मिटर दिन एक महिना लाग्छ – गैँडाकोट शाखा

0

विजय खबर
गैँडाकोट । ऊर्जा मन्त्रालयले प्राधिकरण र मुलुकभरका प्राधिकरणका सबै शाखा कार्यालयलाई यही भदौ ८ गते एक निर्देशनात्मक परिपत्रमार्फत साधारण मिटर माग गर्ने ग्राहकलाई सात दिनभित्र मिटर उपलब्ध गराउन निर्देशन दिएको थियो । तर गैंडाकोटमा महिनौ वित्दा पनि नयाँ विद्युत मिटर जडानका लागि निवेदन दिएपनि सुनुवाई नभएको गुनासो गर्छन् ।
गैँडाकोट ५ का श्रीकुमार अधिकारीले नयाँ विद्युत मिटर जडानका लागि नेपाल विद्युत प्राधिकरण गैँडाकोट शाखामा निवेदन दिएको दुई महिना भयो । दुई महिना वितिसक्दा पनि अहिलेसम्म विद्युत मिटर जडान भएको छैन । विद्युत जडानका लागि पटकपटक विद्युत कार्यालय धाए पनि कर्मचारीले विभिन्न बहाना बनाएर पठाउने गरेको सेवाग्राहीको गुनासो रहेको छ । यस्तै गैँडाकोट ४ की तुलसी शर्माले नयाँ विद्युत मिटर जडानका लागि निवेदन दिएको एक महिना भयो । एक महिना वितिसक्दा पनि उहाँकोमा विद्युत मिटर जडान हुन सकेको छैन । बन्दै गरेको घरले पूर्णता पायो तर अहिलेसम्म मिटर जडान नभएको शर्माको भनाई छ । यस्तै गैंडाकोट ५ का यमनाथ कंडेलले भने एक हप्तामा नै मिटर जडान हुने कुरा सुनेपछि ढुक्क भएको बताउनुभयो । एक हप्तामानै मिटर आउने भएपछि विस्तारै निवेदन दिने उहाँको सोचाइरहेको छ ।
यता विद्युत प्राधिकरण गैँडाकोट प्रशाखाले भने अहिले तत्काल एक हप्तामा मिटर दिन नसक्ने बताएको छ । नेपाल विद्युत प्राधिकरण गैंडाकोट प्रशाखाका प्रमुख, सहायक ईन्जिनयर बिजुलीप्रसाद यादवले पहिलेका निवेदन धेरै थन्किएका कारण नयाँ पक्रियामा आउन एक महिना लाग्ने बताउनुभयो । अहिले पनि एक महिना अघि निवेदन दिएकाको काम भइरहेको यादवले बताउनुभयो । तर स्थानीयले भने दुई महिनायता मिटर जडान नभएको गुनासो गरेका थिए । यादवका अनुसार अहिले दुई अढाई सय निवेदन बाँकी रहेको छ ।

Share.

Leave A Reply