवटा मुक्तकहरू समाविष्ट छन् ।

मुक्तकलाई जीवन्त बनाउन उमेशचन्द्र अधिकारीको चित्रकारिताले महत्वपूर्ण भूमिका खेलेको छ । भानुभक्त क्याम्पस दमौलीका प्रा.डा. ईश्वरचन्द्र वाग्लेबाट भाषा सम्पादन गरिएको र समीक्षात्मक भूमिका बिजय कट्टेल छहराले लेख्नुभएको छ ।

राजनीति

सिद्दान्त र दर्शन छाडी नेतैपिच्छे गुट हुने

भागबण्डा मिले जुट नत्र छिनभरमै फुट हुने

         चुनाब अघि विकास निर्माण समृद्दिको चर्को भाषण

                             चुनाबपछि तंछाडमछाड राष्ट्रिय सम्पत्ति ब्रम्हलुट हुने

नैतिकता

विषको बोटमा पनि कतै अमृत फलेको देखें

                                           समुन्द्रको छालमा पनि कतै आगो बलेको देखें

देखिएका वस्तु सबै अन्तिम सत्य हुन्नन् भन्थे

                                                 फलामबाहिर पनि कतै सुनको जलप दलेको देखें

 

तनहुँको भिरकोट गाउँमा जन्मनुभएका मुक्तककार रानाभाट सुबोध गण्डकी प्रदेशको उपसचिव पदमा कार्यरत हुनुहुन्छ । सरकारी सेवासँगै उहाँले यसै मुक्त संग्रह मार्फत साहित्यमा पनि कदम चाल्नुभएको हो । समयको मागसँगै लामो आख्यानभन्दा सटिक रचनामा पाठकहरु आकर्षित हुने भन्दै मुक्तककार रानाभाटले जनजिब्रोका बोलीहरुलाई मुक्तकबाट उतार्न खोजेको बताउनुभयो ।

परमात्मा

देवी देउता खुशी पार्न थालमा लड्डु लानु पर्दैन

                                          ब्रत गर्न भोकै बसी पानी मात्रै खानु पर्दैन

मन मन्दिरमा बास गरेका परमात्मालाई चिन्यौ भने

                                                     भगवान भेट्न मन्दिर मस्जिद चर्च र गुम्बा जानुपर्दैन

राजधानी लगायत मोफसलका साहित्यकारहरू समेतको भब्य उपस्थितिमा लोकापर्ण गरिएको मुक्तक संग्रह आफ्ना स्वर्गीय बुवा खेमहरि रानाभाटप्रति समर्पित गरेर उहाँकै वार्षिक पुण्यमितिलाई ध्यानमा राखि चैत्र ११ गते लोकार्पण गरिएको जानकारी दिनुभयो ।

असल आमा

रोग लागेकी बुढी आमा घिन लागेर छुन्नन अरे

                                     दुखमा त परै जाओस मर्दा पनि रून्नन अरे

प्राय: सबै छोरासंग असल आमा हुन सक्छन्

                                        तर सबै आमासंग असल छोरा हुन्नन अरे

गाउँमा जन्मीएर सरकारी सेवाको उच्च तहसँगै साहित्यमा पनि कदम राखेको भन्दै पोखराका वरिष्ठ कवि तीर्थ श्रेष्ठले थप सफलताको शुभकामना दिनुभएको छ। साथै अन्य साहित्यकार एवम् अतिथिहरुले समयका स्वरहरूको दोश्रो श्रृंखला चाँडै पढ्न पाउने आशा सहित अग्रिम शुभकामना व्यक्त गरेका थिए ।

सामाजिक

नाइ नाइ पिउदिन भन्दैथिएं पिलायो साथीले

                                  परेको म व्यहोर्छु भन्दै भरोसा दिलायो साथिले

म गल्दै गएं उ ढल्दै गयो संगत झनझन् बढ्दै गयो

                                                            फरक हुं भन्ने लाग्थ्यो तर उसकै हुलमा मिलाये साथीले

Share.

Leave A Reply