“मेरो वडामा धेरैको नागरिकता छैन, खानेपानीको चर्को समस्या छ, केही वडाबासी टुकीको भरमा छन् ”

0

तस्वीर ः समृद्धि मिडिया हाउस

गैँडाकोट नगरपालिकाको एक मात्र महिला वडा अध्यक्षका रुपमा कोकीसरा रानामगर पहिलो चरणको स्थानीय निर्वाचबाट निर्वाचित हुनुभएको हो । रानाले वडाको विकासका लागि जनप्रतिनिधि हुनु भन्दा पहिलेदेखिनै काम गर्दै आउनुभएको छ । गैँडाकोट १४ मा खानेपानी, विद्युत, जनचेतनाको अभाव नै वडाको विकासका लागि चुनौती रहेको कोकीसरा रानामगरको भनाई रहेको छ । आफ्नो वडाका विकासका लागि कोकीसरा रानामागरसंग के कस्ता योजना रहेका छन् । प्रस्तुत छ सम्पादक श्रीधर उपाध्यायले गर्नुभएको कुराकानीको सम्पादीत अंश ।

 

अहिले के कस्ता काममा व्यस्त हुनुहुन्छ ?

अहिले आफ्नो वार्डको वडा कार्यालयमा गएर जनताका गुनासो सुन्ने काम गर्दिने, अनुगमन गरेर जनताका समस्या बुझ्ने काम गरिरहेको छु  । यस्तै काममा व्यस्तता छ भन्नु पर्दछ ।
वाड नं. १४ का समस्या के के छन् ?

मेरो वडामा प्रमुख समस्या भनेको खानेपानीको समस्या छ, विजुलीको समस्या छ, रतनपुरको साविक वडा न. ६ जोडिएपछि त्यस वडामा विजुलीको समस्या छ, ४० वर्षभन्दा माथिका व्यक्तिले पनि नागरिकता बनाएका छैनन् । अहिले ठूलो उमेरका केही व्यक्तिले नागरिता बनाउन आग्रह गरेपछि मात्र बनाएका छन् । जन्मेको ३० वर्ष भइसक्यो जन्मदर्ता छैन । नागरिकहरुमा चेतनाका कमिका कारण यी समस्या देखिएको छ ।
वाड नं. १४ का कुन कुन स्थानमा यस्तो समस्या छ ?

केही तीन चारवटा भेग छन्, नगर टाँडी, सालघारी, भागर भन्ने ठाउँ छ । भेल्लन टाँडी भन्ने ठाउँ छ जुन अलिकति हाम्रो क्षेत्रमा पर्दछ, यसमा केही सचेतना देखिन्छ । अरु क्षेत्रमा लामोसमयसम्म पनि जन्मदर्ता, नागरिकता, मृत्युदर्ता लामोसमयसम्म पनि नगर्ने संस्कार विकसी त भएको छ ।
समस्या समाधानकालागि के काम गर्ने त ?
अहिले आफू निर्वाचित भएको तीन महिना भयो, पहिलो यी समस्या राम्रो संग नजर अन्दाज गरिएको थिएन, अहिले समस्याहरु केलाउँदै जाँदा यी समस्या देखियो । अहिले मेरो आफ्नो पहलमा वडा सदस्यहरुलाई नागरिकता, जन्मदर्ता, मृत्युदर्ता गर्नुपर्ने कारणका विषयमा चेतना फैलाउन भनेको छु ।
अहिले कति मानिसहरु नागरिकता विहिन छन् ?
केही दिन पहिले १०–१५ जना मानिसले नागरिकता बनाएका छन् । म आएपछि उनिहरुलाई नागरिकताको महत्व र आवश्यकताका विषयमा सम्झाएको थिएँ । अझै पनि मेरो वडामा २५ प्रतिशत मानिसहरुको नागरिकता छैन, जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता गर्नेको संख्या पनि धेरै रहेको छ ।
चेतना अभिवृद्धिका लागि के कस्तो काम गर्नुपर्ला ?
चेतना अभिबृद्धि गर्ने काम नगरपालिकाबाटै होला । बजेट विकासका लागि खर्च गर्नुपर्ने छ । असोज महिना लागेसंगै प्राथमिकताका आधारमा सचेतना फैलाउने योजना बनाएका छौँ ।
बाटोको अवस्था के छ ? सडक सुधारका योजना के छन् ?
सबै भन्दा पहिले भागर जोडीएको रतनपुरको साविक ६ नम्बरमा पुलको आवश्यकता छ । पुल बन्यो भने भागर र नगरटाँडीमा राम्रो सम्बन्ध बन्थ्यो । आवतजावत सजिलो हुने थियो । यो गोरेटोले हरेक सुविधा वडा बासीले पाउँछन् । भागरमा साइकल हिँड्ने गोरेटोसम्म छैन । भागरको तल्लो क्षेत्रमा पिच भएका छन् भने माथिल्लो क्षेत्रमा पीच गर्नुपर्ने देखिएको छ । यस क्षेत्रमा एउटा घर एउटा डाँडामा छ भने अर्को घर अर्को डाँडामा छ । एकीकृत बस्ती नभएका कारण पनि सबै स्थानमा सडक सञ्जालको समस्या चुनौती जस्तो समेत देखिन्छ । तर वडा बासीको सहजताका लागि कसरी हुन्छ काम भने अवश्य गर्ने पर्दछ ।
भागर र नगरटाँडीका लागि अहिले बजेट बिनियोजन भएन ?
भागरको पुलका लागि अहिले टिपोट गरिएको छ । पछि यसलाई प्राथमिकता दिने गरि सूचिवद्ध गरेका छौँ । अहिले सालघारी र मटकुरीको बीचमा टाउन खोलाको पुल रहेको छ । यो खोला बढेको बेलामा स्थानीय विद्यार्थीहरु समेत पढ्न नपाउने देखिन्छ । खोलाआरपार गर्न बालबालिका विद्यार्थीका लागि निकै सास्ती देखिएको छ, निकै चुनौती देखिएको छ । म जनप्रतिनिधि नहुने बेला देखि नै यस क्षेत्रमा केही आवश्यक पुलका लागि बजेटका लागि प्रयास गर्दै आएको छ । यस अघि नगरपालिकाको बजेट बाँडफाँड गर्ने समितिको सदस्य समेत रहेको थिँए । त्यसबेला देखि नै मैले काम गर्दै आइरहेको हो । त्यतिबेला रतनपुरको साविक ६ नम्बर वडा मिसिएको थिएन । त्यतिबेला उठाएको कुरा अहिले बल्ला पारित भएको छ । यो पुलका लागि दुई करोड जति लाग्ने अनुमान गरिएको छ । यस वर्ष करिब एक  करोड जति बजेट बिनियोजन गरेका छौँ ।
अरु बाटाहरु कुन कुन छन् ? जहाँ बाटोका लागि रकम बिनियोजन गरिएको छ ?
अहिले भेल्लन टाँडीबाट नगरटाँडी जाने बाटो पिच भएको छैन । मेरो वडामा धेरै बाटोहरु पिच भएका छैनन् । बाटोघाटोको पिचको लागि २५ लाख रुपैँया छुट्याइएको छ । अहिले वडाका लागि करिब ४३ लाख रुपैँया विकास बजेटका लागि छुट्टिएको छ । यसको सबै बाटोमा समुचित रुपमा खर्च गर्नेछौँ ।
यहाँको वडाको अर्को समस्या, विजुली बत्तिको अभाव, रतनपुरको कति क्षेत्रमा बत्ति छैन ?
झरे खोलाको छेउ तिर पर्दछ यो क्षेत्र जसलाई सिमलटाँडी भनिन्छ । त्यहाँ नम्बरी जग्गा नै छ । १०÷१५ घर छ । वरिपरि जंगल छ । यस क्षेत्रमा टुकीको भरमा जिवन विताइरहेका छन् ।
त्यहाँ बत्ति लैजान कति पोल आवश्यक होला ?
अहिले त्यहाँ २५ वटा मात्रै पोल भयो भने विजुली लैजान सकिन्छ । पहिले जनप्रतिनिधि नभएका कारण त्यहाँका जनता चुप रहेका थिए । कसलाई भन्ने कहाँ गएर भन्ने समस्या उहाँहरुलाई थियो । अहिले चाँहि जनप्रतिनिधि आइसकेपछि उहाँहरुले बारम्बार विद्युतका लागि भनिरहनुभएको छ । पोल नभएका कारण नै अहिलेसम्म त्यहाँका स्थानीय टुकीको भरमा जिवन यापन गर्न बाध्य रहेका थिए ।
अरु क्षेत्रमा बत्ति पुगेको छ ?
छन त छ, तर व्यवस्थित छैन । ट्रान्सफर्मरको समस्या छ । ट्रान्सफर्मर सानो कम पावरको भएकाले समस्या भएको छ ।
विद्युत प्राधिकरणसंग पहल गर्नुभाछ ?
गरिरहेको छु । बोरिङका लागि एउटा ट्रान्सफर्मर ल्याइएको छ । यसमध्ये   जनताका लागि   बोरिगंका लागि हुने गरी ट्रान्सफर्मर ल्याइएको छ । नगरसंग पनि कुरा गरिरहेको छु ।
खानेपानीको निकै ठूलो समस्या पनि रहेछ तँपाईको वडामा ?
तारानगर खानेपानीमा अहिले समस्या देखिएको छ । सालघारीमा समस्या छ, भागरमा पनि खानेपानीको समस्या छ । अमरापुरी खानेपानीले तलको भागलाई प्रयाप्त पुर्याएको छ ।

समस्या समाधानका लागि के गर्ने ?
अब अहिले नगरटाँडीमा धेरैको योजना चाहिन्छ । पहिले खाइरहेको पानी भूकम्प आएपछि समस्या देखियो । नगरटाँडीमा तीनचारसय घरधुरी पानीको अभावमा रहेको छ । पहिले धेरै जसो स्थानीयले इनार खनेर आफ्नो खानेपानीका लागि आपूर्ती स्वयं गरिरहनुभएको थियो । कतिपयले मुहानबाट आएको पानीबाट जीवन गुजारीरहनुभएको थियो । भूकम्पपछि इनारका मुहान पानीका स्रोतहरु पनि बन्द भएका छन् ।
पहल के गरिरहनुभएको छ ?
यस विषयमा नगरले पनि सोचिरहेको छ । एउटा खानेपानीको क्षेत्रमा काम गर्ने संस्था पनि आइपुगेको छ । नगरटाँडीका मानिसहरुलाई सुरक्षित खानेपानीको व्यवस्थापन गर्नका लागि तीन चार करोडको लगानी गर्नुपर्दछ जस्तो लाग्दछ ।
कति समयपछि सबै वडा बासीले सुरक्षीत खानेपानी पिउन पाउलान् ?
भर्खरै मात्र आएकी छु । सरकारले पनि सिंहदरबारको अधिकार टोलमा आउने भनेको छ । दुई तीन वर्ष लाग्ला । त्यसपछि केही भएपनि मेरो वडामा खानेपानीको समस्या कम होला भन्ने लागेको छ ।

तस्वीर ः समृद्धि मिडिया हाउस

Share.

Leave A Reply