मूला कसरी धेरै फलाउने ?

0

गैँडाकोट । अचारमा सबैभन्दा प्रिय, तरकारीमा पनी मिल्ने खानाको सारथी, मुला मन नपर्ने को नै होला र ? जब उत्पादनको कुरा आउँछ । कृषकले गैँडाकोट क्षेत्रमा व्यवसायीक रुपमा मुला खेती नभएपनी सबैको करेसा बारीमा मुला उम्रिन्छ तर कसैले पनी उचीत बिधी र मुला खेतीबारे ज्ञान नहुँदा उत्पादन राम्रो नहुने गरेको गुनासो गरेका छन् ।
गैँडाकोटका स्थानीय प्रेम कुमारी थापाको घरमा मुला उब्जनी हुन टुट्दैन । तर उब्जाउ तरीकाबारे राम्रो ज्ञान नभएका कारण छरेको मुला कोही राम्रै हुन्छ कोही बिग्रन्छ । तरीका थाहा नहुँदा घाटा पनी लागेको छ । थापालाई जस्तै समस्या, दिलकुमारीले पनी भोग्नुभएको छ तरीका नजानेपछी पुर्खाले जे गरे त्यही गर्दै आउनुभएको छ । परम्पारगत तरिकाबाट जिजिविषा त हुने तर व्यवसायिकता नहुने दिलकुमारीको भनाई छ ।
किसानले समयअनुसार हुने खेतीका बिषयमा विज्ञबाट सुझाव सल्लाह र नियमीत अनुगमन पनी चाहेका छन् । स्थानीय ईश्वरी घिमिरेले रेडियो तथा पत्रिकाबाट भएपनी बिज्ञले मुलाखेतीका बारेमा केही जानकारी दिए हुन्थ्यो भन्ने चाहनुभएको छ ।
जिल्ला कृषि विकास कार्यालय चितवनका कृषि विद् नोदनाथ लामिछानेले परम्परागत कृषिप्रणालीबाट केही माथि उठ्नुपर्ने बताउनुभएको छ । मूला खेती तरकारीबाली मध्ये छिटो हुने र सजिलो तरकारी बाली भएको लामिछानेले बताउनुभयो । बजारमा उत्पादनबारे खुलाइएको प्याकेटिङ मूलाको विऊ प्रयोग गर्न जिल्ला कृषी विकास कार्यालय चितवनका कृषि विज्ञ नोदनाथ लामिछानेले सुझाब दिनुभएको छ ।

 

हावापानी
मुलाले केही गर्मी सहन त सक्छ तर यसको वासमा, बनोट र आकारको पूर्ण विकासका लागि १०–१५ डि.से. तापक्रम आवश्यक हुन्छ तथा उचित प्रकाशको पनि आवश्यकता पर्दछ । यो कुरा यसको जातमा पनि निर्भर गर्दछ । वातावरण अनुकूल नभए मुलाको डुकु निस्कने, मुला सानो, डल्ला फल्ने, जरा फाट्ने आदि भई व्यापारिक मूल्य घट्ने हुन्छ ।

 

माटो तथा मलखादः

 

मुलाको प्रायः सबै किसिमको माटोमा खेती गर्न सकिन्छ तर राम्रो जैविक पदार्थ भएको हल्का बलौटे दोमट माटो नै उपयुक्त हुन्छ । १ मे. टन गोबर मल, ५ के.जी. युरिया, ४ के.जी. डी.ए.पी., २ के.जी. म्युरेट अफ पोटास प्रति रोपनी आवश्यक पर्दछ ।
जमिनको तयारीः
मुला खेती गर्न पटक्कै डल्ला नभएको ३–४ पटक जोतेर डल्ला फुटाई बुरबुराउँदो माटो बनाउनुपर्दछ नत्र मुला सही आकारमा विकास हुन सक्दैन । यो जरे बाली भएकोले राम्रोसँग नकुहिएको मल हाल्नु हुँदैन । जमिन पानी जम्ने हुनुहुँदैन र जमिनको सतह राम्रोसँग मिलाउनुपर्दछ ।
बीउ रोपणः
बोटबाट बोटको फरक २५ से.मि. तथा लाइनबाट लाइनको फरक ४५ से.मि. हुनुपर्छ । बीउ छर्दा २ से.मि. को गहिराइमा छर्न वेश हुन्छ । पहाडी क्षेत्रहरूमा चैत महिनामा मुला रोप्नु उपयुक्त हुन्छ र भदौ–असोज महिनामा पनि रोपिन्छ । धेरै चिसो भएमा बीउ उम्रन सक्दैन । तराईमा भदौ महिना देखि पुस–माघसम्म लगाउन सकिन्छ । मुलाको बीउ १०० गोटा दानाको एक ग्राम हुन्छ र प्रति रोपनी करिब ०.५ किलोग्राम बीउ आवश्यक पर्दछ ।
गोडमेल, टपड्रेस र सिंचाइः
बीउ रोपेपछि उपयुक्त माटोको चिस्यान र तापक्रममा उम्रन शुरु गर्दछ । यसका साथै झारहरू पनि बढ्न शुरु हुन्छन्, तिनीहरूको नियन्त्रण गर्न, माटो खुकुलो पार्न र टपड्रेस गर्नका लागि गोडमेलको आवश्यकता पदर्छ । गोडमेल गर्दा झरपात उखेली फाल्ने, माटो राम्ररी गोड्ने र युरिया मलले टपड्रेस गरी माटोको उकेरा दिने ।
सिंचाइः
वर्षाको बालीलाई सिंचाइको आवश्यकता पर्दैन । माटोमा चिस्यान कम भएमा ३–४ पाते हँुदा हल्का सिंचाइ गर्नु आवश्यक हुन्छ । मुलालाई बढी चिस्यान र बढी सुख्खा पनि हुनु हुँदैन ।
बाली थन्क्याउने तथा भण्डारणः
मुला बाली तयार भएपछि (डुकु आउनु अघि) नभाँचिने र घाउ नलाग्ने गरी उखेल्नुपर्छ । राम्रोसँग माटो पखाली, कलिलो पात मात्र राखी जुटको बोरामा राखेर बिक्रीका लागि लानुपर्छ । मुलाको माग अनुसार उखेली बेच्ने हुनाले भण्डारणको धेरै जरुरत पर्दैन ।

Share.

Leave A Reply