युवाहरुको साथले मात्र हरेक काममा पुर्ण हुने – मन्त्री गौतम

0


गैँडाकोट, ३ असोज । “युवाहरुको आह्वान आगन्तुक पर्यटकलाई सम्मान” भन्ने मुल नाराका साथ नवलपरासीको गैंडाकोट अमरापुरीमा मंगलबारबाट ऐतिहासिक अमरापुरी महोत्सव सुरु भएको छ । लक्ष्मी उच्च माविको प्राङ्गणमा सिंचाइ मन्त्री सञ्जय कुमार गौतमले महोत्सवको उद्घाटन गर्नुभयो ।
उद्घाटनपछि महोत्सवको सफलताको शुभकामना व्यक्त गर्दै सिंचाइ मन्त्री सञ्जय कुमार गौतमले सिमा विवाद रहेको नवलपरासीको सुस्ताका विषयमा आवाज उठाएको बताउनुभयो ।
साथै उहाँले कृषिमा आत्मनिर्भर वढाउन प्रविधिको विकास र आधुनिक कृषि प्रणालिको विकास गर्ने वताउनुभयो । साथै उहाँले विदेश पलायन भएका युवालाई रोक्न केही निती परिवर्तनको आवश्यकता औल्याउनुभयो ।
सिंचाइ मन्त्री गौतमले युवाहरुको साथले मात्र हरेक काममा पुर्ण हुने भन्दै महोत्सवको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
महोत्सवमा शुभकामना मन्तव्य राख्दै गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले महोत्सव गैंडाकोटको शान रहेको बताउनुभयो । उहाँले पर्यटकिय क्षेत्रको विकासका लागि महोत्सवले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
गैंडाकोट नगरपालिकाकी उप प्रमुख विष्णु कंडेलले नगरको विकासका लागि महत्वपुर्ण हुने भन्दै महोत्सवको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
महोत्सवको उद्घाटन अघि अमरापुरी १६ नम्बर चोक शिवालय मन्दिरबाट शोभायात्रा निकालिएको थियो । विभिन्न संघसंस्थाको सहभागितामा निकालिएको शोभायात्रामा हजारौँ स्थानीयको उपस्थिति रहेको आयोजक संस्था रेन्बो युथ क्लबले जनाएको छ । महोत्सवमा आज गायिका उमादेवी खनाल लगायतका स्थानिय कलाकारको संस्कृतिक प्रस्तुती रहेको थियो । बुधबार पशुपति शर्मा, सम्झना भण्डारी, उमादेवी खनाल, चर्चित जादुगर बलराम सरकारको जादु, डान्सर तथा मोडल रुविना श्रेष्ठ, फाईब स्क्वाड डान्स ग्रुपको प्रस्तुती रहने आयोजक रेन्बो क्लबका सचिव हरि रेग्मिले जानकारी दिनुभयो । महोत्सवको विजय एफएम १०१.६ ले प्रत्यक्ष प्रसारण गरेको थियो ।
नेपालीहरुको महान चाड बडादशैँको पूर्व सन्ध्यामा शुरु गरिएको अमरापुरी महोत्सवको एक लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । व्यावासायिक रूपमा राखिएका स्टल, टिकटबाट करिब ५ करोड आम्दानी गर्ने क्लबको उद्देश्य रहेको छ । महोत्सवमा सर्वसाधारणका लागि ५० रुपैँया, विद्यार्थीका लागि ३० रुपैँया, अपांग भएका र ज्येष्ठ नागरिकले परिचय पत्र देखाएमा निःशुल्क अवलोकन गर्न पाइने व्यवस्था मिलाइएको छ । सवा एक सय स्टल रहेको अमरापुरी महोत्सवमा व्यवसायिक प्रवद्र्धनका लागि एक सय स्टल, कृषि तथा अन्य प्रदर्शनीका लागि १५ स्टल रहेका छन् । सबै स्टल बुकिङ भइसकेको क्लबका उपाध्यक्ष जिवन पौडेलले बताउनुभयो । महोत्सवको मुख्य आकर्षणका रुपमा प्रचार गरिएको ९ फिट अग्लो दुर्गाको मूर्ति घटस्थापनाको दिनदेखि मात्रै अवलोकन गर्न सकिने उपाध्यक्ष पौडेलको भनाइ छ । अमरापुरीको लक्ष्मी उच्च माविको खेल मैदानमा महोत्सवमा स्थानीय उत्पादनको जानकारी, उत्पादित वस्तुको प्रवद्र्धन, कला संस्कृतिको जगेर्नालाई प्रमुख जोड दिईएको महोत्सव मूल समारोह समितिका संयोजक विवेक न्यौपानेले बताउनुभयो । महोत्सव अवधिभर राष्ट्रिय कलाकारहरुको विशेष सांगीतिक प्रस्तुति रहनेछ । महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमका साथ पत्रकारहरुबीच पानी पिउने प्रतियोगिता, महिलाहरुबीच हुने दुनाटपरी गाँस्ने प्रतियोगिता, अन्तरस्कुल वक्तृत्व कला प्रतियोगिता, भजन प्रतियोगिता, अमरापुरी डान्स आइडल लगायतका मनोरञ्जनात्मक प्रतियोगिता हुने संयोजक विवेक न्यौपानेले बताउनुभयो ।

 

Share.

Leave A Reply