मोबाइल प्रेम

0


डा.मतिप्रसाद ढकाल

विज्ञानको चमत्कारले गर्दा वर्तमान विश्व आध्यात्मिक रूपमा दिनानुदिन निकै दुःखी हुँदै आए पनि भौतिक रूपमा भने क्षण क्षणमा निकै समृद्ध बन्दै गएको छ । त्यसमा पनि सूचना र प्रविधिको विकास सबैभन्दा अगाडि छ र त्यसको द्रुततर विकासको प्रतिनिधिका रूपमा मोबाइल फोनलाई लिन सकिन्छ, जुन आज विश्वका अधिकांश सर्वसाधारण जनताहरूको हात हातमा समेत पुग्न सफल भएको छ ।
नेपालमा दूर सञ्चार सेवाको विकास भएको धेरै भए पनि अधिकांश जनताहरूका बीचमा त्यसको विस्तार भने हुन सकेको थिएन र आवा (आकाशवाणी) वा हुलाकबाट नै सञ्चार सेवा लिनुपर्ने बाध्यता विगतमा थियो । करिब सत्रअठार वर्षअघिको कुरा हो । भिरबाट लडेर मेरी साहिँली काकीको मृत्यु भएपछि भारतमा रहनुभएका हजुरबुबालाई तत्काल घरमा बोलाउन मैले पहिलोपटक आवाको सहयोग लिएको थिएँ र नेपालमैं रहेर पनि मैले मेरी बहिनीको बिहे हुने खबर आवाबाटै पाएको थिएँ । पहिलोपटक परिचय हुँदा बित्तिकै बिछोड भएकाले आवासँग मेरो प्रेम बस्नै पाएन । क्रमशः आवाको ठाउँ फोनले लियो र त्यो पनि त्यति सहज थिएन । घण्टौंसम्म पैदल हिँडेर फोन गर्ने ठाउँमा पुग्नुपर्ने र फोन गर्नका लागि पनि घण्टौंसम्म पालो पर्खिरहनुपर्ने कुराले निकै वर्ष पिरोलिरÞयो । त्यसबेला नेपालको कुनै एउटा कुनाबाट नेपालकै अर्को कुनामा फोन गर्दा प्रतिमिनेट अठार रुपैंयाँसम्म शुल्क तिर्नुपथ्र्यो । एक मिनेट सकिएर एक सेकेन्ड पुग्न नपाउँदै दुई मिनेटको पैसा तिर्नुपर्ने बाध्यता त्यतिबेला थियो । ‘त्यता आमाबुबा सन्चै हुनुहुन्छ ? यता सन्चै छौं, छोरो जन्म्यो, छोरी जन्मी, मेरो रोग अभैm निको भएको छैन, म दशैंभन्दा अगाडि घर आउन पाउन्न होला’ यस्तै यस्तै अत्यावश्यक सूचनाहरू सम्प्रेषण गर्दा पनि आपूmलाई सधैं आर्थिक रूपमा खुम्च्याइरहनुपथ्र्यो । सहरका पसल पसलमा र गाउँका टोल टोलमा फोनको विस्तार नहुँदासम्म यताबाट र उताबाट चिठीपत्रहरू बारम्बार आदानप्रदान भइरहन्थे । निर्धक्कसाथ आना सुखदुःखहरू अभिव्यक्त गरी परिवारमा बाँड्न पाइने उत्तम साधन बनेका चिठीपत्रहरू टेलिफोनको विस्तारले गर्दा क्रमशः लेख्न छाडिसकिएकाले चिठीपत्रबाट प्राप्त हुने आत्मीयता पनि फोनबाट हराउँदै गएको अनुभूति हुन थाल्यो ।
नेपालमा मोबाइल फोनको दु्रततर विस्तार भई सर्वसाधारण जनताका हातमा समेत आउन थालेको एकदशक पनि भएको छैन । यसै सन्दर्भमा मैले पन्ध्र वर्षअघि पहिलोपटक मोबाइलसँग आत्मीयता गाँसेको थिएँ । त्यसैवर्ष टेलिफोनको सेट पनि मेरो घरमा भित्रिएको थियो । टेलिफोनलाई संस्कृतमा ‘दूरभाष’ भन्ने गरिन्थ्यो, जुन आधुनिक विद्वान्हरूले जुराएको नाम थियो । मोबाइल प्रचलनमा आएपछि त्यसलाई संस्कृतमा ‘चलदूरभाष’ भन्न थालियो । मोबाइल फोन टेलिफोनजस्तो स्थिर नहुने भएकाले यसलाई ‘चल’ भन्ने विशेषण दिइएको हो । मोबाइल फोन अस्थिर, चञ्चल, दौडाहा र हिँडाहा प्रवृत्तिको हुने भएकाले यसलाई मैले ‘हिँडाहा फोन’ भन्न रुचाएको हुँ । मेरो जीवन पनि बाल्यकालदेखि नै टेलिफोनजस्तो ‘बसाहा’ नभई मोबाइलजस्तो ‘हिँडाहा’ भएकाले मैले आनो घरको टेलिफोन सेटसँग देखावटी प्रेम गर्नै नपाई आपूmसँगै हिँडिरहने मोबाइल फोनसँग वास्तविक प्रेम गर्न थालेको हुँ । सधैं कुवामा बसिरहने भ्यागुताले कुवालाई नै सम्पूर्ण संसार यत्ति नै हो भन्ने ठानिरहेको हुन्छ, त्यसरी ‘कूपमण्डूक’ नबनी निरन्तर हिँडिरहँदा र हिँडेर नै नयाँ नयाँ क्षितिजहरू चियाइरहँदा ज्ञानको फाँट फराकिलो हुँदै जान्छ भन्ने ‘चरैवेति चरैवेति’को शिक्षा म आपूmले सानैदेखि हिँड्दै आएको संस्कृत वाङ्मयको मार्गबाट पाएको हुँ । सधैं बसिरहने र जमिरहने बासी जिन्दगीका लागि बसाहा टेलिफोन नैं पर्याप्त छ भने सधैं हिँडिरहने र बगिरहने नौलो जिन्दगीको विकासका निम्ति मस्तिष्कमा टिप्न नसकिएका नयाँ नयाँ ज्ञानहरू टिपोट गर्न र त्यस ज्ञानलाई तत्काल हस्तान्तरण गर्न ‘चरैवेति’को नयाँ संस्करणका रूपमा नै मोबाइल फोनको आविष्कार भएको होला भन्ने मेरो छोटो बुझाइ छ ।
सर्वप्रथम मेरो हातमा मोबाइल फोन पर्दा म विद्यावारिधिस्तरीय अनुसन्धानको मध्यम चरणमा हिँडिरहेको थिएँ । महिनामा एकदुई पटकमात्र घरमा मोबाइलबाट सम्पर्क गर्थें भने शोधनिर्देशक र शोधविशेषज्ञ गुरुहरूसँग समय माग्नका लागि मैले मोबाइलको अधिकांश उपयोग गर्ने गर्दथेँ, अरू बेला अनुसन्धानमा बाधा पर्ने डरले मेरो मोबाइल सधैं ‘स्वीच अफ’ हुन्थ्यो । अध्ययन र अनुसन्धानमा संलग्न भएका बेला अरू साथीहरूलाई कस्तो हुन्छ कुन्नि ? थाहा छैन, तर मलाई भने अनुसन्धानमा संलग्न भएका बेला आपूm एकोहोरो स्वभावको असामाजिक प्राणी भइरहेको अनुभूति हुन्थ्यो र आज पनि कहिलेकाहीँ मलाई त्यस्तै अनुभव भइरहन्छ । विद्यावारिधिस्तरीय अनुसन्धान सकिएपछि २०६७ मा मेरो एघारसय मोडेलको मोबाइलले ‘नेट’ चलाउन मिल्ने सत्ताइससय मोडलमा बढुवा हुने अवसर पाएको हो । त्यसपछि मैले मेरो मोबाइलमा ‘नेट’ जडान गरी मोबाइलको ‘वेभ साइट’बाट सर्वप्रथम मदन पुरस्कार पुस्तकालयमा रहेका व्याकरणसम्बन्धी सबै पुस्तकको सूची टिपेँ र ‘मुना’ बालपत्रिकामा प्रकाशित मेरो छोराको कथा पनि पढेँ । अहिले मैले आपूmसँग नभएका दुर्लभ पुस्तकहरूको सङ्कलन गर्न, कुनै नौलो सूचना र लेख ग्रहण गर्न, आपूmलाई संवेदनशील बनाउने कुराहरू ‘रेकर्ड’ गर्न, इमेलहरू आदानप्रदान गर्न, इमेलबाटै पत्रपत्रिकाहरूमा लेखहरू पठाउन, कम्प्युटरमा ‘कनेक्सन’ गरी विभिन्न ‘वेब साइट’हरूबाट अनुसन्धान सामग्रीहरू खोज गर्न मोबाइलको विशेष प्रयोग गर्दै आएको छु । आपूm सेवारत विश्वविद्यालयका ऐन, नियम, पाठ्यक्रम र मुख्य समाचारहरू मैले चाहिएको बेला मोबाइलबाटै तुरुन्त हेर्न सकिने गरी मोबाइलमा राखेको छु । यसरी मैले मेरो मोबाइललाई यथासम्भव सूचना र अनुुसन्धानको सहयोगी बनाउँदै आएको छु । मोबाइलका सकारात्मक पक्षलाई कसरी जीवनमा उपयोग गर्न सकिन्छ ? भनेर मेरो जिज्ञासा निरन्तर अगाडि बढिरहेको छ । त्यसैले मोबाइल मेरो अभिन्न साथी बनेको छ, मैले मोबाइललाई अन्तरात्मादेखि नै प्रेम गरेको छु र मोबाइलले पनि मलाई प्रेमपूर्वक सधैं सहयोग गरिरहेको छ, जिज्ञासाभावले मलाई दौडाइरहेको छ र आनै दौडाहा प्रवृत्तिको बनाउन खोजिरहेको छ, तर परिस्थितिले गर्दा वर्तमानमा म दिनानुदिन पखेटा काटिएर र कुँजिएर उड्न र दौडन त के राम्रोसँग चलमलाउन र हिँड्न पनि नसक्ने भइरहेको छु । कुँजिएर पाइला चाल्नै नसक्ने भएको अवस्थामा समेत मोबाइलकै सहाराले विस्तारै पाइला चाल्न पाइरहेको हुँदा मैले मोबाइललाई विज्ञानको अभिशाप होइन वरदान नै मान्दै आएको छु ।
यता एफ.एम. रेडियोमा ‘यो मोबाइल फोनले’ बोलको गीत घन्किरहेको छ, फोन गर्नेलाई नम्बर कसले दियो र फोन आयो, फोन आएकै भरमा नदेखेरै कसरी माया बस्यो ? भन्दै दश बजेपछि पैसा कम लाग्छ भनेर गीतले मोबाइलको विज्ञापन गरिरहेको छ । अज्ञानको अन्धकारलाई चिर्दै ज्ञानको ज्योति छर्न तम्सिएका मेरा विद्यार्थी भाइबहिनीहरू रातको बाह्रएक बजेसम्म पनि ‘लाउड स्पीकर’ लाएर घण्टौँसम्म मोबाइल फोनमा किन झुम्मिरहेका होलान् ?, आधा रातसम्म पनि ननिदाईकन मेरा भाइहरूलाई पढाइरहने ती शिक्षिका बहिनीहरू र मेरा बहिनीहरूलाई उज्यालो छरिरहने ती शिक्षक भाइहरू को होलान् ?, कक्षाको पढाइले मात्र नपुगेर मध्यरातसम्म नौला नौला गुरुहरू थापी पढिरहन पाउने ती भाइबहिनीहरूले नै किन परीक्षामा ‘ब्याक’ लाग्यो भनेर गुनासो गरिरहेका होलान् ? मैले केही पनि बुझ्न सकिरहेको छैन । जीवनका अनन्त परीक्षाहरू उत्तीर्ण गर्दा मेरा भाइबहिनीहरूले अभैm कति ‘ब्याक पेपर’हरू दिइरहनुपर्ने हो ? भन्ने कुराले मलाई चिन्तित बनाएको छ र तिनलाई यथासमयमै उत्तीर्ण गराउने जिम्मा लिएर ‘ट्युसन’ पढाइदिने शिक्षकहरू कहाँ भेटिएलान् ? भनेर त्यसको खोजीमा मैले आना आँखाहरू बिच्छ्याइरहेकोे छु । उता तिनका आमाबुबाहरू रातदिन आना अविश्रान्त श्रम र पसिनाहरू बगाएर पनि आना छोराछोरीहरूको पढाइ खर्च जुटाउन र पठाउन नसकेर थला परिरहेका छन्, आपूmहरू निरक्षर भए पनि आना छोराछोरीहरू साक्षर भइदिए भने बुढेसकालको सहारा बन्लान् कि ! भनेर वर्तमानका सबै दुःखहरू भुलिरहेका छन् । मोबाइलमा बढ्ता पढिरहने वर्तमानका सन्ततिहरूले जन्मजात दुःख भोग्न विवश आना आमाबुबाहरूको दुःख भविष्यमा देख्लान् र बुझिदेलान् भन्ने कुनै विश्वसनीय आधार मैले अहिलेसम्म भेट्टाउनै सकेको छैन । ‘ढिलो गए अवश्य पुगिन्छ, छिटो गए भन्न सकिन्न’ भन्ने ट्राफिक नियम सम्झेर उनीहरूको मोबाइलको यो अनन्त दौडाहा प्रेम कतै दुर्घटित हुन्छ कि ! भनेर म सधैं चिन्तित छु ।
आजका युवा पुस्ताको मोबाइल प्रेम उचित मार्गमा छ कि छैन र त्यसको परिणामले भोलिको नेपालको मुहार उज्यालो हुन सक्छ कि सक्दैन ? भन्ने कुराको उत्तर खोज्न मोबाइलले सबै अभिभावकहरूलाई दौडाइरहेको छ, बाध्य बनाइरहेको छ । यही दौडाइ र यही बाध्यता खोज्नका लागि पनि मैले मोबाइलको उपयोग गरिरहेको छु, मोबाइललाई अनन्त प्रेम गरिरहेको छु ।

Share.

Leave A Reply