मेरो पावनभूमि गैडाकोट १

0

पवन सुवेदी गैडाकोट नगरपालिका १,नवलपुर

प्राकृतिक रुपले सौन्दर्यको मुहान निश्चय नै स्वर्गको द्धार हो । धार्मिक सम्पदा र सांस्कृतिक पहिचान यसलाई विरासतमा मिलेका सम्पक्ति हुन । धार्मिक र ऐतिहासिक रुपमा महत्व बोकेको सुन्दर सानो नगरी हो । प्रकृतिको शान्त वातावरण र धार्मिक पावनभूमिमा नारायणी नदीको तटमा अवस्थित मेरो भूमि गैडाकोट १ साँच्चै प्रकृतिले दिएको अमुल्य वरदान हो । यहाँ प्रकृतिको अमुल्य सम्पत्तिका साथै माता मौलाकालिकाको मन्दिर,श्री लक्ष्मीनृसिंह दिव्यधाम,श्रीमद रामानुज वेद विद्याश्रम,श्री लक्ष्मीहरि भागवत आश्रम,श्री निम्बार्क दर्शन केन्द्र राधाकृष्ण मन्दिर प्रसिद्ध धार्मिक धरोहरका केन्द्र हुन । हालमा नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ स्कोन नेपालको गैंडाकोट शाखा मन्दिरको भवन पनि निर्माणाधिन अवस्थामा छ । विभिन्न गोत्रिय बन्धुहरुको कुलायन मन्दिरहरुले यहाँको पावनभूमिलाई उच्च राख्न सुनमा सुगन्ध थपेका छन् । यहाँविभिन्न आस्था र विश्वास बोकेका सम्प्रदायहरु धार्मिक सहिष्णुतामा एकताबद्ध छन् भन्ने तथ्यलाई यसले पनि पुष्टि गर्दछ ।
नजिकै प्रसिद्ध पुण्यभूमि देवघाटधामको अनुकम्पा अनि नारायणी नदीको तटमा अवस्थित धार्मिक र सांस्कृतिक रुपले पहिचान बोकेका सम्पदाहरुको बहुमुल्य खानीको विशाल भण्डार हो । आस्था र विश्वासको भण्डार,संस्कार र संस्कृतिको संगम स्थल हो । प्रकृतिको मनमोहक सौन्दर्यतामा अविरल बगिरहेको नारायणी नदीको तटमा पवित्र धार्मिक स्थल रहेका छन् । प्रकृतिको काखमा संस्कृतिले भरिएकी माता मौलाकालिका शिखरमा विराजमान हुनुहुन्छ ।पर्यटकीय दृष्टिले महत्व बोकेको यहाँको प्रकृति र संस्कृतिले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउँदै आएको छ । पहिले पहिले धेरै चहलपहल भईरहने मठमन्दिर पनि आज उचित संरक्षण र संवर्धनको अभावले ओझेलमा पर्दै गएका छन् । धार्मिक र पर्यटकीय महत्वको बलियो संभावना बोकेर पनि प्रचारप्रसारको उचित अभावले पछि परेको छ । समय सुहाउँदो उचित प्रचार गर्न सकियो भने देशविदेशबाट अवलोकनको लागि आउने राम्रो संभावना रहेको छ । हाम्रो र यस ठाउँको परिचय बोकेका सम्पदाहरु भौतिक रुपमा खडा भईकन पनि उचित संरक्षण कुरिरहेका छन् । हाम्रो धरोहरको परिचय बोकेका सुन्दर र विशाल रुपमा खडा भएका पूर्वाधार संकटको अवस्थामा पर्ने अवस्था सिर्जना भईरहँदा पनि सम्बन्धित निकाय र जिम्मेवार नागरिक समाज मुखदर्शक बनेर हेरिरहेका छन् । यो हाम्रो लागि राम्रो पक्ष कदापि हुन सक्दैन् ।
धार्मिक र पर्यटकीय दृष्टिले समेत महत्व बोकेको प्रकृतिको सुन्दर संसार हो ।अनुकुलित स्वस्थ शान्त वातावरण,भौगोलिक अवस्था र रमणीय नारायणी नदीको सुन्दर दृश्य हेर्न आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । प्राकृतिक मनोरम वातावरण,निश्छल र शान्तपूर्वक बहिरहेकी नारायणी नदीले सबैको मनलाई एकछिन खिच्दछ र खुशीले आनन्द मिलेको आभास गर्दछन् । हाम्रो परिचय यिनैले बोकेका हुँदा यस्ता धरोहरको पनि व्यवस्थित तवरले संरक्षण र प्रसारप्रचार गर्नु आवश्यक छ । धार्मिक रुपमा कलाको सुन्दर अद्भुत बेमिशाल पावनभूमि र रमणीय भौगोलिक स्थितिले यस ठाउँको गरिमालाई जीवन्त बनाएका छन् । धार्मिक,ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्व बोकेको मौलाकालिका मन्दिर यहाँको वैभवको प्रतिकका रुपमा छ । यहाँबाट चितवन,प्रसिद्ध देवघाटधाम र प्राकृतिक मनमोहक सौन्दर्यताको अवलोकन गर्न सकिन्छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटक र श्रद्धालु भक्तजनहरु जो तीर्थयात्रीको रुपमा पुग्नुहुन्छ उनीहरुलाई यहाँको प्राकृतिक सौन्दर्यले मनैदेखि लोभ्याउने र आकर्षित गर्ने गर्दछ । वर्षेनि गोत्रिय कुलायन मन्दिरहरुमा आफ्ना कुलदेवताको पुजाआजा गर्न देशका विभिन्न जिल्लाहरुबाट आउने र त्यसपछि यहाँका मठमन्दिरहरुको दर्शन र अवलोकन गर्ने गरेका छन् । यहाँको धार्मिक तथा प्राकृतिक सौन्दर्यता,सबै सम्प्रदायमा आपसमा सौहार्द्रता र भाईचाराको भावना भएको खुलेर आफ्ना मिठा शब्दहरु अभिव्यक्त गर्दछन् ।

 

आफ्नो समाजमा यस पावनभूमिको बारेमा कुरा गर्ने गरेको पुन फर्केर आएका श्रद्धालु भक्तजन सुनाउँदछन् । यहाँका श्री वैष्णव सम्प्रदायका मठमन्दिर श्रीमद रामानुज वेद विद्याश्रम,श्रीशुकदेव भागवत आश्रम श्रीलक्ष्मीहरि भगवान र श्रीलक्ष्मी नृसिंह दिव्यधाममा वर्षेनि नेपालका विभिन्न जिल्लाहरु र छिमेकी मुलुक भारतबाट श्रद्धालु भक्तजनहरु दर्शनको लागि आउने गरेका छन् । हामी सबैका आस्था र विश्वासका केन्द्र,हाम्रा धरोहरहरु हाम्रा लागि अमूल्य सम्पत्ति हुन् । यिनले नै हाम्रो समाजलाई देश र विदेशी समाजमा परिचित गराउँदछन् । त्यसैले हामी गैडाकोट बासी हाम्रा वैभवका प्रतिकहरुलाई संरक्षण र संवर्धनमा सदैव लाग्नुपर्दछ ।
हाम्रो गैडाकोट १ लाई सबै सामु चिनाउन नागरिक समाज,बुद्धिजीविहरु र स्थानिय निकाय सबै दिल खोलेर प्रसारप्रचारमा लागौँ । हाम्रा आस्था,विश्वास,पहिचान र धरोहर बोकेका मठमन्दिर र सम्पदाहरुको संरक्षण,संवर्धन र प्रवर्धन गरौँ । सबै मठमन्दिर र प्राकृतिक सौन्दर्यताको अवलोकन गराउन आन्तरिक तथा बाह्य पर्यटकलाई बढाऔँ । आफ्नो पहिचान र चिनारी हामी सबै मिलेर दिऔँ ।

Share.

Leave A Reply